काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले पुनर्बीमा निर्देशिकालाई समयमै पुनरावलोकन गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार (आज) एक कार्यक्रममा बीमाको जोखिम केन्द्रिकृत हुँदा त्यसको असर त्यसको असर अहिले दाबी भुक्तानीमा देखिएको भन्दै अध्यक्ष क्षेत्रीले पुनर्बीमा निर्देशिका समयमै पुनरावलोकण गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष क्षेत्रीले नियामकीय व्यवस्थाअनुसार नेपालमा स्थापित दुई पुनर्बीमा कम्पनीमा निश्चित जोखिम अनिवार्य रूपमा ‘रि–सेयरिङ’ गर्नुपर्ने प्रावधानले जोखिम केन्द्रीकरण बढाएको बताए । उनका अनुसार नियामकीय व्यवस्थाकै कारण पछिल्लो जेनजीको भुक्तानी पूर्ण रुपमा स्वदेशी पुनर्बीमा कम्पनीसँग निर्भर हुनुपरेको छ ।
यसअघि बीमा कम्पनीहरूले अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूसँग प्रत्यक्ष रूपमा काम गर्दै जोखिम विविधिकरण गर्ने अभ्यास थियो र जसको कारण दाबी भुक्तानी पनि छिटो हुने गरेको उनले बताए ।
‘भूकम्पमा करिब १७–१८ अर्ब र गत साल प्राकृतिक प्रकोपका कारण करिब १३ अर्ब जति भुक्तानी दिन हामी सफल भएका थियौं । यी सबै कुरा हाम्रो पुनर्बीमा ब्याकअप असाध्यै राम्रो भएको र जोखिम विविधीकरण गरेकाले सम्भव भएको हो, तर नियमककको पछिल्लो निर्देशनले भुक्तानीमा समस्या आएको छ ।’
अध्यक्ष वैदवारले भविष्यमा सम्भावित जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन पुनर्बीमा निर्देशिकालाई समयमै पुनरावलोकन गर्न आवश्यक रहेको औंल्याएका छन्।
उनले बीमा क्षेत्रले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै प्रिमियममार्फत संकलित पुँजीलाई पूर्वाधारलगायत विभिन्न क्षेत्रमा लगानी गर्न सकिने बताए ।
साथै अन्तर्राष्ट्रिय स्तरको सेवा प्रवाहका लागि डिजिटाइजेसन र दक्ष मानव संसाधन विकासमा जोड दिनुपर्ने आवश्यकता रहेको वैदवारको भनाइ छ ।