काठमाडौं । अमेरिकाका दिग्गज लगानीकर्ता वारेन बफेटको कम्पनी बर्कशायर हाथवेले विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमाजोनमा रहेको आफ्नो ७७ प्रतिशत हिस्सेदारी बेचेको छ । उक्त बिक्री सन् २०२५ को चौथो त्रैमासमा गरिएको हो, जसअन्तर्गत कम्पनीले १.७ अर्ब डलर बराबरका सेयर विक्री गर्यो ।
हालै अमाजोनको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको थियो । यस महिनामात्रै कम्पनीको सेयर लगातार नौ दिन घटेको थियो, जसका कारण यसको बजार पुँजीकरण (मार्केट क्याप) करिब ४१० अर्ब डलरले घटेको थियो । यद्यपि मंगलबार कम्पनीको सेयर १.१९ प्रतिशतले बढेर बन्द भएको थियो ।
बर्कशायर हाथवेले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले अघिल्लो त्रैमासमा एपलमा रहेको ४ प्रतिशत हिस्सेदारी पनि बेचेको छ, जसको मूल्य २.७ अर्ब डलर बराबर रहेको छ ।
साथै मिडिया क्षेत्रमा पुनः प्रवेश गर्दै कम्पनीले न्यूयोर्क टाइम्समा लगानी गरेको जनाएको छ । बफेटले सन् २०२० मा मिडिया क्षेत्रबाट बाहिरिँदै आफ्नो न्यूजपेपर व्यवसाय बेचेका थिए । सन् २०२५ को अन्त्यसम्म बर्कशायर हाथवेका न्यूयोर्क टाइम्सका ५.०७ मिलियन सेयर थिए, जसको कुल मूल्य ३५१.७ मिलियन डलर रहेको थियो ।
बफेटको कम्पनी बर्कशायर हाथवेले मिडिया क्षेत्रमा पुनः प्रवेश गरेपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा यसको व्यापक चर्चा सुरु भएको छ । विदेशी सञ्चारमाध्यमहरूले बर्कशायरको पछिल्लो लगानी निर्णयलाई ‘रणनीतिक पोर्टफोलियो पुनःसन्तुलन’ का रूपमा व्याख्या गरेका छन् ।
विशेषगरी टेक कम्पनीहरूमा केही हिस्सेदारी घटाउँदै कम्पनीले गुणस्तरीय मिडिया व्यवसायतर्फ ध्यान मोडेको संकेत देखिएको विश्लेषण गरिएको छ ।
विदेशी समाचार स्रोतहरूका अनुसार बर्कशायरले न्यूयोर्क टाइम्समा गरेको लगानीलाई दीर्घकालीन मूल्य अवसरसँग जोडिएको छ । डिजिटल सब्स्क्रिप्सन मोडेलको बलियो वृद्धि, स्थिर नगद प्रवाह र ब्रान्ड विश्वसनीयता जस्ता पक्षहरूले मिडिया उद्योगमा पुनः आकर्षण बढाएको तर्क प्रस्तुत गरिएको छ ।
डिसेम्बरको अन्त्यसम्म बर्कशायर हाथवेका प्रमुख होल्डिङ्समा एप्पल (२२.६० प्रतिशत), अमेरिकन एक्सप्रेस (२०.४६ प्रतिशत), बैंक अफ अमेरिका (१०.३८ प्रतिशत), कोकाकोला (१०.२० प्रतिशत) र शेभरोन कर्प (७.२४ प्रतिशत) रहेका छन् । एपलमा कम्पनीको लगानीको कुल मूल्य ६२ अर्ब डलर रहेको छ ।
हालै वारेन बफेटले बर्कशायर हाथवेको कार्यकारी नेतृत्व छोडेका छन् । उनको स्थानमा जनवरी १ देखि ग्रेग एबललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ । यद्यपि बफेट कम्पनीका अध्यक्ष (चेयरम्यान) का रूपमा भने यथावत् रहेका छन् ।