‘कमिङ प्रेसिडेन्ट’को प्यानल बन्छ, अनुभवी र क्षमतावान टिम बनाउँदैछौं

महासंघको अध्यक्ष भएर रिटायर भएको देख्न, सुन्न र भेट्न पाउनुहुनेछ

नेपाली उद्योगी व्यवसायीमाझ परिचित नाम हो शिवप्रसाद घिमिरे । लामो समयदेखि नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी हाल महासंघको स्थल यातायात तथा पारवाहन समितिको सभापति तथा कार्यकारिणी सदस्यका रूपमा पनि कार्यरत छन् । सन् १९९६ मा स्थापना भएको व्यावसायिक समूह एसजी ग्रुपका अध्यक्षसमेत रहेका घिमिरे नेशनल बिजनेस इनिसियटिभका संस्थापक सदस्य समेत हुन् । उनले राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्यका रूपमा पनि भूमिका निर्वाह गरिसकेका छन् । साथै उनले नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम डिलर्स संघको नेतृत्वसमेत सम्हालिसकेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २८ र २९ गते हुने निर्वाचनका सन्दर्भमा उनको उम्मेदवारी, उम्मेदवारीको आवश्यकता र व्यावसायिक वातावरण लगायत विषयमा विकासन्युजका लागि सन्तोष रोकायासीआर भण्डारीले कुराकानी गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा तपाईं पनि उम्मेदवार बन्ने चर्चा छ । त्यो चर्चामा कत्तिको सत्यता छ ? 

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन चैत २८ र २९ गते हुँदैछ । म लामो समयदेखि महासंघमा आबद्ध छु र हाल पनि महासंघको कार्यकारिणी सदस्यसहित स्थल यातायात तथा पारवाहन समितिको सभापतिको रूपमा काम गरिरहेको छु । आगामी निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारी गरिरहेको छु । साथै मैले आफ्नो टिम पनि तयार पारिसकेको छु । मेरो टिममा आकांक्षी २७ जना हुनुहुन्छ । वस्तुगततर्फ दुई प्रकारका सदस्यको निर्वाचन हुन्छ, जसमा १४ जना वस्तुगत संघ र २ जना वस्तुगत महासंघबाट हुन्छन् । उपाध्यक्षसहित १७ जनाको वस्तुगत परिषद् हुन्छ । त्यो १७ जनामध्ये म बाहेक महासंघ र संघ गरेर २७ जना आकांक्षी हुनुहुन्छ । त्यसमध्येबाट १६ जना सबै क्षेत्र समेटेर टिम बनाइन्छ । महत्त्वपूर्ण क्षेत्रसहित समग्र निजी क्षेत्रलाई समेटेर १६ जनाको टिम तयार गरिन्छ । 

टिम पनि तयार भइसक्यो भन्नुभयो । तपाईंको टिममा को-को हुनुहुन्छ ?

यो नितान्त व्यावसायिक संस्थाभित्र हुने निर्वाचन हो । यो व्यवसायीहरूबीच हुने निर्वाचन हो । हामीले आम मतदातासँग भोट मागिरहनु पर्दैन । निजी क्षेत्रको छाता संस्थाको नेतृत्वमा जानका लागि यो संस्थाभित्र सबैले एकअर्कालाई चिनेका पात्र हुन् । कुनै अपरिचित उम्मेदवार र मतदाता हुँदैनन् । त्यसकारण हामीले हतार गरेर ठूलो प्रचार-प्रसार गर्नु आवश्यक छैन । आम निर्वाचन सम्पन्न भएपछि चैतको पहिलो साता वस्तुगत, एसोसिएट, जिल्ला-नगरको टिमसहित घोषणा गर्छौं । तर, महिला उपाध्यक्षका लागि उम्मेदवार घोषणा गर्दैनौं, किनकि त्यो पद सिर्जना हुन्छ कि हुँदैन भन्ने एकिन छैन । विधानतः १२ जना महिला कार्यकारिणी जितेर आउनुभयो भने मात्रै महिला उपाध्यक्षको पद खडा हुन्छ । वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र महिला उपाध्यक्ष निर्वाचनपछि मात्रै चुनिने हो ।

एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्ला-नगरमा दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्मा हुनुहुन्छ । कृष्ण शर्मा हाल नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्ष हुनुहुन्छ र दिलसुन्दर श्रेष्ठ महासंघको बागमती प्रदेश अध्यक्ष हुनुहुन्छ । विधानअनुसार जिल्ला-नगरमा दुई वटा उपाध्यक्षको व्यवस्था गरेको छ । वरिष्ठ उपाध्यक्षका लागि ४-५ जना आकांक्षी हुनुहुन्छ । अहिलेसम्म निर्णय भइसकेको छैन । यसमा हतार पनि छैन । निर्वाचनपछि मात्रै त्यस पदका लागि सहभागी हुने हो । कार्यसमितिमा अध्यक्षले ७ जना मनोनित गर्ने व्यवस्था छ । मनोनित गरेर सबै टिम पूर्ण भइसकेपछि मात्रै वरिष्ठ उपाध्यक्ष पदका लागि निर्वाचन तोक्ने र उम्मेदवारको निर्वाचन हुने हो । हालसम्म ४-५ जना आकांक्षीमध्ये टिमले सबै हेरेर कसलाई अन्तिम टुंगो लगाउने भनेर निर्णय गर्छ । हामी महासंघका स्वतः अध्यक्ष हुँदै गरेका अञ्जन श्रेष्ठको टिम अन्तर्गत छौं ।

तपाईं वस्तुगत उपाध्यक्षका लागि उम्मेदवार बन्ने भन्नुभयो । अर्को समूहबाट पनि उम्मेदवारी घोषणा भइसकेको छ । उहाँभन्दा आफू र आफ्नो टिम कति बलियो लाग्छ ?

प्रजातान्त्रिक पद्धति र विधिअनुसार आफ्नो इच्छा-आकांक्षा राख्नु सबैको हक र अधिकार हो । दुई जना मात्रै उम्मेदवार हुनुपर्छ भन्ने जरुरी छैन । निर्वाचनको दिनसम्म ४-५ जना पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने छुट छ । त्यसकारण मैले मेरो प्रतिस्पर्धालाई सहज रूपमा लिएको छु । मैले कुनै अनौठो रूपमा सोचेको पनि छैन । नेपाल उद्योग वाणिज्य महासंघको इतिहास केलाउने र समग्र जटिल परिस्थितिलाई हेर्ने हो भने मुलुक इतिहासकै सबैभन्दा संकटमा गुज्रिरहेको छ । यस बेलामा निजी क्षेत्र समूह-समूहमा विभाजन भएर निर्वाचन प्रक्रियामा नजाँदा राम्रो हुन्थ्यो । तर आकांक्षी एकभन्दा बढी भएपछि स्वाभाविक रूपमा स्वच्छ प्रतिस्पर्धाबाट एक जना निर्वाचित हुन्छ र निर्वाचन सम्पन्न भएपछि दोस्रो दिनदेखि सबै एकै ठाउँमा रहेर काम गर्ने हो ।

अहिलेसम्म घोषणा भएअनुसार तपाईंको प्रतिस्पर्धीका रूपमा नरेशलाल श्रेष्ठ देखिनु भएको छ । तपाईं आफ्नो प्रतिस्पर्धीभन्दा त्यो पदका लागि अब्बल छु जस्तो लाग्छ ? 

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरिरहँदा सबै कमजोर वा खराब हुँदैनन् । सबै राम्रा र अब्बल हुनुहुन्छ । तर, एजेन्डामा काम गर्ने हो । इतिहासकै सबैभन्दा खराब अवस्थामा निजी क्षेत्र र सिंगो मुलुक छ । यसलाई केन्द्रमा राखेर काम गर्ने हो । महासंघमा सानो चिया पसल गर्ने, बाटोमा बसेर टायर पन्चर बनाउनेदेखि बहुराष्ट्रिय कम्पनी चलाउने अटाएका छन् । महासंघ एउटै छातामुनि सबैको छहारी हो । यसलाई अनुभूति हुने गरी काम गर्नुपर्ने आजको आवश्यकता हो । साथै महासंघ सरकारको आर्थिक सल्लाहकारको भूमिकामा रहनुपर्छ भन्ने मेरो मान्यता हो । महासंघ आफैंले नीतिगत निर्णय गर्ने, ऐन-कानुन बनाउने निकाय होइन । नेपाल सरकार र निजी क्षेत्रबीच पुलको काम गर्ने आर्थिक सल्लाहकार महासंघ हो र हुनुपर्छ । 

निजी क्षेत्रको गुनासा, सुझाव-सल्लाह, भइरहेका ऐन-कानुनबाट व्यवसायमा परिरहेको असरका बारेमा राज्यसँग लबिङ गर्ने हो । कतिपय ऐन-कानुन खारेज गर्नुपर्ने हुन सक्छ, कतिपय संशोधन र कतिपय पुनर्लेखन गर्नुपर्ने हुन सक्छ । सरकारबाट निजी क्षेत्रले व्यापार, उद्योग सञ्चालन र पसल थाप्छु भनेर पैसा मागिरहेको छैन । व्यापार-व्यवसाय गर्ने वातावरण बनाइदेऊ, हामी लगानी गर्छौं भनेर निजी क्षेत्रले भनिरहेको छ । सुरुमा स्वदेशभित्रै लगानीको वातावरण बन्नुपर्छ । त्यसपछि मात्रै बाह्य लगानी भित्रिन सक्छ । अवसर नभएको होइन । दुई ठूला छिमेकीको बीचमा नेपाल छ । ठूलो पोखरीमा कमलको फूलजस्तै छ नेपाल । भौगोलिक बनावट पनि हाम्रो अन्य देशको तुलनामा पृथक किसिमको छ । हिमाल, पहाड र तराई सबै भएको देश हो । यसलाई बनाउन सबै लागेर काम गर्ने हो भने लामो समय लाग्दैन । गर्नुपर्ने कामहरू थुप्रै छन् । यी सबैलाई केन्द्रमा राखेर काम गर्नु महासंघको भावी नेतृत्वको जिम्मेवारी हो ।

अहिलेको विषम परिस्थितिमा निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने हो । सकसको घडीमा नेतृत्व निर्विरोध रूपमा चयन गर्नुपर्ने हो । तर, यही बेला तपाईहरु विभाजित जस्तो देखिनुभएको छ । वरिष्ठ उपाध्यक्षका लागि ४-५ जना आकांक्षी देखिनु भएको छ । एकले अर्काको नेतृत्व र अस्तित्व स्वीकार नगर्ने अवस्था छ । यो अवस्था कसरी र किन सिर्जना भयो ? 

हामी पनि अहिलेको समयमा सहमतिमा नेतृत्व चयन होस् भन्ने चाहन्छौं । म महासंघमा जोडिएको २०औं वर्ष भयो । यो अवधिमा महासंघमा कुनै न कुनै भूमिकामा रहेर काम गरेको छु । मैले आजभन्दा अगाडि कहिल्यै पनि नेतृत्वको दाबी गरेको थिइँन । आज मेरो उमेरसँगै, योग्यता र व्यवसायमा पनि विविधीकरण आएको छ । विभिन्न क्षेत्रका झण्डै पाँच दर्जन व्यवसायमा आबद्ध छु । मैले आकांक्षा राख्नु मेरो तर्फबाट अब ढिलो गर्नु हुँदैन भन्ने लाग्छ । यसभन्दा पछाडि पनि जानु हुँदैन र सधैं म मात्रै बसिरहनु हुँदैन । नेतृत्व परिवर्तन हुँदै जानुपर्छ । एउटै ठाउँमा लामो समयसम्म बसिरहनु हुँदैन भन्ने लाग्छ ।

अरू साथीहरूले पनि आफूलाई अब्बल ठान्नु र अरूलाई किन समर्पण गर्ने भन्ने सोच्नु स्वाभाविक हो । चुनाव हुनु आफैंमा नराम्रो विषय होइन । चुनाव सम्पन्न भएको दोस्रो दिनदेखि मिलेर जान्छौं । राजनीतिक दलहरूमा विभाजन पनि हुन्छ । महासंघको इतिहासमा यस्तो अभ्यास छैन । महासंघको एजेण्डा सबैको साझा एजेन्डा हो र सबैले मिलेर काम गरिन्छ । त्यसकारण सर्वसम्मत हुन नसकेपछि निर्वाचन नै उपयुक्त हो । एकभन्दा बढी आकांक्षी भएपछि कसले ‘तपाई छोड्नुहोस्, तपाईं उठ्नुहोस्’ भन्ने ? सबै बराबर हुन् । त्यसकारण यस्तो परिस्थिति आएको हो र निर्वाचन हुन लागेको हो ।

महासंघका आगामी अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा एउटा टिम गठन गरिएको छ । उहाँले पनि आउँदो कार्यकाल मेरो नेतृत्व सञ्चालन हुने भएकाले काम गर्न सहज र सक्रिय रूपमा काम गर्ने टिम म आफैं बनाउँछु भनेर विगतको चुनावमै घोषणा गर्नुभएको थियो । सोहीअनुसारको टिम हामीभित्र तयार भएको छ । महासंघको कुनै न कुनै भूमिकामा रहेर योगदान दिइसकेका व्यक्तित्वहरू हुनुहुन्छ । सबै किसिमले अब्बल हुनुहुन्छ । पाँच जना आकांक्षी हुनु स्वाभाविक हो । हाम्रो टिम वा हुनेवाला अध्यक्षको टिमबाट ४-५ जना आकांक्षीमध्ये वरिष्ठ उपाध्यक्षको उम्मेदवार सर्वसम्मत हुनेछ ।

निर्वाचन सम्पन्न भएको पछिल्लो दिनबाट मिलेर काम गर्ने माहोल हुन्छ भन्नुभयो । तर, पछिल्लो समय महासंघका अध्यक्षलाई वरिष्ठ उपाध्यक्षले नटेर्ने र अध्यक्षले पनि वरिष्ठ उपाध्यक्षलाई बाइपास गरेर निर्णय गर्ने गरेको अभ्यास तपाईं हामी सबैलाई थाहा छ । निर्वाचनले यो किसिमको इगो र त कायमै रहने रहेछ नि ?

यस्तो परिस्थिति महासंघमा छैन । बैठकमा एजेण्डाको विषयमा छलफल हुँदा विचार र बहस फरक हुनु स्वाभाविक हो । जस्तो मैले राखेको एजेण्डामा अर्कोले आफ्नो विचार र बहस गर्नु बाहेक नटेर्ने र बाइपास भएको देखिँदैन । म पनि त्यो कार्यसमितिमा छु । कुनै विषयमा सबैका विचारलाई व्यापक छलफल गरेर बहुमतले गरेको निर्णयलाई स्वीकार गरेपछि पनि फरक धारणा राख्नेको एजेण्डा त्यही नै हो । अध्यक्षले वरिष्ठ उपाध्यक्षलाई बाइपास गर्ने र वरिष्ठ उपाध्यक्षले अध्यक्षलाई नटेर्ने भन्ने हुँदैन । एउटै जंगलमा दुइटा सिंह हुनु हुँदैन भन्ने भनाइ छ।

विगतको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले काममा कमजोरी भइरहेको थियो । किनभने वरिष्ठ उपाध्यक्ष भइसकेको मान्छे ‘म किन दौडधुप गरिरहनु पर्यो ? अध्यक्ष स्वतः भइहालिन्छ’ भन्ने सोच हुन्थ्यो । अनि अध्यक्ष भइसकेको व्यक्ति ‘म रिटायर हुने बेलामा किन धेरै दौडधूप गर्ने, हिजो दिनमा दौडधूप गरिरहें’ भन्ने सोच हुन जान्छ । त्यो महसुस धेरैले गरे पनि । यसरी महासंघ कमजोर बनाउने उपकरणको रूपमा काम गर्दै थियो भन्ने आशंका र अभिप्रायले हामी सबै लागेर महासंघमा प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट नेतृत्व आउनुपर्छ भनेर विधान संशोधन गरिएको हो । अब अञ्जनजीको कार्यकालपछि अध्यक्ष पनि प्रतिस्पर्धाको माध्यमबाट आउनेछ र यो अध्याय नै बन्द हुनेछ । 

null

वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाललाई अघि सार्नेगरी अर्को समूहबाट पदाधिकारीहरूको प्यानल घोषणा गरिएको छ । घोषणा कार्यक्रममा महासंघका ८ जना पूर्वअध्यक्षको साथ रहेको पनि दाबी गरिएको छ । ८ जना पूर्वअध्यक्षले ढकाल समूहलाई सहयोग गर्ने देखिएपछि तपाईंहरूसँग अब आगामी अध्यक्ष (अञ्जन श्रेष्ठ) मात्रै हुनुहुन्छ । तपाईहरूले हार्ने चुनाव लड्दै हुनुहुन्छ भन्ने चर्चा व्यवसायीहरूमाझ छ । यसलाई कसरी चिर्नुहुन्छ ?

अर्को समूहको उम्मेदवारी घोषणा सभामा ८ जना पूर्वअध्यक्ष सहभागी हुनुभयो । हामी हाम्रो उम्मेदवारी घोषणा सभामा १४ जना पूर्वअध्यक्षलाई सहभागी गराउँछौं । किनभने निमन्त्रणा दिएपछि पूर्वअध्यक्ष, पूर्वउपाध्यक्ष तथा सीएनआई, चेम्बर, एनबीआई लगायत संस्थाबाट पनि बोलाइन्छ । कार्यसमितिलाई पनि बोलाइन्छ । र जिल्ला-नगर तथा वस्तुगत सबै अध्यक्षलाई पनि बोलाइन्छ । महासंघका वर्तमान अध्यक्ष पनि आउनुहुन्छ । वर्तमान अध्यक्ष भएकाले महासंघको नयाँ नेतृत्व चयनका लागि टिम तयार भइरहेको छ, निमन्त्रणा दिएपछि शुभकामना दिन आउनुहुन्छ । सकेसम्म सर्वसम्मत नेतृत्व चयन भए हुन्थ्यो । तर, अर्को टिममा पनि शुभकामना दिन जानुपर्छ भनेर उहाँले भनिसक्नु भएको छ ।

यदि मैले चाहेको भए १० वर्ष अगाडि नै अध्यक्ष भइसक्थेँ भनेर तपाईंले अनौपचारिक रूपमा भन्नुभयो । अब भाइ-भतिजाहरू आए उनीहरूलाई साथ दिनुपर्छ । अब महासंघमा बसेर नेतृत्व गर्नेभन्दा पनि पछाडि बसेर अनुभव सेयर गर्नुपर्छ । विश्राम लिनुपर्छ भन्ने महसुस तपाईंलाई भएको छैन ?

त्यही भएर नै जहाँ छु, त्यहाँबाट छोड्दै अगाडि जाने हो । अर्थात् म अहिले जुन ठाउँमा बसेर जुन भूमिकामा काम गरिरहेको छु, त्यो ठाउँ खाली गर्दै नयाँ पुस्ता आउनुपर्छ, नयाँ अनुहार आउनुपर्छ, त्यही ठाउँमा लामो समय बसिरहनु हुँदैन भनेर छोड्दै अगाडि बढेको हो । त्यसकारण महसुस छैन भन्न मिल्दैन । तर, मुलुकमा ‘जेनजी’ आन्दोलन भयो, फेरि पनि नेतृत्वमा न्यायालय सम्हालिसक्नु भएकी सुशीला कार्कीलाई नै ल्याएर राख्नुभयो । किन ‘जेनजी’ भाइबहिनीहरू प्रधानमन्त्री बन्नु भएन ? आन्दोलन ‘जेनजी’हरूले गरेको हो । उपलब्धि ल्याउन काम हामीले गर्यौं भन्दै गर्दा परिपक्व व्यक्तिबाट नेतृत्व गराउनुपर्छ भन्ने हिसाबले नै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको होला । त्यसकारण हामीसँग पनि लामो अनुभव छ र परिपक्व भइसकेका छौं । अब हामीले मूल नेतृत्वतर्फ अगाडि बढेर टिममा नयाँ पुस्तालाई प्रमोट गर्दै ल्याउने हो । त्यो ठाउँ खाली गर्दै जाने हो ।

महासंघको पदाधिकारीमा आउनका लागि तपाईंले लामो समयदेखि तयारी गरिरहनु भएको छ भन्ने चर्चा पनि छ, कति समयदेखिको हो तयारी ?

महासंघमा लामो तयारी गर्नुपर्ने आम चुनावजस्तो होइन । यो नितान्त व्यवसायीहरूको चुनाव हो । सबै व्यवसायी एउटै छातामुनि छौं । त्यसकारण लामो तयारी गर्नुपर्ने आवश्यकता छैन । विगत ४-५ महिनादेखि टिम बनाउने, छलफल गर्ने र उम्मेदवारी घोषणा गर्नु अगाडि मतदाता तथा महासंघलाई माया गर्ने अग्रजहरू, जसले नेतृत्व गरिसक्नुभएको छ, उहाँहरूसँग छलफल तथा सुझाव-राय लिएर घोषणा गरिएको हो । मेरो भूमिकाले महासंघलाई कत्तिको सहयोग पुग्छ वा मेरो आवश्यकता छैन भन्ने हिसाबले सबैसँग सल्लाह गरेर नै उम्मेदवारी घोषणा गरेको हो । महासंघमा समय दिन जाने हो । व्यवसायीहरूको समय महत्वपूर्ण हुन्छ । विभिन्न पेशा-व्यवसाय गर्नेहरूको समय महँगो पनि हुन्छ । त्यो महँगो समय खर्चेर केही गर्न सकिँदैन भने किन अलमलिने भन्ने हिसाबले सिनियरहरू, अग्रजहरू लगायत सबैसँग सल्लाह गरेर उम्मेदवारी घोषणा गरेको हो । विविध कारणले महासंघमा प्रतिनिधित्व गरिरहन आवश्यक छ भन्ने सुझावका आधारमा मैले २-४ महिना अगाडि अभ्यास गरेको हो त्यो पनि मतदाताको आशय बुझेर ।

तपाईंको प्रतिद्वन्द्वीलाई म अगाडि बढ्छु, एक पटक सहयोग गर्नुपर्यो भनेर सल्लाह गर्नु भएन ? अब सहमति हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

कोही टिम घोषणा गरेर अगाडि बढिसकेको साथीलाई ‘तपाईंभन्दा म अब्बल छु, तपाईंले छोडिदिनूस्’ भन्ने विषय राम्रो होइन । अब सहमतिको समय गइसकेको छ । एजेण्डामा काम गर्ने भएकाले अब मतदाताले भाग्य र भविष्य कोर्नु हुन्छ । यसको जिम्मा उहाँहरूलाई नै छोड्नुपर्छ ।

null

तपाईंहरूका एजेण्डा के-के हुन् ?

नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यदिशा के हुनुपर्छ, के-के काम गर्नुपर्छ, के-के गर्न सकिन्छ र केका लागि हाम्रो उम्मेदवारी हो भन्ने प्रतिवद्धतासहित सार्वजनिक गर्छौं । त्यसैका आधारमा मतदाताले विश्लेषण गरेर नेतृत्व छान्नुहुन्छ । म राम्रो र अर्को खराब भन्नु पर्दैन । एजेण्डा सही छन् कि छैनन्, ती एजेन्डा उपर्युक्त छन् कि छैनन् भनेर मतदाताले विश्लेषण गर्नुहुन्छ । यो दलहरूको घोषणापत्रजस्तो होइन । हाम्रा बोलीलाई व्यापारी भाषामा ‘सौदाबाजी’ भन्ने गरिन्छ । त्यसको आधारमा नै व्यवसायी साथीहरूले विश्वास गर्ने हो । 

महासंघको चुनावमा पूर्वअध्यक्षहरू हावी हुन्छन् भन्ने बुझाइ अधिकांशको छ । यसमा तपाईंको धारणा के छ ?

यस्तो हुन्छ भन्ने मलाई लाग्दैन । आफूले सफल नेतृत्व गरिसकेको संस्थाबारे चिन्ता-चासो राख्नु स्वाभाविक हो । तर, हस्तक्षेपकारी भूमिका गर्ने गरेको मेरो अनुभवमा छैन ।

वस्तुगत उपाध्यक्ष भएर बाहिरिनु हुन्छ कि अध्यक्ष नै बन्ने योजना छ ?

यो सुरुवाती हो । पदाधिकारी पहिलो प्रस्थान बिन्दु हो । सबैको साथ-सहयोग रह्यो भने नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएर रिटायर भएको देख्न, सुन्न र भेट्न पाउनुहुनेछ ।

महासंघको चुनावसँगै आम चुनाव नजिकिँदैछ । यतिखेर राजनीतिक दल र उम्मेदवारहरूले उद्योगी व्यवसायीसँग चन्दा पनि राम्रै असुल गर्छन् भन्ने सुनिन्छ, कतिपय व्यवसायीले चन्दा आतंक नै छ भन्छन् । आफू पनि चुनाव लड्ने पार्टीलाई पनि चन्दा दिनु पर्ने खर्च त धेरै हुन्छ होला नि ?

अब ‘आतंक’ नै नभनौं । कुनै समयमा त्यो पनि थियो । अहिले त्यस्तो किसिमको अभ्यास छैन । तर, सहयोगको अपेक्षा गर्नेमा कमी छैन । स्वैच्छिक रूपमा केही गरिदिनूहोस् भन्ने धेरै छन् । कुनै समय चन्दा बाध्यकारी पारिन्थ्यो । दिएन भने ठिक हुँदैन भन्ने समय थियो, त्यसलाई आतंक भनिन्छ । तर, अहिले सबै राजनीतिक दल, दलका उम्मेदवार र शुभचिन्तकहरूले आर्थिक सहयोग स्वैच्छिक रूपमा गरिदिनूपर्यो भन्ने गर्छन् । यसलाई आतंक भन्न मिल्दैन, किनकि नदिन पनि पाइन्छ । अहिले नदिँदा ठिक हुँदैन भन्ने अवस्था छैन । तर, चन्दालाई व्यवस्थित गर्नुपर्छ । सबै राजनीतिक दल, निर्वाचन आयोगदेखि सरकारले आगामी दिनमा चन्दालाई विधि र प्रक्रियामा लैजानुपर्छ । स्वैच्छिक भए पनि चन्दा खाममा होइन, बैंकमार्फत हुनुपर्छ । मैले चाहेको दल वा उम्मेदवारलाई सहयोग गर्ने इच्छा लाग्यो भने पनि कानुनी रूपमा हुनुपर्छ ।

Share News