भ्रष्टाचार र आसेपासे शासनको विरोध

परिवारमा रुवाबासी र अंकमाल

काठमाडौं । यूट्यूबमा अहिलेसम्म सबैभन्दा बढी हेरिएको नेपाली फिल्म हो, छक्कापञ्जा ३ । हाइलाइट्स नेपालको यूट्यूब च्यानलमा रहेको यो फिल्म ३ करोड ७० लाखले हेरेका छन् । यस फिल्ममा रहेको चर्चित गीत ‘पहिलो नम्बरमा...’ ६ करोड ४० पटक हेरिएको छ । फिल्मभन्दा फिल्मको गीतको भ्यू झण्डै दोब्बर छ । 

सबै फिल्ममा यस्तो हुन्न । ‘झरीपछिको इन्द्रेणी’  फिल्ममा रहेको चर्चित गीत ‘फसायो लमीले’ ओएसआर डिजिटलको यूट्यूब च्यानलमा सार्वजनिक भएको २ महिनामा २ लाख भ्यू छ । उक्त फिल्म पूर्वमेयर बालेन्द्र शाह (बालेन)को यूट्युबबाट सार्वजनिक भएको १२ दिनमा ३१ लाखले हेरेका छन्  । छोटो अवधिमा गीतभन्दा फिल्म १५ गुणा बढीले हेरेका छन् । जबकि बालेनको च्यानलमा १० लाखभन्दा कम सब्स्क्राइबर छन् भने ओएसआरको सब्स्क्राइबर १ करोड भन्दा बढी छन् । चलचित्र हलमा नचले पनि यो फिल्मले यूट्यूबमा राम्रै भ्यू पाइरहेको छ । 

झरीपछिको इन्द्रेणी अर्जुन घिमिरे अर्थात पाँडे बुढाको निर्देशनमा निर्माण भएको चलचित्र हो । उनी बालेनको निर्वाचन प्रसारप्रसारमा हिँडिरहेका छन् । अर्जुनको आफ्नै च्यानलमा पनि १० दिनअघि यो फिल्म राखिएको छ, जसमा जम्मा ५ हजारले मात्र हेरेका छन् । फेसबुकमा जस्तै बालेनको यूट्युब पनि धेरै मानिसले हेर्ने गरेको देखिन्छ । फिल्ममा रहेको उनको गीत बालेनकै च्यानलबाट ७१ लाख बढीले हेरेका छन् । 

बालेनको स्वरमा एउटा गीतबाहेक पुरै फिल्ममा उनको भूमिका देखिँदैन । तर, फिल्ममा जसरी सामाजिक र राजनीतिक विषय समेटिएका छन्, त्यसलाई नियाल्दा यस फिल्ममा बालेनले आफ्नो राजनीतिक चेत र चाहना अभिव्यक्त गरेको विश्लेषण गर्न सकिन्छ । 

फिल्मको सुरुवातीमै काठमाडौं महागनरपालिकाको ब्रुमरले सफा गर्दै गरेको रोड देखाइएको छ । मठ–मन्दिर तथा नेवारी संस्कृति झल्कने मानिसहरूले लगाएका लुगादेखि गीत गाइरहेको दृश्य देखाइन्छ ।

केही क्षणमा कान्तिपुरी महानगरपालिकाभित्र स्थानीयलाई शारीरिक अभ्यास गर्ने ठाउँ देखाइन्छ । जहाँ मुख्य भूमिकामा देखा पर्छन् कलाकार गणेश उप्रेती । 

उनको भूमिका वडा कार्यालयको सचिवमा छ । गणेशप्रसाद शर्माको नामले एक सच्चा इमान्दार कर्मचारीको रूपमा देखाइएको छ । उनले सामान्य जीवनशैली तथा असल कर्मचारी भएर आफ्नो भूमिका निभाउँछन् । शर्माको घरमा दुई छोरा छन् । 

आर्थिक,सामाजिक, खराब कर्मचारीतन्त्र, राजनीति विकृत र सांस्कृतिक सबै पक्षलाई समेटिएको छ । सम्पन्न भएपछि विपन्नलाई गरिने व्यवहार पनि देखाइएको छ । सामाजिक विसङ्गतिविरूद्ध आवाज उठाएको छ ।

इमान्दार र मिहिनेती कर्मचारीको प्रतिनिधित्व उनले गर्छन् । जसले सहरमा सामान्य जीवनशैली बिताउने मध्यमवर्गीय परिवारको प्रतिनिधित्व गरेका छन् ।

एउटा असल अभिभावकले आफ्नो परिवारको लागि निभाउने भूमिका वडासचिवमार्फत देखाइएको छ । सामान्य कमाइ हुनेले सहरी क्षेत्रमा कति धेरै संघर्ष गर्नुपर्छ यस फिल्मले उजागर गरेको छ  ।

शर्माको जेठो छोरा शोहनले भर्खरै प्लस टु पास गरेका हुन्छन् । उनले प्लस टु पास गरेपछि उच्च शिक्षाका लागि विदेश जाने मनसाय बनाउँछन् ।

अभिभावक तथा मुख्य भूमिकामा रहेका उप्रेतीले छोरालाई ‘युवाहरू भनेको देशका मेरुदण्ड हुन् । सबै बाहिरिए भने देशमा को बाँकी रहला,’ भनेर सम्झाउँछन् ।

उनी छोरामार्फत युवाहरूलाई सम्झाउन चाहन्थे । अहिलेको नेपाली समाजमा युवाहरूले देश छोड्ने ट्रेण्ड चलेकाले ती युवाहरूलाई संकेत गरिरहेको छ ।

युवाहरूले देश छोड्न हुँदैन । युवाहरूले जिम्मेवारी लिएर मुलुकको काँचुली फेर्दैछ भन्ने वाक्यले अबको नेपालमा शासकीय जिम्मेवारीमा युवा पुग्नुपर्छ । जसले गर्दा युवाको उर्जा मुलुक बनाउन खर्च गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

युवाहरू भनेको भविष्यका कर्णधार हुन् । कुलतमा नपर्नु र असल संगत गरेमा असल मानिस बनिन्छ भनेर बारम्बार भनेर छोरालाई सम्झाउँछन् ।

नेपालमा प्लस टु सकेपछि युवाहरूले विदेशको सपना देख्छन् । प्लस टुको परीक्षा  सकेर फुर्सदको समयमा कन्सल्टेन्सी धाउने युवाहरू हुन्छन् । 

अष्ट्रेलिया, युके, यूएसए, जापान वा क्यानडाको तयारीका लागि आइएलएस तथा टोफल गर्न थाल्छन् । परीक्षा सकेर बसेका युवाहरूले लोकसेवाको तयारी भन्दा विदेशको सपना देख्ने युवाहरू देखाइन्छ ।  

इमान्दार कर्मचारीले घर व्यवहार कसरी चलाउँछन् । मासिक आम्दानीको भरमा सामान्य जीवन चलाउँछन् ।  आफूजस्तै अनुशासित बनेर मुलुकमै बसेर देश तथा समाजमै बसेर सन्तानले केही गरोस् भन्ने चाहना कर्मचारीले राखेको कलाकार उप्रेतीमार्फत देखाइन्छ ।

अहिलेका युवाहरूलाई विदेश जान साथी तथा आफन्तले प्रोत्साहित गरिरहेको देखाइन्छ । विदेश नगए जीवन सफल नभएको र घरमा तला थप्नका लागि भए पनि नेपाल छोड्नुपर्ने सामाजिक बाध्यता आइपरेको छ । 

फिल्मले पनि शोहनमार्फत विदेश जान मरिहत्ते गरिरहेको देखाएको छ । विदेश जान नपाए अभिभावकको अगाडि आन्दोलन गर्छन् । बाउछोराको बोलचाल बन्द हुन्छ ।

अहिलेक युवाहरू प्लस टु सकेपछि २०-२५ लाख तिरेमा सहजै अष्ट्रेलिया जाने सपना बुनेर बसेका छन् । शोहनको आमाले सम्झाउँछिन्,’ विदेशमा गएर मन्जन पठाउनु भन्दा त स्वेदेशमा बसेर मन्जन बेचेर धनी हुनुपर्छ।’ 

परिवारका सदस्यले दाई र दिदी विदेश गइदियोस् । यता नेपालमा भने आफन्तहरू विदेशी ब्राण्डको सामान चलाउन पाइयोस् भन्ने मानसिकता बोकेका हुन्छन् । 

सन्तानको मायाका बारेमा अभिभावकले सोच्न सक्दैनन् । अधिकांश अभिभावक बढ्दो उमेरका छोराछोरीले नछोडून् भन्ने चाहना राख्छन् ।  

शर्मा पनि छोरालाई सम्झाउँदै भन्छन्, ‘भात पकाउन नजान्ने र ओछयान मिलाउन नसक्नेले विदेश जाने कुरा नगर । यहाँ सबै काम ममीले गर्नुपरेको छ ।’

युवाहरूको आत्मविश्वास बोलीमा मात्र सुनिन्छ । सोहनको आवाजमा बुबालाई जवाफमा जन्मिँदै कसैले जान्दैनन् । गरेर र परेपछि जानिन्छ ।’ 

हातमा चियाका कप बोकेर देश घुम्दै काम गर्न सकिन्छ । ‘लगन र इमान भएर गरेको काम महान हुन्छ,’ उप्रेतीले छोरालाई सम्झाउँदै भन्छन्,’  विदेश जानुभन्दा अगाडि काम गरेर वा काम सिक्नुपर्छ  ।’

अर्कातिर कार्यालयमा सबै एकनासका कर्मचारी हुँदैनन् । फिल्ममा स्थानीय तहका विकृति तथा विसंगति पनि देखाइएको छ । 

वडाअध्यक्ष, पिउन तथा अन्य कर्मचारी मिलेर सेवाग्राहीको काम कसरी ढिलासुस्ती र भ्रष्टाचार गरिरहेका छन् । चलचित्र हेरेर थाहा पाउन सकिन्छ । 

वडा कार्यालय पिउनले चलाइरहेको देखाइन्छ । अहिले पनि कतिपय स्थानीय तहमा गयो भने चलचित्रको दृश्य जस्तै देख्न सकिन्छ । निर्देशक घिमिरे पिउनको भूमिकामा छन् । उनी भन्छन्, ‘यो राज्यसँग सकिन्न । मन्त्री फेरिएपिच्छे नियम फेरिन्छ ।’

नेपालको राजनीतिक अस्थिरतालाई सांकेतिक रुपमा देखाइएको छ । पिउनको भनाइले त्यहीँ बुझाउँछ । नयाँ मन्त्री आएपिच्छे नयाँ–नयाँ नियमले हैरानी बनाएको छ ।

पिउनले वडाअध्यक्ष, सचिव लगायत अन्य कर्मचारीको काम गरेर गरेर वडा चलाउँछन् । स्थानीय तहको अर्को विकृति देखाइन्छ । 

वडाबाट पाउने सेवा सुविधाहरू एउटै मानिसले विभिन्न शीर्षकमा सुविधा लिएको पनि देखाइन्छ । नातावाद र कृपावादले जकडिएको समाजमा चलचित्रको कथामा उक्त दृश्य पनि समेटिएको छ ।

वडामा सेवाग्राहीलाई विभिन्न बहाना बनाएर अलमल्याउने गरेको दृश्य पनि देखाइन्छ । महिनौंसम्म वडाबाट हुने कामलाई दर्ता तथा सिफारिसको काममा अल्झाएर घुस तथा कमिसन लिनका लागि कार्यालयका पिउन, वडाअध्यक्ष र अन्य कर्मचारी कसरी लाग्छन सहजै दृश्यमा देख्न सकिन्छ ।

अस्पताल सञ्चालकको भूमिका निर्मल शर्मा देखिन्छन् । उनी वडा कार्यालयमा सेवाग्राहीको रूपमा पुग्छन् । समयमा नक्सा नपाएको र घुस माग्ने बेथितिले हैरानी बनेका छन् ।

‘देश र समाजका लागि दिने योगदान यहीँ हो तपाईंहरूको । स्वास्थ्य उपकरणमा मगायो भन्सारमा घुस, तला थप्न भन्यो वडामा घुस । देशको करप्टेड सिस्टम देखेर धैरे जना विदेश पलायन भए तर म देशमा बसेर सेवा गरिरहेको छु,’ डाक्टरको भूमिकामा रहेका शर्माले भन्छन् । 

स्थानीय जनप्रतिनिधिको एरियामा भौतिक संरचना बनाएमा विभिन्न समूह आएर आर्थिक सहयोग माग्ने चलन रहेको छ । त्यस्ता विकृतिको साक्षी डाक्टर बन्छन् ।

अध्यक्षको कार्यकर्ता भन्दै आर्थिक सहयोग माग्न पुगेको व्यथा उनले सुनाएको दृश्य देखिन्छ । जनतालाई भेडाका रूपमा तुलना गरिन्छ । विम्बात्मक रूपमा शब्द चयन गरिएको छ, ‘अलिअलि घाँस मागिहाल्छन् ब्यूरोक्रेसीसँग जोगिनु है ।’

सबैभन्दा बढी विकृतिको रुपमा कर्मचारीलाई देखाइएको छ । कर्माचारीलाई घुस खुवाइएन भने कुनै काम बन्दैन । हरेक सिफारिसमा कमिसन चाहिने दृश्यले सोही कुराको पुष्टि गर्छ ।

उनले अर्को दृश्यमा कर्मचारीलाई भन्छन्, ‘यो देशको अस्पतालमा बिरामी भन्दा वाद र तन्त्र जुधेको छ । घुस माग्नुभन्दा अस्पतालको रिपोर्ट हेर्नुहोस्, यति नगरी मेरो काममा सहयोग नगरी उल्टै अड्काइदिँदै हुनुहुन्छ । तपाईंहरूको दायित्व यही हो । आइन्दा यहाँ आउँदिन र तला थप्नु छैन ।’

अभिनेत्री दिपाश्री निरौलालाई घुस खाने कर्मचारीको श्रीमतीको रुपमा देखाइन्छ । उनले सहरिया महिलाको स्वभाव देखाउँछिन् । आफ्नै दिदीलाई पनि उनले अलिक हेपाहा शैलीमा व्यवहार गर्छिन् ।

गणेश उप्रेतीको श्रीमतीलाई दिदीको रूपमा देखाइन्छ । दिपाश्रीको घर भने आलिशान देखाइन्छ । सुविधायुक्त घर भएकाले दिदीका छोराहरू उनकोमा पुग्दा हरेक पटक नयाँ सामान फेरिएका देख्छन् । 

रमेश उप्रतीलाई मुख्य कर्मचारीको रुपमा देखाइन्छ । उनले भ्रष्ट कर्मचारीको भूमिकाको निभाएका छन् । समाजलाई सकारात्मक सन्देश दिने उनी कुनै पनि भूमिकामा छैनन् ।

‘गलत काम गरेर कमाएको पैसा परिवारको लागि काम लागेन । राम्रो बाउ बन्ने हतारमा असल नागरिक बन्न सकिनँ,’ उनले भनेका छन्,’ अप्ठयारो पर्दा आफूले हेपेको मानिस काम लाग्ने रहेछ । आफू इमान्दार भएमा पैसा भन्दा व्यवहार काम लाग्दो रहेछ ।’

सम्पत्ति सकिएपछि सबथोक सकिने तर आफन्त नबदलिने भन्दै दिपाश्रीलाई दिदीले अप्ठयारो पर्दा सम्झाउँछिन्।

फिल्मले सम्पत्ति हुँदा मात्र मानिस साथमा हुन्छन् । कलाकारको अभिनयले असल कर्मले मानिसको मन सधैँभरि जित्न सकिने सन्देश दिएको छ । 

समाजमा भ्रष्ट्राचार जस्तो जघन्य अपराध गर्नेलाई साथ दिन नहुने फिल्मले बताएको छ । अरूको कुरा नसुन्नु र गलत कुरा सुन्नु पनि महाभुल हुने देखाइएको छ । 

शोहनले फिल्ममा भावुक सन्देश छोड्छन् । 

‘सन्तानले घर र अभिभावक चिन्न घर छोड्नै पर्ने रहेछ ।’ अभिभावकले छोराछोरीलाई अनुशासन राख्न विभिन्न नियम बनाएको फिल्मले देखाएको छ । 

फिल्मका अन्त्य २०८२ भदौ २३ र २४ को तयारीमा लगेर टुङ्याएको छ, जहाँ भ्रष्ट शासकविरुद्ध युवाहरू डिजिटल माध्यमबाट आन्दोलनको तयारीमा जुटेको देखाइएको छ । भ्रष्टाचार र आसेपासे शासन संस्कारको विरोधमा युवाहरू माइतीघर जुट्दै गर्दा फिल्मको अन्त्य गरिएको छ । 

फिल्ममा युवापुस्ता र बुढा पुस्ताको चाहना र बाध्यता स्पष्ट अभिव्यक्त भएको छ । राजनीतिक र प्रशासनिक द्वन्द्व र त्यसले समाजमा पारेको नकारात्मक असरलाई पनि राम्ररी चित्रण गरेको छ । देशप्रतिको माया, परिवारप्रतिको माया, समाजमा विकसित वर्गविभाजन, त्यसले निम्त्याएको द्वन्द्व, नेपालीमा भएको कोमल भावना र द्वन्द्वपछिको मिलनको प्रस्तुति सुपर नै छ ।

जसरी फिल्ममा परिवार र आफन्तबीच द्वन्द्वपछिको सुखद पुनर्मिलन देखाइएको छ, परिवारमा बसेर फिल्म हेर्दा त्यस्तै अनुभूति हुनेछ । फिल्ममा जस्तै परिवारमा द्वन्द्व, रुवाबासी र अंकमाल हुनेछ, यदि परिवार सँगै बसेर फिल्म हेर्ने हो भने । 

Share News