कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेबाट हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि हुने जनाएको छ । बोर्डले मंगलबार सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार परीक्षा वैशाख १४ गतेबाट सुरु भई २७ गते सम्पन्न हुनेछ ।

साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक विद्यार्थीहरूले तोकिएको परीक्षा केन्द्रमा गएर परीक्षा दिन सक्नेछन् । 

यस वर्ष कक्षा १२ मा नियमिततर्फ तीन लाख ६० हजार विद्यार्थी छन् भने आंशिकको संख्या यकिन भइसकेको छैन । गत वर्ष कक्षा १२ मा नियमिततर्फ तीन लाख ९६ हजार तीन सय ४७ र आंशिकतर्फ एक लाख १४ हजार छ सय ४० विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

बोर्डले सार्वजनिक गरेको कार्यक्रमअनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था गरिने छैन । कुनै आकस्मिक बिदा परेमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचनाविना परीक्षा स्थगित नगरिने बोर्डले जनाएको छ ।

परीक्षा दिने विद्यार्थीले परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि नै परीक्षा केन्द्रमा पुगिसक्नुपर्नेछ । १५ मिनेटपछि उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइनेसमेत बोर्डको सूचनामा उल्लेख गरिएको छ ।

Share News