धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमानाका सिल गरियो

काठमाडौं । निर्वाचनको मौन अवधि सुरु भएसँगै धनुषामा रहेका भारतीय सीमानाकाहरू सिल गरिएको छ । 

प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले निर्वाचनमा अवाञ्छित गतिविधि हुन नदिने सुरक्षा योजनाअनुसार धनुषा जिल्लाका जटहीलगायतका सीमानाका बन्द गरिएको जानकारी दिए ।

गत रातिबाट नाका बन्द गरिएको सो नाका फागुन २१ गते निर्वाचनको मतदान कार्य सम्पन्न भएपछि मात्रै सञ्चालनमा आउनेछ । 

प्रहरी नायव उपरीक्षक बमले सीमा नाकाहरुबाट निर्वाचनमा हुने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सवारी साधनलगायतका चेकजाँचमा पनि कठाइ गरिएको बताए । 

उनले भने, ‘प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा जिल्लाको भारतीय सीमा क्षेत्रसँग जोडिएको सीमाहरु पूर्ण रूपमा १८ गते हिजो राति १२ बजेदेखि २१ गते रातिसम्म नाका सिल गरिएको अवस्था छ । अहिले नाकाहरूमा चेकजाँचका साथै कुनैपनि सवारीसाधन र मानिसहरूलाई आवातजावत गर्न दिइएको छैन ।’

नेपाल–भारतबीचको सीमा नाकामा दुवै देशका सुरक्षा अधिकारीहरूको बैठकले निर्वाचनमा केन्द्रित सुरक्षा योजना बनाएको र सोहीअनुसार सो नाका बन्द गर्ने काम गरिएको हो । 

त्यसैगरी, एकीकृत सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिहरू निर्वाचनका लागि परिचालन गरिएको प्रहरी नायव उपरीक्षक बमले बताए ।

Share News