पोखरामा वाडा अटो शो २०२६ आयोजना हुने, स्टल बुकिङ खुला

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । अटो शोको दोस्रो संस्करण पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिकैको खेल मैदानमा चैत ११ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।

पहिलो संस्करणको सफलतापछि सवारीसाधन खरिद–बिक्री तथा अटोमोबाइल क्षेत्रमा विकसित आधुनिक प्रविधिप्रति सवारीधनी, सम्भावित ग्राहक र सर्वसाधारणको बढ्दो चासोलाई ध्यानमा राख्दै अटो शो आयोजना गर्न लागिएको हो । अटो शोको आयोजना पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनले गर्नेछ ।

अटो शोमा साना, मझौला तथा ठूला सवारीसाधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न कम्पनी तथा व्यवसायीहरूलाई सहभागी हुन आह्वान गरिएको छ । प्रदर्शनीका लागि स्टल बुकिङ फागुन १२ गतेदेखि १९ गतेसम्म खुला गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज प्रा.लि.ले गर्नेछ । स्टल बुकिङ गर्न इच्छुक कम्पनी तथा संस्थाहरूले आयोजकसँग सम्पर्क गरी आवश्यक जानकारी लिन सक्नेछन् ।

आयोजकका अनुसार अटो शोले अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधि, नयाँ मोडेलका सवारीसाधन तथा सम्बन्धित सेवाहरूको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।  

Share News