उम्मेदवारको अनुहार अंकित टिसर्टमा होली खेल्न नपाइने, घरको कम्पाउन्डभित्रै रमाउन निर्देशन

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले उम्मेदवारको चुनावचिन्ह अंकित र अनुहार देखिने टिर्सट लगाउन नपाइने जनाएको छ ।
 
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ को दफा १३(घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टि–सर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने भन्ने बेहोरा उल्लेख छ ।

निर्वाचन चिन्ह र उम्मेदवारका तस्बिर अंकित भेस्ट, टि–सर्ट, कमिज, गम्छा, लगायतका कपडाहरू प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराज रिजालले बताए ।

निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर धार्मिक तथा सांस्कृतिक रूपमा आ-आफ्नो घर कम्पाउण्ड भित्र अरू कसैलाई बाधा अवरोध नपर्ने गरी आफन्त, परिवारजन  साथीसंगीहरूसँग होली पर्व मनाउन उनले आग्रह गरेका छन् । 

उनका अनुसार सार्वजनिक स्थानमा भेला भएर तथा  मञ्च बनाई सांगितिक कार्यक्रमहरू गर्न पाइने छैन । त्यस्तै, मादक पदार्थको विक्री वितरण तथा सेवन गर्नेजस्ता कार्यहरू र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि गर्न पाइँदैन ।

आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरेर होली पर्व मनाउन पनि रिजालले अनुरोध गरेका छन् । अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा कानुनबमोजिम कारबाही गरिने उनले जानकारी दिए ।

null

Share News