काठमाडौं । निजी क्षेत्रका व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा सुरु भएको छ । आगामी चैत २८ र २९ गते हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ ।
विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । अन्य पदका लागि भने चुनावी प्रतिस्पर्धा हुनेछ ।
वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालले पदाधिकारीका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । अर्को समूह भने वरिष्ठ उपाध्यक्षको उम्मेदवार टुंग्याउने आन्तरिक गृहकार्यमा व्यस्त रहेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार उक्त समूहबाट वस्तुगत उपाध्यक्षमा शिव घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलराज पाण्डे तथा जिल्ला–नगर उपाध्यक्षमा कृष्ण शर्मा र सुरकृष्ण श्रेष्ठको नाम चर्चामा रहेको छ । अर्को समूहले चैतको पहिलो साता औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेको जनाएको छ । तर सो समूहले पनि वरिष्ठ उपाध्यक्षको उम्मेदवार टुंग्याउन सकेको छैन ।
स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान जिल्ला-नगर उपाध्यक्ष सुरकृष्ण बैद्य, पूर्व उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसँगै किशोर प्रधान र भाष्करराज कर्णिकारले रुचि देखाएका छन् । उनीहरूमध्ये एक जना वरिष्ठ उपाध्यक्षका रूपमा प्रतिस्पर्धामा उत्रिने सम्भावना रहेको छ ।
यो समूहलाई हालका वरिष्ठ उपाध्यक्ष तथा आगामी अध्यक्ष अञ्जन श्रेष्ठको साथ रहेको छ ।
५० प्रतिशत महिला बोकेर उठ्यो टिम हेमराज, चन्द्रसहित ८ पूर्वअध्यक्षको साथ