कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ ।
स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन हजार ३४९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । आव २०८१/८२ मा यो सङ्ख्यामा सामान्य कमी आए पनि जोखिम भने कायमै रहेको उनले बताए । सो वर्ष तीन हजार ३१६ जनामा सङ्क्रमण देखिएको थियो ।
चालु आर्थिक वर्षको हालसम्म प्रदेशमा एक हजार १८ जना डेङुगुबाट प्रभावित भइसकेका छन् । अधिकृत जोशीले भने, 'अघिल्ला वर्षको तुलनामा डेङ्गुको ग्राफ केही घटेको देखिए पनि सङ्क्रमणको जोखिम भने टरेको छैन । विशेषगरी तराईका जिल्लामा यसको प्रभाव बढी छ ।'
निर्देशनालयका अनुसार प्रदेशका कैलाली र कञ्चनपुर डेङ्गुबाट सबैभन्दा बढी प्रभावित जिल्ला हुन् । पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण पहाडी जिल्लामासमेत डेङ्गुका बिरामी फेला पर्न थालेका अधिकृत जोशीले बताए । उनका अनुसार डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिँदै आएका छन् ।
यसैबीच, नागरिकस्तरबाट घर वरपर पानी जम्न नदिने र व्यक्तिगत सतर्कता अपनाउनमा कमी आउँदा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रण हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । ‘एडिस एजिप्टी’ जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रणका लागि सचेतना मुख्य उपाय भएको अधिकृत जोशीले बताए । निर्देशनालयले ज्वरो आउने, जोर्नी दुख्ने र टाउको दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेको छ ।