७७ वटै जिल्लामा निर्वाचनको तयारी पूरा, सबै जिल्लाका सीडीओसँग गृह मन्त्रालयको छलफल

काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१ गते) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार (आज) बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठक (जुम मिटिङ) बसी निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ ।

गृह मन्त्रालयमा करिब तीन घण्टा चलेको बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सह–प्रवक्ता रमा आचार्यले जानकारी दिए । उनका अनुसार सो छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पुरा भएको र सुरक्षा अवस्था सामान्य रहेको छ ।

बैठकमा जिल्लाको निर्वाचन तयारी, विद्यमान अवस्था र केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ । शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको छ ।

गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए । बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदान स्थलमा पुगेको जानकारी दिएका छन् ।

Share News