काठमाडौं । आम निर्वाचनको आसपासमा करिव एक साता बिदा पर्यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा निर्वाचनका लागि दियो । त्यसअघि फागुन १८ गते सोमबार ५६ वटा जिल्लामा र १९ गते तराईका २१ जिल्लामा फागु पूर्णिमाको बिदा भयो । यस्तै २३ गते शनिबार पर्यो । यस आधारमा एक साता सार्वजनिक बिदा भयो । अझ महिलाहरूका लागि फागुन २४ गते नारी दिवसको बिदा छ ।
करिव ८० दिन भन्दा बढी २०८२ मा दिने निर्णय गरेको सरकारले आगामी २०८३ सालमा शनिबार र विभिन्न चाडपर्व, जयन्तीलगायत गरी १०९ दिन सार्वजनिक बिदा दिँदैछ । कतिपय दिन देशभर र कतिपय दिन सम्बन्धित क्षेत्र र समुदायका लागि बिदा तोकिएको छ । सरकारले आठ प्रकारका बिदा निर्धारण गरेको छ । जसअन्तर्गत २०८२ मा शनिबार ५२ दिन सार्वजनिक बिदा तय गरिएको छ । त्यस्तै, पर्व बिदा सबैले पाउँछन् ।
महिला कर्मचारी, शिक्षण संस्था, जात्रा, दिवस, अपाङ्गता भएका कर्मचारी, जयन्ती र दिवसमा कतिपय देशभर र कतिपय सम्बन्धित क्षेत्र तथा समुदायका व्यक्तिका लागि बिदा निर्धारण गरिएको छ । यससँगै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको बिदालाई समेत ध्यानमा राखेर १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न पाउँछन् । प्रदेश र स्थानीय सरकारले पनि आआफ्नो क्षेत्रको धर्म, संस्कृतिका आधारमा थप ६ दिन सार्वजनिक बिदा दिन पाउँछन् ।
यसरी अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित बन्न थालेको छ । सार्वजनिक विदाका कारण मजदुरहरु काममा नआउने, सरकारी कामहरु समेत नहुँदा समस्या पर्न थालेको निजी क्षेत्रका अगुवाहरुले बताउन थालेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक विदाहरु अत्याधिक हुँदा काममा असर पर्न थालेको बताए । उनकाअनुसार भुगोल र जनसंख्याको हिसावले नेपाल सानो भएपनि सार्वजनिक बिदा दिन प्रचलन बढी हुँदा यसको असर काममा पर्न थालेको छ । हरेक समुदायका सबैले बिदा प्राप्त गर्दा नेपालमा काम गर्ने दिन भन्दा सार्वजनिक विदा धेरै हुन थालेको उनको भनाइ छ । विदाहरुका कारण मुलुकको विकाससँगै अर्थतन्त्रलाई पछाडी धकेलिरहेको बताउँदै उनले विदाका कारण सरकारी कर्मचारी घर बसदिँदा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरिरहेको बताए ।
अध्यक्ष सिंहले भने–‘भुगोल र जनसंख्याको हिसावले नेपाल धेरै नै सानो छ । भारत र चीनभन्दा ३०÷३५ गुणा जनसंख्याको आधारमा नेपाल सानो छ । सानो देशमा धेरै नै विविधता छ । त्यो विविधताको सम्मान गर्नुपर्छ । तर त्यो सम्मान गर्दै गर्दा मुलुकको अर्थतन्त्र संकुचनमा ल्याउने, मुलुकको जीडीपी, आर्थिक वृद्धिलाई घटाउने र हाम्रो प्रगतिलाई बाधा गर्नेगरी धेरै सार्वजनिक बिदा हुने गरेको छ ।’
निर्माण क्षेत्रमा सार्वजनिक विदाहरुले काम गर्न धेरै कठिन भइरहेको उनको भनाइ छ ।