म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलङ्गे पुल बन्दै, एक घण्टाको यात्रा ५ मिनेटमा छोटिने

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं-४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको सस्पेन्सन ब्रिज डिभिजन काठमाडौंले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो ।

डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण-सोमरस जेभीले पुलको संरचना निर्माणलाई तीव्रता दिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए । गत असार महिनामा डिभिजन र निर्माण कम्पनीबीच १ करोड ६४ लाख १५ हजार २५४ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । १८ महिनाको ठेक्का अवधि रहेपनि चालु आर्थिक वर्षभित्रनै पुल निर्माण सम्पन्न गरिने निर्माण कम्पनीका प्रतिनिधि प्रविन सापकोटाले बताए ।

काउसीबोट तर्फको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । बाँसबोट तर्फ फाउण्डेशन खनेर जग्गा तयार पारिएको छ । संरचना तयार भएपछि लठ्ठा तान्ने र स्टिल डेग जडान गरिने निर्माण कम्पनीले जनाएको छ । पुल निर्माण भएपछि धवलागिरि गाउँपालिकाको हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम, काफलडाँडाका बासिन्दा लाभान्वित हुने भएका छन् ।

धवलागिरि गाउँपालिका-७ का राजकुमार कोइरालाले पुलले आवतजावतको लागि यात्रा अवधि छोटिनुका साथै पर्यटकीयस्थलको रुपमा विकास हुने अपेक्षा गरिएको बताए । एक घण्टाको यात्रा अवधि ५ मिनेटमा छोटिने उनको भनाइ छ ।

बाँसबोटका किसानले उत्पादन गरेको केरा बजारीकरणमा सहज हुने बताइएको छ । धवलागिरि गाउँपालिकामा यसअघि गत वर्ष २ वटा ३०० मिटर भन्दा लामा झोलुङ्गे पुल निर्माण भएको थियो । धवलागिरि गाउँपालिका-६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा ३६५ मिटर र वडा नं-३ फलियागाँउ र दर जोड्ने दरखोलामाथि ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो ।

हाल म्याग्दीमा ३०० मिटर भन्दा लामा झोलुङ्गे पुलको सङ्ख्या छ वटा रहेको छ । रघुगङ्गा गाउँपालिका-१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५ दशमलब ८० मिटर, मालिका गाउँपालिका-७ बिमवाङ र धवलागिरि गाउँपालिका-६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका-१ रत्नेचौर र बागलुङ नगरपालिका-४ कुडुले जोड्ने ३८८ मिटर र अन्नपूर्ण गाउँपालिका-५ शिख र किन्दु जोड्ने २४४ मिटर लामो पुल निर्माण भइसकेका छन् । 

Share News