काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १४ गतेदेखि सुरु भई वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ।
पहिलो दिन वैशाख १४ गते अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा तथा उर्दू व्याकरण र साहित्य विषयको परीक्षा हुनेछ । वैशाख १५ गते अनिवार्य नेपाली र प्राविधिक धारतर्फको सोसल स्टडिज विषयको परीक्षा तोकिएको छ ।

उक्त परीक्षा तालिका कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धार अन्तर्गतका नियमित र आंशिक परीक्षार्थीका लागि लागू हुनेछ । परीक्षामा रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका परीक्षार्थीहरू सहभागी हुन पाउने बोर्डले जनाएको छ ।