काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । 'एकै योजना, बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच !' नाराका साथ ल्याइएको यो योजना महिलाको जीवन, स्वास्थ्य, बचत तथा आर्थिक सुरक्षामा केन्द्रित रहेको छ ।
यस योजनाअन्तर्गत बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कको आधारमा नगद सुविधा प्रदान गरिनेछ । साथै, मृत्यु लाभ प्रत्येक पाँच वर्षमा २५ प्रतिशतले वृद्धि हुने व्यवस्था गरिएको छ । नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार तथा गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा समेत समावेश गरिएको कम्पनीले जनाएको छ ।
नारीको सुरक्षा, आत्मनिर्भरता र दीर्घकालीन आर्थिक सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको यस योजनाले नियमित आम्दानी, बचत र आर्थिक सुरक्षालाई एकैसाथ सुनिश्चित गर्ने लक्ष्य लिएको छ । समानता र सम्मानपूर्वक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यसहित यो योजना सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।
मातृत्व जीवनको संवेदनशील र महत्वपूर्ण चरण भएकाले त्यसलाई ध्यानमा राख्दै गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा ल्याइएको हो । यसअन्तर्गत, गर्भावस्थाका क्रममा सूचीकृत ११ प्रकारका गम्भीर जटिलतामध्ये कुनै एक पुष्टि भएमा बीमित महिलालाई एकमुष्ट एक लाख रुपैयाँ प्रदान गरिनेछ ।
त्यसैगरी, गर्भावस्था स्याहार पूरक करार अन्तर्गत बीमा अवधिभित्र गर्भवती भएको प्रमाणित भएमा स्वास्थ्य सेवाका लागि एक पटकका लागि १० हजार रुपैयाँ उपलब्ध गराइनेछ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) यस योजनाको न्यूनतम बीमाङ्क रकम २ लाख ५० हजार रुपैयाँ तोकिएको छ भने अधिकतम रकम आम्दानीको आधारमा निर्धारण गरिनेछ । बीमितको प्रवेश उमेर १८ देखि ६५ वर्षसम्म रहने व्यवस्था छ ।
यस योजनासँगै दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता सुविधा तथा बीमाशुल्क छुट सुविधा जस्ता विभिन्न ऐच्छिक पूरक करारहरू पनि लिन सकिने कम्पनीले जनाएको छ ।
नेपाल लाइफको यो नयाँ योजनाले नारीको जीवन, स्वास्थ्य र आर्थिक भविष्यलाई सुरक्षित गर्दै सुनिश्चित भविष्यतर्फ अग्रसर गराउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।