कुन नेताले कहाँबाट गरे मतदान ?

काठमाडौं । आज देशभर प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान अहिले जारी छ । देशभर शान्तिपूर्वक वातावरणमा भइरहेको निर्वाचनमा विभिन्न नेताहरूले आ-आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । कतिपय नेताहरूले मतदान गरिसकेका छन् भने कतिपय नेताहरू मतदान केन्द्रमा पुग्ने क्रम जारी रहेको छ । 

कसले कहाँबाट गरे मतदान ?

सुशीला कार्की 

प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छिन् । कार्कीले काठमाडौं–५ स्थित धापासी फैमाल्चुली मतदान केन्द्रबाट मतदान गरेकी हुन् । 

ओमप्रकाश अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । उनले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट मतदान गरेका हुन् ।

ललितपुर ३ स्थित सानेपाका बासिन्दा गृहमन्त्री अर्यालले सानेपाको टीका विद्याश्रम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

गगनकुमार थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं-४ मा मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् । काठमाडौं-४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो । यसपालि थापा सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । काठमाडौं-४ छाडेर सर्लाही-४ मा उम्मेदवारी दिएपछि यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ ।

केपी शर्मा ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । ओली झापा क्षेज्ञ नम्बर ५ बाट उम्मेदवार छन् ।

पुष्पकमल दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् । उनले क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् । उनले आफैलाई भने मत दिन पाएनन् । प्रचण्ड रुकुम–पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । सोही मतदान केन्द्रबाट राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मतदान गरेका छन् ।

माधवकुमार नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ बाट मतदान गरेका छन् । उनले गौरमा रहेको रामजानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा नेपालले मतदान गरेका हुन् । नेपाल रौतहट क्षेत्र नम्बर–१ बाट उम्मेदवार समेत छन् ।

विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतदान गरेका छन् । नेता पोखरेलले बिहान ८ बजे टोखा नगरपालिका वडा नम्बर ६ स्थित हात्तीचोक बुथमा मतदान गरेका हुन् ।

रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौं–३ को उपत्यका खानेपानी लिमिटेडको महांकालचौरमा रहेको केन्द्रमा मतदान गरेका हुन् । रवि चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले आफूलाई भने मतदान गर्न पाउँदैनन् । मतपत्र खसालिसकेपछि उनले मतपेटिकामा ढोगेका थिए ।

बालेन्द्र शाह

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं महानगरपालिका-९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।  रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै झापा–५ को उम्मेदवार बनाएको छ । 

रामवरण यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन् । उनले धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ५ स्थित बिपी कोइराला मावि, सपहीमा रहेको मतदानस्थलमा पुगेर मतदान गरेका हुन् ।

विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छिन् । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिकरुपमा जनमत लिइनु सकारात्मक भएको बताइन् ।

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका– ९ रम्फोकको राष्ट्रिय आविमा मतदान गरेका छन् । यसअघि यही क्षेत्रबाट निर्वाचनमा उठ्दै आएका पूर्वप्रधानमन्त्री खनाल यसपटको निर्वाचनमा भने उम्मेदवार होइनन् ।

बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । भट्टराईले गोरखाको पालुङ्टार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण मावि केन्द्रमा सवा ९ बजे मतदान गरेका हुन् ।

कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् । आज बिहान ७ बजे नै घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । घिसिङ काठमाडौं–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् ।

हर्क राई

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले मतदान गरेका छन् । राइले धरान–१८ स्थित कार्मेल बोर्डिङ स्कुलमा पुगेर उनले मतदान गरेका हुन् । धरान उपमहानगरपालिकाका पूर्वप्रमुखसमेत रहेका राईले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।

जनार्दन शर्मा

प्रगतिशिल लोकतान्त्रीक पार्टीका जनार्दन शर्माले रुकुम–पश्चिमबाट मतदान गरेको छन् । उनले यमुनानन्द नमुना माध्यमिक विद्यालय, सेरीगाउँस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनी रुकुम–पश्चिममा उम्मेदवार पनि हुन् ।

वर्षमान पुन

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा उम्मेदवार वर्षमान पुनले मतदान गरेका छन् । उनले रोल्पाको बाल उदय माध्यमिक विद्यालय मदिचौरमा मतदान गरेका  हुन् । पुन यसअघि पनि रोल्पा क्षेत्र  १ बाट  विजयी भएका थिए ।

राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । उनले झापाको हल्दिवारी गाउँपालिका– १ वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरबाट मतदान गरेका छन् । भक्तपुर नगरपालिका–५ स्थित श्री विद्यार्थी निकेतन मावि भक्तपुर मतदान केन्द्रबाट  मतदान गरेका हुन् ।

शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा सदस्यका लागि मतदान गरेका छन् । उनले आज बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ केन्द्रमा मतदान गरेका हुन् ।

विप्लव

विगतमा चुनाव बहिस्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् । यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् । विप्लवले परिवर्तन गाउँपालिका–३ थुनिकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गरेका हुन् । मतदान गर्न उनी बुधबार जन्म गाउँ इरिबाङ पुगेका थिए । पछिल्लो समय कपिलवस्तु बस्दै आएका उनी चुनावी प्रचारको समयमा समेत रोल्पा आएका थिए ।

सुहाङ नेम्वाङ 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा इलाम क्षेत्र नम्बर २ का एमाले उम्मेदवार सुहाङ नेम्बाङले मतदान गरेका छन् ।  उनले इलामको महेन्द्र रत्न बहुमुखी (मरब) क्याम्पस केन्द्रबाट मतदान गरेका हुन् । स्थानीय एमाले नेता कार्यकर्तासहित माला टीका लगाएर नेम्वाङ मतदान केन्द्र पुगेका थिए ।  बुवा सुवास नेम्वाङको निधन भएपछि भएको उपनिर्वाचनमा सुहाङ इलाम–२ बाट निर्वाचित भएका थिए ।

विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् । बिहीबार बुटवल–८ स्थित सडक विभागको मतदान केन्द्रमा उनले गरेका हुन् ।

उनी रुपन्देही- २ का उम्मेदवारसमेत हुन् ।

शेरबहादुर देउवा

कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले भने यो वर्ष मतदान गरेनन् । हरेक निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बन्दै आएका उनी यो वर्ष भने उम्मेदवार छैनन् । देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलाबाट मतदान गर्ने भए पनि यसपटक उनी मुलुक बाहिर रहेकाले मतदान गर्नबाट वञ्चित भएका हुन् । 

Share News