होटल फरेष्ट इनको आईपीओ बाँडफाँड सम्पन्न, ३ लाख ३२ हजारलाई १०–१० कित्ता

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् रु. ४० करोड बराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गरिएको थियो ।

कुल निष्काशनमध्ये ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २ लाख कित्ता सामूहिक लगानी कोषका लागि तथा ८० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो । 

उक्त सुरक्षित वर्गको बाँडफाँडपश्चात् बाँकी रु. ३३ करोड २० लाख बराबरका ३३ लाख २० हजार कित्ता सेयर मिति २०८२ माघ २२ गतेदेखि छिटोमा २०८२ माघ २६ गते र ढिलोमा २०८२ फागुन ८ गतेसम्म खुला गरिएकोमा मागभन्दा बढी आवेदन परेपछि २०८२ माघ २६ गतेमै निष्काशन बन्द गरिएको थियो ।

आईपीओ अवधिमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत २६ लाख ६० हजार ४५२ जना आवेदकबाट २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता सेयरका लागि आवेदन परेको थियो । तीमध्ये विभिन्न कारणले २ लाख ५५ हजार ९७५ जना आवेदकका ३८ लाख २१ हजार ५०० कित्ता बराबरका आवेदन रद्द गरिएका थिए । रद्दपश्चात २४ लाख ४ हजार ४७७ जना आवेदकबाट २ करोड ६१ लाख ५७ हजार ३६० कित्ता बराबरको आवेदन अन्तिम रूपमा स्वीकृत भएको प्रबन्धकले जनाएको छ।

निष्काशन तथा बिक्री प्रबन्धकले आवेदन रुजु गर्दा ३ हजार २९३ जना आवेदकबाट ३६ हजार २५० कित्ता बराबरका दोहोरो आवेदन रद्द गरेको जनाएको छ । 

त्यस्तै, २९ हजार ३६० जना आवेदकका ३ लाख ६६ हजार ६२० कित्ता बराबरका आवेदन, वैदेशिक रोजगारी कोटामा आवेदन दिएका तथा ५०९ जना संस्थापक सेयरधनीका ८ हजार ७९० कित्ता बराबरका आवेदन समेत गरी कुल ३३ हजार १६२ जना आवेदकका ४ लाख ११ हजार ६६० कित्ता बराबरका आवेदन रितपूर्वक नभएको भन्दै रद्द गरिएको थियो ।

बाँकी रहेका २३ लाख ७१ हजार ३१५ जना आवेदकबाट प्राप्त २ करोड ५७ लाख ४५ हजार ७०० कित्ता बराबरका आवेदनमध्ये गोलाप्रथामार्फत ३ लाख ३२ हजार सफल आवेदक छनोट गरी प्रत्येकलाई १०–१० कित्ताका दरले कुल ३३ लाख २० हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । 

बाँडफाँड कार्यक्रम निष्काशन तथा बिक्री प्रबन्धक, कम्पनी, नियमनकारी निकायका प्रतिनिधि तथा सर्वसाधारण लगानीकर्ताको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ ।

Share News