दिनभरको यात्रा अवधि साढे २ घण्टामा छोटियो

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ-गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप करिब ४ किलोमिटर ट्रयाक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालनसँग जोड्न लागिएको हो । यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो ।

भैसीमानेदेखि पाल्टनसम्म थप करिब ३ किलोमिटर सडकको मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । ‘थप करिब दुई किलोमिटर मार्ग खुलेपछि गुर्जा सडक सञ्जालमा जोडिने भएको छ । निर्माण कम्पनीको उपकरण (डोजर) बिग्रिएकाले केही ढिलाइ भएको छ । सरासर काम हुने हो भने अब हप्ता दश दिनमा गुर्जामा बाटो पुग्छ । गाडी चढेर जान सकिन्छ,’ उनले भने । 

चालु आवमा १ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुसमा ८८ लाख ८५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । आव २०७९/८० देखि सुरु भएको लुलाङ-गुर्जा धवलागिरि गाउँपालिकाको गौरवको प्राथमिकता प्राप्त योजना भएको गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पुनले बताए । 

दुई वर्षअघिसम्म गुर्जादेखि लुलाङ पुग्न पूरै दिन भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो । हाल गाडी पुग्ने पाल्टनदेखि २० मिनेट पैदल यात्रा गरेर गुर्जा पुगिने धवलागिरि-१ का वडाध्यक्ष झक छन्त्यालको भनाइ छ । 

‘गाउँ नजिकैसम्म बाटो र गाडी आउँदा गुर्जावासी खुसी र उत्साही भएका छौँ । गुर्जावासीले सडक ल्याउन योजना बनाउँदा पत्याएका थिएनन् । गाउँ नजिकै गाडी आउन थालेपछि गुर्जावासीमा उत्साह छाएको हो,’ उनले भने । 

गाडी चल्न थालेपछि गुर्जाबाट २ घण्टा ३० मिनेटमा गाउँपालिकाको केन्द्र मुना, ५ घण्टामा बेनी र ७ घण्टामा पोखरा पुग्न सकिने भएको छ । यसअघि गुर्जादेखि मुना पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय गोर्खा छन्त्यालले बताए । गाडी चल्न थालेपछि बिरामीलाई अस्पताल पुर्याउन, कृषि, पशुजन्य र जडीबुटी बजारीकरणमा सहज भएको छ । गुर्जामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

मार्ग खुलेको सडकको ग्रेड, घुम्ती मिलाउन, साँघुरो ठाउँमा फराकिलो पार्न, पक्की नाला बनाउन चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट ३ करोड रुपैयाँ र गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ । काम्जाखोलामा बेलिब्रिज निर्माणका लागि गुर्जावासीले चन्दा सङ्कलन अभियान सञ्चालन गरेका छन् । दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज भएको छ । 

अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । गुर्जाको जनसङ्ख्या १ हजार ५०५ जना रहेको छ ।

Share News