निष्पक्ष निर्वाचनको वातावरण नबनेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष र विश्वासिलो निर्वाचनको वातावरण तयार गर्न नसकेको आरोप लगाएका छन् ।

झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको बासँग विद्यार्थी कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्लो समय लोकतान्त्रिक प्रक्रियामाथि नै प्रहार भएको टिप्पणी गरेका हुन्।

सार्वभौम संसदलाई बलपूर्वक विघटन गरिएको घटनाले मुलुकलाई अस्थिरता र संकटतर्फ धकेलेको उनको भनाइ रहेको छ ।

अध्यक्ष ओलीले देश वर्तमानमा राजनीतिक अन्योलबाट गुज्रिइरहेको उल्लेख गर्दै त्यसबाट निकास दिन आफ्नो पार्टी चुनावी मैदानमा होमिएको बताए । ‘एमाले चुनावबाट भाग्ने पार्टी होइन, जनताको मतबाटै समाधान खोज्ने पार्टी हो,’ उनले भने ।

आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै उनले त्यसपछि देशमा देखिएका आर्थिक, राजनीतिक र प्रशासनिक समस्याको समाधान निकालिने विश्वास व्यक्त गरे । 

उनले युवापुस्तालाई लोकतान्त्रिक अभ्यास सुदृढ बनाउन सक्रिय भूमिका खेल्नसमेत आह्वान गरे ।

Share News