झापामा ओलीको नयाँ चुनावी कार्यक्रम ‘बासँग विद्यार्थी’ सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) झापाको दमकमा विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद सुरु गरेका छन् । ‘बासँग विद्यार्थी’ नाम दिइएको कार्यक्रम दमकस्थित होटल कोरोनेशनमा सुरु भएको नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले जानकारी दिए । 

कार्यक्रममा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका करिब तीन सय बढी विद्यार्थीको सहभागिता रहको उनले बताए ।

झापा निर्वाचन क्षेत्र नम्बर–५ का एमाले निर्वाचन प्रचार उपसमिति संयोजक समेत रहेका भण्डारीका अनुसार कार्यक्रममा विद्यार्थीहरूले उठाउने समस्या, जिज्ञासा र सुझावमाथि अध्यक्ष ओलीले प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । 

निर्वाचन लक्षित भेटघाट अन्तर्गत आजको पहिलो कार्यक्रम नै विद्यार्थीहरूसँगको संवाद हो ।

विद्यार्थीसँगको छलफल सकिएलगत्तै अध्यक्ष ओली गौरादह नगरपालिका क्षेत्रमा मतदातासँग घरदैलो तथा समूहगत भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको छ । निर्धारित तालिका अनुसार उनले दिउँसो साढे १ बजे गौरादह–४ को खाङ्टामा स्थानीयसँग भेटघाट गर्नेछन् । त्यसपछि सोही वडाको मियाँ टोलमा पुगेर नागरिकसँग छलफल गर्ने कार्यक्रम रहेको भण्डारीले जानकारी दिए ।

मियाँ टोलको भेटघाटपछि ओलीले दिउँसो ३ बजे दुर्गाचोक–मजुवामा र साढे ३ बजे फकिरढिपमा मतदातासँग अन्तरक्रिया गर्ने तय भएको छ ।

समूहगत भेटघाटका क्रममा स्थानीय बासिन्दाका समस्या, गुनासा र विकाससम्बन्धी चासो सुन्ने तथा समाधानका विषयमा धारणा राख्ने कार्यक्रम रहेको एमाले नेताहरूले बताएका छन् । अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रमा टोल–टोल पुगेर प्रत्यक्ष संवादमार्फत जनताका आवाज सुन्ने अभियानलाई तीव्र बनाइरहेका छन् ।

Share News