निर्वाचन पर्यवेक्षणका लागि विदेशी पाहुना र कुटनीतिज्ञ नेपालमा, ४२ संस्थालाई अनुमति

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न देशका प्रतिनिधि र कुटनीतिज्ञहरू नेपाल आइपुगेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १० वटा देशका निर्वाचन आयोगका प्रमुख तथा प्रतिनिधिहरूलाई पर्यवेक्षणका लागि आमन्त्रण गरिएको छ ।

यसका साथै दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायहरूको मञ्च (फेम्बोसा) का सदस्य राष्ट्रहरूका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू पनि पर्यवेक्षणमा सहभागी हुँदैछन् । नेपालले विगतमा अन्य देशको निर्वाचनमा गरेको अवलोकनको आधारमा (रेसिप्रोसिटी) उनीहरूलाई आमन्त्रण गरेको हो ।

नेपालमा रहेका विभिन्न कुटनैतिक नियोगका प्रतिनिधिहरु र नेपाललाई हेर्नेगरी छिमेकी मुलुकमा रहेका राजदुतहरुलाई पनि पर्यवेक्षणका लागि बोलाइएको छ । उनीहरू नेपाल आइसकेको र पर्यवेक्षणको तयारी गरिरहेको आयोगले जनाएको छ।

संस्थागततर्फ आयोगले तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र ३९ वटा राष्ट्रिय संस्थाहरूलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । सुरुमा चारवटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति दिइएको भएपनि एउटा संस्थाले आन्तरिक कारणले आउन नसक्ने जानकारी गराएको छ ।

आयोगले विदेशी पाहुनाहरूको आगमन, बसोबास र व्यवस्थापनमा आवश्यक सहजीकरण गरिरहेको छ ।

Share News