काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक यतिबेला अस्वाभाविक छटपटीको भूमरीमा परेको बताएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा बुधबार (आज) सार्वजनिक सन्देश जारी गर्दै उनले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको बताएका हुन् ।
‘देश इतिहासकै सबैभन्दा गहिरो दर्दनाक अवस्थामा आइपुगेको’ पूर्वराजा शाहको भनाइ छ ।
‘सिंगै मुलुक यतिबेला अस्वाभाविक छटपटिको भूमरीमा फसेको छ। देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन् । विगतमा अनेकौं नाम र अवरणमा अनेकौं आन्दोलन र संघर्ष भए । संघर्षको आडमा परिवर्तन पनि गरिए । तर, सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दिए भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ,’उनले भनेका छन् ।
पूर्वराजा शाहले एक नेपालीले अर्को नेपालीलाई शत्रु ठान्ने गलत संस्कृति विकास भएकोतर्फ चिन्ता व्यक्त गरेका छन्।
‘हाम्रो शत्रु विपन्नता र अस्थिरता हो । तर, एउटा नेपालीको बैरी अर्को नेपाललाई ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढावा दिएका छौं । जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो दर्दनाक स्थितिमा आइपुगेको छ,’ सन्देशमा उल्लेख छ ।
पूर्वराजा शाहले आजको मुलुकमा परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्णबिराम लगाउँदै परस्पर सद्भाव र एकताको राजनीति गर्न पनि सबैसँग आग्रहसमेत गरेका छन् ।
उनले राष्ट्रिय सहमति गरेर चुनाव गर्नुपर्नेमा द्वन्द्वलाई यथावत् राखेर चुनावमा जान लागिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।
यस्तै, उनले पूर्वी नेपालबाट राजधानी फर्किंदा आफूप्रति दर्शाइएको स्वागत र सम्मानप्रति आभार व्यक्त गर्दै यसले आफूलाई अटल दायित्वबोध मिलेको बताएका छन्।