प्रधानमन्त्रीको उम्मेदवार हुँदा मजा आयो, अवसर दिनुस् ५ वर्ष सुशासनमा काम गर्छाैं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पाँच वर्ष सुशासनमा काम गर्न चाहेको भन्दै अवसर दिन मतदातालाई आग्रह गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा अवसर दिएमा पाँच वर्ष सुशासनमा काम गर्ने बताएका हुन् ।

उनले आफू सर्लाही ४ को उम्मेदवार हुँदै गर्दा मधेसमा गएर आफूलाई राजनीतिक पूर्णता पाएको समेत बताएका छन् । पहाड र काठमाडौंका बारेमा जानेको भए पनि मधेसका बारेमा सिक्ने अवसर सर्लाही ४ ले नै दिएको बताए ।

उनले त्यहाँको अवस्था निकै नै गम्भीर भएको बताउँदै सुधार गर्ने कामहरू पहिलो वर्षदेखि नै थाल्ने वचनसमेत दिए । सभापति थापाले भने, ‘त्यसलाई त बाहिर बाहिरबाट हेरिन्थ्यो नि त अहिले त बस्तीमा गइयो हेरियो उनीहरूसँग बसियो । सर्लाही ४ ले मलाई राजनीतिक पूर्णता दियो ।’

उनले सर्लाही गएरै आफूले सीमानामा मल ल्याउँदा भित्रबाट बल प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा पाएको जनाए । उनले उखु किसानको पहिलाको जस्तो अनुदान काट्ने कल्पना पनि गर्न सकेको पाठ त्यहीँ गएर मात्र सिकेको बताए ।

उनले सरकारमा बस्दै गर्दा अरूको बजेट काटेर भए पनि मधेसको दलितको घर फेर्ने कुरा पहिलो वर्षमै गर्ने बताए । उनले भने, ‘अबौँ पैसा लागोस् । बरु मन्त्रालय काटौँ । मैले त्यहाँ गएर के देखेर आएँ भने मान्छे अहिले पनि यस्तो अवस्थामा पनि बसिरहेको रहेछ भन्ने कुरा थाहा थिएन भन्ने पनि एकदमै लज्जाको विषय हो ।’

उनले उम्मेदवार मात्रै हुँदा र प्रधानमन्त्री हुँदाको जिम्मेवारी बोधबारे छोटो प्रतिक्रिया दिए, 'मजा आउँदो रहेछ ।'

मतदान गरेपछि गगन थापाले भने, ‘मैतीदेवीको मतदान केन्द्रमा मतदान गर्दा प्रतिनिधि सभाको पहिलो निर्वाचनमा सुप्रभा घिमिरे दिदीलाई मत गरेको थिएँ । त्यसपछि निरन्तर उम्मेदवार म आफैँ थिएँ । मेरो मत आज साँझ मेरा लागि गणना हुँदैन । यो मेरो लागि नयाँ अनुभव भयो । मलाई के कुरामा खुशी लागेको छ भने जसरी मलाई यो ठाउँमा एउटा युवा हुँदै गर्दा खेरी यहाँका मेरा अभिभावकहरूले, मेरा साथीभाइहरुले बडो मायाका साथ मलाई एउटा काम गर्ने जिम्मेवारी दिनुभयो । आज मैले अलि माथिल्लो उमेरमा गइसके पछाडि मैले त्यो बेलाको मेरै उमेरको सचिन तिमल्सेनालाई आज मेरो मताधिकार प्रयोग गरेर हिजो मैले काम गर्ने जिम्मेवारी पाएको जस्तै गरी जिम्मेवारीमा पुग्ने गरी त्यो अधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको छ ।’  

सर्लाही ४ को दुई वटा मतदान केन्द्रमा सामान्य झडप भएको भन्ने प्रसङ्गमा सभापति थापाले भने, ‘दुई वटा मतदान केन्द्रमा सामान्य तनावको स्थिति भएको रहेछ । उहाँहरू तुरुन्तै बसेर छलफल भइसक्यो भन्नुभएको छ । मैले प्रशासनको साथीहरूलाई पनि हिजो भनेको छु यो भन्दा अगाडि यो निर्वाचन क्षेत्रमा जस्तोसुकै ट्रयाक रेकर्ड भएको भएता पनि यो पटक निर्वाचनको दिनसम्म आइपुग्दा कुनै पनि घटना भएको छैन । सबै जनाले भन्नुभएको छ पहिलो पटक तपाई यहाँ आइसकेपछि एकदमै सभ्य ढंगले प्रचारप्रसार भएको छ । प्रोभोक गर्ने कोसिस नभएको होइन बेलाबेलामा प्रोभोक गर्ने कोसिस गर्नुभयो । मैले प्रोभोक हुनु हुँदैन भन्दै आएँ । आज पनि म त्यो हुन दिन्न । मलाई के विश्वास छ भने अलिअलि तनावको स्थिति भयो भने त्यसलाई सम्हाल्छौँ । किनकि नेपाली कांग्रेस पार्टी त्यहाँको मूल पार्टी हो । हामीले त्यो घटना हुन नदिने कुरामा हाम्रो भूमिका हुनुपर्छ हामी गर्छौँ ।’ 

काठमाडौं-४ का मतदाताले के भनिरहेका छन् त भन्ने प्रश्नमा सभापति थापाले भने, ‘मैले त्यस्तो अन्तरक्रिया गर्न त पाएको छैन । केहीसँग बुथमा भेट्दा यो भन्दा पहिला तपाईंलाई मत हालेको अहिले सचिनलाई मत हाल्दैछौँ भन्नुभयो । कति जनालाई चाहिँ सर्लाही ४ को चिन्ता छ । सर्लाहीमा चुनावी प्रचारमा हिँडिरहँदा प्रत्येक दिन १०-१२ जना जानुभयो । मलाई खुशी पनि लाग्यो । यहाँका साथीहरू पुग्दा खुशी लाग्यो । कति मतदाता रिसाउनु पनि भएको छ । म त परिवार बढाउन गएको हो । मैले यो बसाई छोडेको त होइन । मैले व्यक्तिगत अनुभव गर्न आवश्यक थियो । यहीको राजनीति गरेँ । मैले सरकारमा जाँदा संसदमा बस्दा मेरो सोचाइ बदलिनु पर्छ ।’

उनले मधेश गएर धेरै सिकेको समेत बताए । सभापति थापाले भने, ‘मलाई आफूलाई फराकिलो बनाउनका निम्ति मधेस जानुपर्ने थियो । अहिले गइसके पछाडि गएको १०-१२ दिनमा मैले के कुरा महसुस गरेँ भनेदेखि मलाई काठमाडौंबाट यत्रो वर्ष राजनीति गर्दै गर्दा खेरी मलाई मधेसका बारेमा जुन ज्ञान छ जानकारी छ भन्ने थियो मलाई त केही प्रतिशतमात्र रहेछ । त्यो भित्रको समाजको विविधता, त्यहाँभित्रका समस्या, संरचना, त्यहाँभित्रका यति धेरै कुराहरू । अहिले मैले ती सबै कुरा बुझेर त्यसको प्रतिनिधित्व गर्न पाउने अवसर गर्दै गर्दा खेरी मैलै राष्ट्रका लागि निर्वाह गर्ने भूमिका अझ बढी छ ।’

उनले अगाडि भने, ‘मैले `को यत्रो वर्ष अनुभव गरेँ । पहाडको अनुभव मसँग जति पनि छ । मधेसको अनुभव गर्ने कुरामा पूर्ण खुशी छु । हाम्रो विविधता भएको देश हो । विविधता भएको देशमा मैले लिने नीतिहरूले, मैले लिने निर्णयहरूले म यस्तो पोजिशनमा छु अब मैले सबैतिर समान दृष्टिकोण कोर्नसक्छु । मलाई पहाडको कुरा पनि थाहा छ । शहरको कुरा पनि थाहा छ । गाउँको कुरा पनि थाहा छ । मधेस नगएको भए मैले यति कुरा भन्न पाउने थिइन ।’

Share News