काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को माघसम्ममा जीवन बीमा कम्पनीहरूमा सक्रिय बीमालेखको संख्या १ करोड ६२ लाख ५३ हजार वटा रहेका छन् । गत आवको यही अवधिमा सक्रिय जीवन बीमालेखको संख्या १ करोड ४१ लाख ५३ हजार वटा थियो । चालु आवको ७ महिनासम्ममा सक्रिय जीवन बीमालेखको संख्या १४.५७ प्रतिशतले वृद्धि भएको छ।
पछिल्लो समय बीमा कम्पनीहरूले विगतको तुलनामा समयमै नवीकरण गर्ने प्रवृत्तिमा केही सुधार भएसँगै सक्रिय बीमालेखेको संख्या बढ्न थालेको बीमा कम्पनीहरू बताउँछन् । कम्पनीहरूका अनुसार बीमासम्बन्धी ज्ञान विस्तारै बीमितमा बढ्दै गएको छ । जसको कारण पनि समयमै बीमा नवीकरण गर्ने बीमितको संख्या बढ्दै गएको हो ।
जीवन बीमा कम्पनीहरूले विभिन्न प्रकारका बीमालेख जारी गर्दै आइरहेका छन् । माघ मसान्तसम्ममा सक्रिय जीवन बीमालेखहरूको संख्याको आधारमा सबैभन्दा बढी हिस्सा लघु जीवन बीमा बीमालेखको रहेको छ । लघु जीवन बीमालेखको हिस्सा ३५.१६ प्रतिशत रहेको छ । गत आवको तुलनामा लघु जीवन बीमालेखको संख्या ४१.४२ प्रतिशतले वृद्धि भएको छ । गत आवको माघसम्ममा लघु जीवन बीमालेखको संख्या ४० लाख ३१ हजार रहेकोमा चालु आवको सोही अवधिमा सो संख्या वृद्धि भएर ५७ लाख पुगेको छ ।
लघु जीवन बीमापछि दोस्रो धेरै हिस्सा म्यादी जीवन बीमाको रहेको छ । म्यादी जीवन बीमालेखको हिस्सा २१.१४ प्रतिशत रहेको छ । सात महिनाको अवधिमा कम्पनीले ३४ लाख २७ हजार ७६२ वटा बीमालेख रहेको छ । गत आवको सोही अवधिमा म्यादी जीवन बीमालेखको संख्या २४ लाख ४ हजार वटा थियो । गत आवको तुलनामा म्यादी जीवन बीमालेखको संख्या ४.३४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको संख्या गत आवको तुलनामा २.४३ प्रतिशतले बढेको छ । बीमा प्राधिकरणको अनुसार गत आवमा वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको संख्या २३ लाख ४६ हजार रहेकोमा चालु आवमा २४ लाख ४ हजार रहेको छ । सात महिनाको अवधिमा उक्त बीमालेखको हिस्सा १४.४७ प्रतिशत छ ।
सावधिक जीवन बीमालेखको संख्या २१ लाख ८९ हजार, बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेखको संख्या १० लाख ८९ हजार, रूपान्तारिक सावधिक जीवन बीमालेखको संख्या ६ लाख, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको संख्या ४ लाख ५७ हजार, आजीवन जीवन बीमालेखको संख्या १ लाख ७० हजार, अन्य जीवन बीमालेखको संख्या १ लाख २३ हजार र एकल बीमा शुल्क बीमालेखको संख्या १ लाख ११ हजार रहेको छ ।
गत आवको तुलनामा सावधिक जीवन बीमालेखको संख्या ६.६७, बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेखको संख्या ७.२५, रूपान्तारिक सावधिक जीवन बीमालेखको संख्या १२.१४, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको संख्या २.९५ प्रतिशले वृद्धि भएको छ । त्यस्तै, आजीवन जीवन बीमालेखको संख्या ३.८८ र अन्य जीवन बीमालेखको संख्या ०.२२ प्रतिशतले घटेको छ ।