अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भयाे श्री एयरलाइन्सको जहाज

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भएको छ ।

गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौं फर्कँदा यात्रु अलपत्र परेका छन् । सो जहाजमा रहेका यात्रुसमेत रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौं फर्कँदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएको बताए । 

एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए ।

उक्त जहाज धनगढीका लागि काठमाडौंबाट ९:४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दा समेत सम्भव नभएपछि राति १२ बजे जहाज काठमाडौं फिर्ता भएको थियो । उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए । 

Share News