निर्वाचन अनुगमनका लागि सातै प्रदेशमा एआईजी खटाइयो, १२ हजार बढी अतिरिक्त प्रहरी परिचालन

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचन सुरक्षालाई चुस्त र प्रभावकारी बनाउन सातै प्रदेशमा सात जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश कमाण्डको जिम्मेवारी दिएर परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागमा कार्यरत एआईजीहरूलाई प्रदेशस्तरीय सुरक्षा नेतृत्व प्रदान गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले जानकारी दिए । 

उनका अनुसार प्रत्येक जिल्लामा कम्तीमा प्रहरी उपरीक्षक एसपीको नेतृत्वमा सुरक्षा कमाण्ड व्यवस्था मिलाइएको छ । चुनौतीपूर्ण तथा संवेदनशील जिल्लाहरूमा वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी समेत खटाइएको काफ्लेले जानकारी दिए । आवश्यकताको आधारमा एक अधिकृतलाई दुई जिल्लासम्मको कमाण्ड जिम्मेवारी दिइएको छ ।

काफ्लेका अनुसार कोशी प्रदेशमा मानव स्रोत विभागका एआईजी राजन अधिकारी, मधेश प्रदेशमा एआईजी डम्बर विक, बागमती प्रदेशमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी सिद्धिविक्रम शाह, गण्डकी प्रदेशमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा कार्यरत एआईजी डा मनोज केसी, लुम्बिनी प्रदेशमा कार्य विभाग प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदी, कर्णाली प्रदेशमा अपराध अनुसन्धान विभागका एआईजी सुशीलसिंह राठौर र सुदूरपश्चिम प्रदेशमा प्रशासन विभाग प्रमुख एआईजी हिमालयकुमार श्रेष्ठलाई खटाइएको छ ।

निर्वाचन सुरक्षाका लागि उपत्यकाबाट मात्रै १२ हजार ७ सयभन्दा बढी अतिरिक्त प्रहरी टोली प्रदेश तथा जिल्लाहरूमा परिचालन भइसकेको प्रवक्ता काफ्लेले बताए । 

डिआइजी काफ्लेका अनुसार ट्राफिक प्रहरी, अपराध अनुसन्धान तथा अन्य ब्यूरोका जनशक्तिसमेत थप गरिएको छ । 

सुरक्षा रणनीतिअन्तर्गत शंकास्पद स्थानहरूमा तालिमप्राप्त कुकुर परिचालन, साइबर निगरानीका लागि विशेष मनिटरिङ डेस्क स्थापना, सामाजिक सञ्जालको नियमित अनुगमन तथा अन्तराष्ट्रिय सीमा नाकाहरूमा कडा निगरानी व्यवस्था गरिएको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए ।

सरकारले म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको छ ।

नेपाली सेनाबाट ७९ हजार ७ सय २७, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्ट्रिय अनुसन्धानबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी (म्यादी) बाट १ लाख ४९ हजार ९० जना परिचालन गरिएको हाे । 

Share News