काठमाडौं । नेपाली सेनाले निर्वाचनलाई लक्षित गरेर सुरक्षा दिन पाँच ठाउँमा हेलिकोप्टर राखेको छ । धनगढी, सुर्खेत, पोखरा, काठमाडौं र इटहरीमा हेलिकोप्टर राखेको हो ।
निर्वाचन सुरक्षालाई ध्यान दिँदै तयारी रहेर हाई अलर्टसहित नेपाली सेना विभिन्न ठाउँमा जहाजसहित आवश्यक तयारी सहित बसेको सूचना अधिकारी राजाराम बस्नेतले बताए । हेलिकोप्टर सबै प्रदेशलाई लक्षित गरेर राखिएको उनको भनाइ छ ।
त्यसैगरी, सेनाको जहाज विराटनगर, सुर्खेत र काठमाडौंमा राखिएको उनले जानकारी दिए । देशभर निर्वाचन सुरक्षा गस्तीका लागि भनेर ७९ हजार ७ सय नेपाली सेना परिचालन गरिएको बस्नेतले जानकारी दिए ।
‘जिल्ला निर्वाचन सुरक्षा समितिले आवश्यकता अनुसार सैनिक परिचालन गर्नेछन्,' उनले भने, 'मतदानस्थल र मतदानको केन्द्रको अवस्था हेरेर कति सेनाको संख्या निर्धारण गरेर परिचालन हुनेछन् ।'