इरानमाथिको आक्रमणले तेलको मूल्य प्रतिव्यारेल १०० डलर नाघ्ने संकेत, एसियाली अर्थतन्त्रमाथि दबाब

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड (आईआरजीसी) को नौसैनिक गस्ती डुंगा हर्मुज जलडमरूमध्यमा ‘एमएससी एरिज’ नामक कन्टेनर जहाज नजिक गस्ती गर्दै । तस्बिर : गेटी इमेज

काठमाडौं । ओपेक सदस्य इरानमाथि संयुक्त रूपमा अमेरिका र इजरायलले गरेको आक्रमणले मध्यपूर्वमा ठूलो तेल आपूर्ति अवरोधको जोखिम बढाएको छ । सबैभन्दा खराब अवस्थामा यसले विश्वव्यापी आर्थिक मन्दीसमेत निम्त्याउन सक्छ ।

इरान ओपेकभित्र चौथो ठूलो तेल उत्पादक हो, जसले जनवरी महिनामा प्रतिदिन ३० लाख ब्यारेलभन्दा बढी तेल उत्पादन गरेको थियो । इस्लामिक गणतन्त्र इरानको तटरेखा विश्व तेल व्यापारका लागि सबैभन्दा महत्त्वपूर्ण जलमार्ग मानिने स्ट्रेट अफ होर्मुजसँग जोडिएको छ ।

तेल बजारले लामो समयदेखि मध्यपूर्वमा आपूर्ति अवरोधको जोखिमलाई खासै गम्भीर रूपमा लिएको थिएन । तर पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसका पूर्वऊर्जा सल्लाहकार बब म्याकनालीका अनुसार अमेरिकी आक्रमणविरुद्ध इरानले गर्न सक्ने प्रतिशोधलाई व्यापारीहरूले कम आँकेका छन् ।

रापिडान इनर्जीका संस्थापक तथा अध्यक्ष म्याकनालीले भने, ‘यो वास्तविक अवस्था हो ।’ उनका अनुसार आइतबार साँझ ६ बजे (ईटी) बजार खुल्नेबित्तिकै जोखिम समायोजनका कारण कच्चा तेलको मूल्य प्रतिव्यारेल ५ देखि ७ डलरसम्म बढ्न सक्छ ।

शुक्रबार ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ७२.४८ डलरमा बन्द भयो, जुन १.७३ डलर (२.४५ प्रतिशत) ले वृद्धि हो । त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडिएट ६७.०२ डलरमा बन्द भयो, १.८१ डलर (२.७८ प्रतिशत) को वृद्धिसहित ।

म्याकनालीका अनुसार इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दबाब दिन होर्मुज जलडमरूमध्यलाई व्यावसायिक जहाज आवागमनका लागि असुरक्षित बनाउन सक्छ, जसले तेलको मूल्य १०० डलरभन्दा माथि र्पुयाउन सक्छ । तेहरानसँग ठूलो मात्रामा बारुदी सुरुङ (माइन) र छोटो दूरीका क्षेप्यास्त्र रहेको तथ्यलाई बजारले गम्भीर रूपमा नलिएको उनको भनाइ छ ।

ऊर्जा परामर्श कम्पनी क्लेप्लरका तथ्यांकअनुसार २०२५ मा दैनिक १ करोड ४० लाख ब्यारेलभन्दा बढी तेल होर्मुज जलडमरूमध्यबाट बगेको थियो, जुन विश्वको कुल समुद्री कच्चा तेल निर्यातको करिब एक–तिहाइ हो । तीमध्ये करिब तीन–चौथाइ चीन, भारत, जापान र दक्षिण कोरियातर्फ गएका थिए । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आफ्ना कच्चा तेल आयातको आधा भाग यही मार्गबाट प्राप्त गर्छ ।

‘होर्मुज लामो समयसम्म बन्द भएमा विश्वव्यापी मन्दी निश्चित हुन्छ,’ म्याकनालीले भने ।

क्लेप्लरका तेल विश्लेषक म्याट स्मिथका अनुसार आज साउदी अरेबिया, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत र कतारबाट २ करोड ब्यारेलभन्दा बढी कच्चा तेल निर्यातका लागि खाडी क्षेत्रमा लोड गरिएको छ । केही ट्यांकरहरू जलडमरूमध्य पार नगरी मार्ग परिवर्तन गरिरहेको देखिएको उनले बताए ।

म्याकनालीका अनुसार विश्वको अतिरिक्त तेल उत्पादन क्षमता प्रायः खाडी राष्ट्रहरूमै केन्द्रित छ र होर्मुज बन्द भएमा त्यो बजारसम्म पुग्न सक्नेछैन । विश्वको करिब २० प्रतिशत तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात पनि मुख्यतः कतारबाट यही मार्ग हुँदै जान्छ, जसको विकल्प सजिलै उपलब्ध छैन ।

‘होर्मुज बन्द भयो भन्ने थाहा पाएपछि विशेषगरी एसियाली आयातकर्ता देशहरूले तेल र ग्यास सञ्चय सुरु गर्नेछन्,’ म्याकनालीले भने ।

विश्लेषकहरूका अनुसार बजार सन्तुलनमा ल्याउन तेलको मूल्य यति धेरै बढ्नुपर्छ कि त्यसको प्रभावले आर्थिक गतिविधि नै सुस्त बनाओस् ।

अर्थात् तेल महँगो हुँदा उद्योग, यातायात र अन्य क्षेत्रको खर्च बढ्छ । खर्च बढेपछि उत्पादन र उपभोग दुवै घट्न थाल्छ । यसरी समग्र आर्थिक गतिविधि कम हुँदा तेलको माग पनि घट्छ र बजार सन्तुलनतिर जान्छ ।

उनीहरू भन्छन्, ‘अहिले तेलको माग सजिलै घट्ने खालको छैन । मूल्य बढ्दा पनि मानिसहरू र उद्योगहरू तुरुन्तै तेलको प्रयोग कम गर्न सक्दैनन् । त्यसैले माग घटाउन मूल्य धेरै माथि जानुपर्ने अवस्था देखिएको हो ।’

केही सानो हिस्सा मात्र वैकल्पिक मार्गतर्फ मोड्न सकिने म्याकनालीले बताए। साउदी अरेबियासँग पूर्वबाट रातो सागरतर्फ जाने पाइपलाइन छ भने यूएईसँग होर्मुजलाई बाइपास गर्ने गरी ओमानको खाडीमा टुंगिने पाइपलाइन छ ।

राज्य सञ्चारमाध्यमका अनुसार इरानले कतार, कुवेत, यूएई र बहराइनस्थित अमेरिकी आधारशिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ । तेल तथा ग्यास परामर्शदाता टम क्लोजाका अनुसार यसले होर्मुजमार्गको आवागमनलाई थप प्रभावित गर्न सक्छ ।

उनले भने, ‘पर्सियन खाडीका छिमेकीमाथि इरानको आक्रमणले समीकरण बदल्छ । यसले बीमा कम्पनीहरूलाई होर्मुजमार्ग हुँदै जाने ट्यांकरको बीमा दर अत्यधिक बढाउन वा पूर्ण रूपमा बीमा गर्न अस्वीकार गर्न दबाब दिन सक्छ ।’

क्लियरभ्यु इनर्जी पार्टनर्सका केभिन बुकका अनुसार तेल मूल्य अत्यधिक बढेमा ट्रम्प प्रशासनले रणनीतिक पेट्रोलियम भण्डार प्रयोग गर्न सक्छ । अमेरिकी ऊर्जा विभागका तथ्यांकअनुसार हाल उक्त भण्डारमा करिब ४१ करोड ५० लाख ब्यारेल तेल मौज्दात छ ।

तर उनले चेतावनी दिए, आपूर्ति संकटमा समयावधि र परिमाण दुवै महत्वपूर्ण हुन्छन्। पूर्ण होर्मुज संकटले अमेरिका र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) सदस्य राष्ट्रहरूको रणनीतिक भण्डारले दिने राहतलाई पनि नाघ्न सक्छ ।’ (सीएनबीसीबाट अनुदूति तथा सम्पादित)

Share News