एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी कार

काठमाडौं । पोर्चुगलबाट एस मनि ट्रान्सफरमार्फत रकम पठाउने आइएमई लिमिटेडका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जितेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई उक्त विद्युतीय कार हस्तान्तरण गरेका हुन् । अध्यक्ष ढकालले विजेतालाई बधाई दिँदै आइएमईप्रति ग्राहकहरूले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरे । विदेशमा परिश्रम गरेर कमाएको रकम औपचारिक माध्यमबाट स्वदेश पठाउँदा त्यसले परिवार, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको उनले बताए ।

कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशमा श्रम गरेर आर्जन गरेको रकम स्वदेश पठाउनुका साथै सीप र अनुभव समेत हस्तान्तरण गर्दै उद्यमशीलतामा अघि बढ्ने युवाको सङ्ख्या बढ्दै गएको उल्लेख गरे ।

गत कार्तिकदेखि माघसम्म सञ्चालन गरिएको ‘एस मनि ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजनाअन्तर्गत एस मनि ट्रान्सफरमार्फत रकम पठाउने सेवाग्राहीहरूलाई लक्की ड्रमा सहभागी गराइएको थियो । सोही योजनाअन्तर्गत दुई जना सेवाग्राहीले आईफोन १६ ई समेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

आइएमईले विदेशमा आर्जित रकम औपचारिक माध्यमबाट स्वदेश पठाउन प्रोत्साहन गर्ने उद्देश्यले यस्ता विभिन्न योजना तथा साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।  

Share News