ओखलढुङ्गा । निर्वाचनका क्रममा ओखलढुङ्गा जिल्लामा मतदान बिथोल्ने प्रयास भएको र गोली लागेर एक जना घाइते भएको भनी सामाजिक सञ्जालमा फैलिएको खबर पूर्ण रूपमा झुटो र भ्रामक भएको प्रहरीले स्पष्ट पारेको छ ।
जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ‘सुशासन सञ्चार’ नामक फेसबुक पेजबाट सम्प्रेषण भएको उक्त सूचनाको खण्डन गरेको हो । प्रहरीका अनुसार जिल्लामा हालसम्म मतदान कार्यक्रम शान्तिपूर्ण वातावरणमा भइरहेको छ ।
गलत अफवाह फैलाएर जनतामा त्रास पैदा गर्ने व्यक्तिको पहिचान भइरहेको प्रहरीले जनाएको छ । कार्यालय प्रमुख (प्रहरी नायव उपरीक्षक) मदन केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गलत अफवाह फैलाउने व्यक्तिको पहिचान तथा खोजतलास गरी कानुन बमोजिम आवश्यक कारबाही गरिने छ ।’
प्रहरीले सामाजिक सञ्जालमा आउने अपुष्ट र भ्रामक सूचनाको विश्वास नगर्न र आधिकारिक निकायबाट आउने जानकारीलाई मात्र आधार मान्न आम नागरिकलाई आग्रह गरेको छ ।