पुणे, भारत । भारतको पुणे जिल्लाको काष्टी, दौंड गाउँमा स्थापित एक सहकारी संस्था अहिले सफल व्यापारिक मोडलका रूपमा स्थापित भएको छ । सन् १९२६ मा स्थापना भएको सहकार महर्षि काष्टी विविध कार्यकारी सेवा सहकारी संस्था लिमिटेडले ९७ वर्षको लामो यात्रा पार गर्दै समुदायको आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
१ हजार ३ सय सदस्य आवद्ध रहेको यो सहकारीले सदस्यबाट बचत संकलन नगरिकनै प्रभावकारी व्यापार र सेवा विस्तार गरेर उदाहरणीय सफलता हासिल गरेको छ । सहकारीले सदस्यलाई बचत अनिवार्य नगरी सेयर खरिदमार्फत सदस्यको सहभागिता बढाइरहेको छ । यस सहकारीमा सदस्यहरूले १०० देखि २० हजार भारतीय रुपैयाँसम्ममा सेयर खरिद गर्न सक्छन् । प्रतिकित्ता सेयर मूल्य ९ सय रुपैयाँ तोकिएको छ, जसमा ८ सय रुपैयाँ जगेडा कोषमा राखिन्छ ।
यो सहकारीको सबैभन्दा उल्लेखनीय पक्ष यसको बहुउद्देश्यीय व्यापारिक संरचना हो । सहकारीले हाल १३ वटा विभाग सञ्चालन गर्दै आएको छ । तीमध्ये मल तथा कृषि सामग्री, कृषि मेसिनरी, उपभोक्ता पसल, साडी विभाग, रेडिमेड कपडा, घरायसी उपकरण, मेडिकल, किटनाशक तथा बीउ वितरण प्रमुख छन् । यसबाहेक सहकारीले स्थानीय उत्पादन र उपभोगलाई प्रोत्साहन गर्न विभिन्न डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको छ, जहाँ ५० जना कर्मचारी कार्यरत छन् ।
सहकारीले स्थानीय खाद्य उद्योग कटुवाल फुड्ससँग सहकार्य गरी मिठाई, चिसो पेय र मिनरल वाटरको बिक्री वितरण पनि गर्दै आएको छ । यसले सहकारीलाई अतिरिक्त आम्दानीको स्रोत सिर्जना गरेको छ । सहकारीले आफ्ना सदस्य किसानलाई विशेष गरी उखु उत्पादनका लागि प्रति सिजन ७० हजार भारतीय रुपैयाँसम्म ऋण उपलब्ध गराउँदै आएको छ । यसले किसानको उत्पादन क्षमता र आम्दानी दुवै बढाउन सहयोग पुर्याएको छ ।

वित्तीय रूपमा पनि यो सहकारी निकै सुदृढ देखिएको छ । हाल सहकारीको कुल सेयर पूँजी १ करोड २० लाख रुपैयाँ रहेको छ भने वार्षिक कारोबार ७० करोड रुपैयाँ पुगेको छ । सहकारीले विभिन्न विभागको लेखापरीक्षण अलग–अलग रूपमा गर्ने र अन्तिममा समग्र वित्तीय विवरण तयार गर्ने पारदर्शी प्रणाली अपनाएको छ ।
सहकारीले सदस्यलाई नियमित रूपमा आकर्षक लाभांश वितरण गर्दै आएको संस्थाका अध्यक्ष राकेश पाचपुटेले बताए । उनका अनुसार सहकारीले हालसम्म अधिकतम वार्षिक ५० प्रतिशतसम्म लाभांश वितरण गरेको छ भने गत आर्थिक वर्षमा ११ प्रतिशत लाभांश वितरण गरिएको थियो ।
यस सहकारीले उत्कृष्ट कार्यसम्पादनका लागि राष्ट्रिय तथा क्षेत्रीय स्तरमा सम्मान पनि प्राप्त गरेको उनले जानकारी दिए । विशेष गरी भारतीय सरकारी संस्था राष्ट्रिय सहकारी विकास निगमले सन् २००७ र २०१० मा ‘उत्कृष्ट सहकारी’ अवार्ड यस सहकारीलाई प्रदान गरेको जानकारी अध्यक्ष बाजपुटेले जानकारी दिए ।
सहकारीका अध्यक्ष बाजपुटेका अनुसार सहकारीले काष्टी गाउँको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । ‘हामीले व्यक्तिगत स्वार्थभन्दा समुदाय र सदस्यको हितलाई प्राथमिकता दिएका छौं । यसले गाउँमा वित्तीय साक्षरता बढाएको छ र किसानलाई आत्मनिर्भर बनाएको छ,’ उनले भने ।
उनका अनुसार सहकारीको सञ्चालक समितिले पूर्ण रूपमा स्वयंसेवीको रूपमा काम गर्दै आएको छ, जसले प्रशासनिक खर्च कम गरी नाफा सदस्यमै वितरण गर्न सम्भव भएको छ ।

भारतमा सहकारीहरू व्यापारिक रूपमा पनि सफल हुन सक्ने उदाहरणका रूपमा यो सहकारीलाई लिइन्छ । पारदर्शी व्यवस्थापन, समुदायमा आधारित व्यापार र सदस्य केन्द्रित सेवा यसको सफलताका प्रमुख आधार भएको उनले बताए ।
नेपालमा पनि केही सहकारीहरूले व्यापारिक क्षेत्रमा प्रवेश गरेका थिए । शिवशिखर सहकारीले देशका विभिन्न स्थानमा मार्ट सेवा सञ्चालन गरेको थियो । तर, पारदर्शिताको अभाव र आर्थिक अनियमितताका कारण उक्त सहकारीको व्यवसाय असफल भयो ।
यसको विपरीत काष्टीको यो सहकारीले पारदर्शी लेखा प्रणाली, सदस्यको विश्वास र प्रभावकारी व्यवस्थापनमार्फत सहकारी मोडललाई सफल व्यवसायमा रूपान्तरण गरेको छ । स्थानीयवासीका अनुसार सहकारीले गाउँको आर्थिक गतिविधि बढाउनुका साथै रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि र उपभोक्तालाई सहज सेवा उपलब्ध गराएको छ ।
९७ वर्षको इतिहास बोकेको यो सहकारी संस्था केवल बचत र ऋणमा सीमित नभई सफल व्यापारिक संस्थाका रूपमा पनि स्थापित हुन सक्छ भन्ने सशक्त उदाहरण बनेको छ ।
भारतमा सहकारी : प्राथमिकतामा सदस्य
भारतमा कृषि सहकारीको मोडल वित्तीय संस्था मात्र होइन, ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा विकसित भएको छ । विशेषगरी महाराष्ट्र, केरला, गुजरात, कर्नाटक र उत्तर प्रदेश जस्ता राज्यहरूमा सहकारीहरूले कृषि उत्पादन, बजार पहुँच, वित्तीय सेवा र स्थानीय रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
काष्टी, दौंडको सहकार महर्षि काष्टी विविध कार्यकारी सेवा सहकारी संस्था लिमिटेड पनि यही सफल मोडलको एक प्रतिनिधि संस्था हो । भारतमा कृषि सहकारीको मोडल बहुउद्देश्यीय प्रणालीमा आधारित छ । सहकारीले किसानलाई ऋण दिने मात्र नभई उत्पादनका सम्पूर्ण चरणमा सहयोग गर्ने गरेको अध्यक्ष बाजपुटेले बताए ।
सहकारीहरुले किसानलाई मल, बीउ, कीटनाशकदेखि कृषि उपकरण उपलब्ध गराउने, उत्पादन खरिद गर्ने र बजारसम्म पुर्याउने काम सहकारीले नै गरेको गरेको उनले सुनाए ।
विशेषगरी राष्ट्रिय सहकारी विकास निगम (एनसीडीसी) जस्ता सरहकारी संस्थाले सहकारीलाई वित्तीय सहयोग, प्राविधिक सहयोग र पूर्वाधार निर्माणमा सहजीकरण गर्दै आएका छन् । यसले सहकारीलाई निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाएको अध्यक्ष बाजुपाटेले बताए ।
भारतमा धेरै कृषि सहकारीहरूले उखु, दुग्ध, अन्न र तरकारी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । महाराष्ट्रका उखु सहकारीहरूले किसानको उत्पादन सिधै प्रशोधन उद्योगसँग जोड्ने काम गरेका छन् । यसले किसानलाई उचित मूल्य र स्थिर आम्दानी सुनिश्चित गरेको छ ।
भारत सरकारले सहकारी क्षेत्रलाई कृषि विकासको प्रमुख क्षेत्रका रूपमा लिएको छ । सरकारले सहकारीलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउँछ । सहकारीले किसानलाई सहज ऋण, सस्तो मल र बीउ उपलब्ध गराउँदै उत्पादन लागत घटाएर आम्दानी बढाउन सहयोग गरेको छ ।

भारतमा सहकारी सफल हुनुको मुख्य कारण पारदर्शी व्यवस्थापन, सरकारी सहयोग र समुदायको सक्रिय सहभागिता हो । सहकारीका सञ्चालकहरू स्वयंसेवी रूपमा काम गर्ने, नियमित लेखापरीक्षण हुने र सदस्यलाई लाभांश वितरण गर्ने प्रणालीले विश्वास कायम गरेको देखिन्छ ।
सहकारीले बचत तथा ऋण दिने काम मात्र नभई सफल व्यापारिक संस्था पनि सहकारी बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । यही कारणले पनि भारतको सहकारी मोडल अहिले विश्वभर अध्ययनको विषय बनेको छ र नेपालजस्ता देशका लागि पनि अनुकरणीय उदाहरणका रूपमा स्थापित भएको छ ।