बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब

काठमाडौं । बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ । हालै सार्वजनिक गरिएको तीन महिनाको श्रम बजारसम्बन्धी विवरण अनुसार बेरोजगारी दर ५.२ प्रतिशत पुगेको छ । 

यस अवधिमा करिब १८ लाख ८३ हजार मानिस रोजगारी विहीन रहेका छन् । उक्त तथ्याङ्क ‘अफिस फर नेशनल स्ट्याटिस्टिक्स’ ले सार्वजनिक गरेको हो । यसै अवधिमा रोजगार दर ७५ प्रतिशत कायम रहेको छ भने करिब २०.८ प्रतिशत जनसङ्ख्या आर्थिक रूपमा निष्क्रिय रहेको देखिएको छ, जसमा विद्यार्थी, दीर्घ रोगी तथा काम खोज्न निरुत्साहित भएका व्यक्तिहरू समावेश छन् ।

विज्ञहरूका अनुसार बढ्दो जीवनयापन खर्च, आर्थिक वृद्धिमा सुस्तता तथा निजी क्षेत्रको भर्ती प्रक्रियामा कमी आउनु बेरोजगारी वृद्धि हुनुका मुख्य कारण हुन् । श्रम बजारमा देखिएको सुस्तताप्रति बैंक अफ इङ्ग्ल्यान्डले पनि चिन्ता व्यक्त गरेको छ ।

केन्द्रीय बैंकले आगामी महिनाहरूमा रोजगार सिर्जना दर कमजोर रहन सक्ने सङ्केत गर्दै बेरोजगारी अझ बढ्न सक्ने चेतावनी दिएको छ । यस अवस्थाले देशको समग्र अर्थतन्त्र, उपभोग क्षमता र कर संकलनमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।

Share News