काठमाडौं । नयाँ प्रतिवेदनअनुसार सन् २०२५ मा शंकास्पद मानव बेचबिखन गिरोहहरूलाई गरिएको क्रिप्टोकरेन्सी भुक्तानी ८५ प्रतिशतले बढेको छ र सार्वजनिक ब्लकचेनहरूमा सयौं मिलियन डलर बराबरका कारोबारहरू ट्रेस गरिएको छ । यो प्रतिवेदन अमेरिकी ब्लकचेन विश्लेषण कम्पनी चेनएनालाइसिसले सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार अधिकांश गतिविधि दक्षिणपूर्वी एसियामा विस्तार हुँदै गएको आपराधिक इकोसिस्टमसँग जोडिएको थियो, जहाँ स्क्याम कम्पाउन्ड, अवैध अनलाइन जुवा सञ्चालन र चिनियाँ भाषाका मनी लन्डरिङ सञ्जालहरू मिलेर काम गर्छन् ।
क्रिप्टो ट्र्याकरका अनुसार मानव बेचबिखनकर्ताको क्रिप्टो गतिविधि मुख्यतः तीन वर्गमा पर्छन्स् अन्तर्राष्ट्रिय एस्कर्ट तथा वेश्यावृत्ति सेवा, श्रम प्लेसमेन्ट एजेन्ट र स्क्याम कम्पाउन्ड तथा बाल यौन दुव्र्यवहार सामग्री विक्रेता ।
ब्लकचेन डाटाले देखाएअनुसार अधिकांश सेवा दक्षिणपूर्वी एसियामा केन्द्रित भए पनि ग्राहकहरूले उत्तर तथा दक्षिण अमेरिका, युरोप र अस्ट्रेलियाबाट भुक्तानी पठाएका थिए, जसले यी सञ्जालहरूको विश्वव्यापी पहुँच देखाउँछ ।
चेनएनालाइसिसले साइबर अपराधीहरू आफ्नो सेवा प्रचार गर्न, पीडित भर्ती गर्न र भुक्तानी समन्वय गर्न टेलिग्रामजस्ता प्लेटफर्ममा बढ्दो निर्भर रहेको पनि फेला पारेको छ ।
‘पुराना डार्कनेट फोरमबाट एप र अर्धखुला टेलिग्राम इकोसिस्टममा व्यापक सरुवा भइरहेको छ, जसले क्रिप्टोसँग मिलेर यी सञ्जाललाई छिटो विस्तार गर्न, ‘कस्टमर सर्भिस’ चलाउन र विश्वव्यापी रूपमा सजिलै पैसा सार्न सक्षम बनाएको छ,’ टम म्याकलुथले भने ।
‘मुख्य निष्कर्ष के हो भने वास्तविक आर्थिक परिमाण कम्तीमा सयौं मिलियन अमेरिकी डलर बराबरको क्रिप्टो कारोबार हो र भौतिक क्षति कुनै पनि डलर रकमभन्दा धेरै गुणा ठूलो छ,’ म्याकलुथले थपे ।
ब्लकचेन गतिविधिले धेरै कारोबारहरू पछाडि उच्च संगठित सञ्जाल रहेको देखाउँछ ।
केही एस्कर्ट सेवा र सेक्सवर्क कानुनी रूपमा सञ्चालन भए पनि प्रतिवेदनले सम्भावित बेचबिखन गतिविधि विशिष्ट वित्तीय व्यवहारबाट पहिचान गर्न सकिने बताएको छ ।
विशेषगरी शंकास्पद सञ्जालहरूले स्टेबलकोइन र चिनियाँ भाषाका मनी लन्डरिङ समूहको प्रयोग गरी छिटो नगदमा रूपान्तरण गर्ने गरेको उल्लेख गरिएको छ ।
यी लन्डरिङ सञ्जालहरू मुख्यतः चिनियाँ भाषाका टेलिग्राम च्यानलमार्फत सञ्चालन हुन्छन् र अवैध रकमलाई क्रिप्टोमार्फत सारेर ‘सफा’ बनाउने काम गर्छन् । सन् २०२५ मा यस्ता अवैध क्रिप्टो प्रवाह करिब १६.१ अर्ब डलर पुगेको अनुमान गरिएको छ ।
डाटाअनुसार क्रिप्टोसँग सम्बन्धित अन्तर्राष्ट्रिय एस्कर्ट सेवाहरूले उच्च मूल्यका ट्रान्सफरमा उल्लेखनीय हिस्सा ओगटेका छन्, जसमा झन्डै आधा कारोबार १० हजार डलरभन्दा बढीका थिए ।
अनुसन्धानकर्ताले समीक्षा गरेका सूचीहरूमा सीमापार यात्रा प्याकेज, साथसंगत सेवा र तहगत मूल्य संरचना उल्लेख गरिएको थियो, जसमा भीआइपी प्याकेजको मूल्य ३० हजार डलरभन्दा माथि थियो ।
चेनएनालाइसिसले कारोबारको आकार, निरन्तरता र वालेट क्लस्टरहरूबीच दोहोरिने भुक्तानी ढाँचाले व्यक्तिगत होइन, व्यावसायिक रूपमा संगठित सञ्चालन भएको संकेत गर्ने बताएको छ ।
शंकास्पद वेश्यावृत्ति सञ्जालतर्फ गरिएका क्रिप्टो भुक्तानीहरू एस्कर्ट सेवाभन्दा साना रकमका थिए, प्रायः १ हजारदेखि १० हजार डलरसम्म । तर डाटा अनुसार यी पनि संगठित समूहसँग मिल्दोजुल्दो देखिन्छन् ।
अर्को प्रमुख श्रेणी ‘श्रम प्लेसमेन्ट एजेन्ट’ हरू थिए, जसले व्यक्तिहरूलाई प्रायः दक्षिणपूर्वी एसियाका स्क्याम कम्पाउन्डमा भर्ती गर्छन्, जहाँ क्रिप्टो–आधारित ठगी योजना सञ्चालन हुन्छ ।
भर्ती शुल्क प्रायः १ हजारदेखि १० हजार डलरसम्मको क्रिप्टोकरेन्सी हुने र टेलिग्राम च्यानलमा देखाइएका मूल्यसँग मेल खाने प्रतिवेदनमा उल्लेख छ ।
उदाहरणस्वरूप कम्बोडिया वा म्यानमारमा ‘कस्टमर सर्भिस’ वा ‘डाटा एन्ट्री’ कामका लागि उच्च मासिक तलब र यात्रा खर्च बेहोर्ने वाचा गरिएका विज्ञापनहरू भेटिएका थिए ।
भर्ती भएपछि पीडितहरूलाई रोमान्स स्क्याम, नक्कली क्रिप्टो लगानी योजना र विदेशमा रहेका व्यक्तिलाई लक्षित अन्य अनलाइन ठगी गर्न बाध्य पारिएको आरोप छ ।
केही टेलिग्राम संवादमा भर्तीकर्ताहरूले कामदारलाई सीमापार लैजाने, नक्कली कागजात मिलाउने र बिचौलियालाई भुक्तानी समन्वय गर्नेबारे छलफल गरेको चेनएनालाइसिसले जनाएको छ ।
कम्पनीले भर्ती च्यानलहरू र पहिले अवैध जुवा प्लेटफर्म तथा मनी लन्डरिङ सेवासँग जोडिएका वालेटहरूबीच सम्बन्ध पनि पहिचान गरेको छ, जसले बेचबिखन गतिविधि अन्य आपराधिक उद्यमसँग गाँसिएको संकेत गर्छ ।
गत वर्ष अमेरिकाको न्याय विभागले कम्बोडियाको ठूलो स्क्याम केन्द्रबाट १५ अर्ब डलर बराबरको बिटक्वाइन जफत गरेको थियो, जसले यस्ता कम्पाउन्डको व्यापकता उजागर गरेको थियो ।
‘सन् २०२५ को अन्त्यदेखि यस इकोसिस्टमका केही भाग, विशेषगरी स्क्याम कम्पाउन्डविरुद्ध कडाइ बढेको छ तर यौन शोषण र बेचबिखन सञ्जालहरू वैकल्पिक भौतिक र डिजिटल पूर्वाधारमार्फत सञ्चालन जारी राख्न सक्छन्,’ म्याकलुथले भने ।
चेनएनालाइसिसले बाल यौन दुव्र्यवहार सामग्री सञ्जालहरू पनि ट्र्याक गरेको छ, जसमा फरक भुक्तानी संरचना भए पनि संगठित वित्तीय ढाँचा देखिएको छ ।
सीएसएएमसम्बन्धी करिब आधा क्रिप्टो कारोबार १०० डलरभन्दा कमका थिए, जसले निजी च्याट समूह वा इन्क्रिप्टेड फाइल–सेयरिङ च्यानलमा सदस्यता–आधारित मोडल संकेत गर्छ ।
कम्पनीले यस्ता रकम मुख्यधाराका क्रिप्टोकरेन्सीबाट गोपनीयतामा केन्द्रित सम्पत्ति जस्तै मोनेरो र पहिचान प्रमाणीकरण नचाहिने तुरुन्तै साटफेर सेवातर्फ सारिएको पनि देखेको छ ।
सन् २०२५ जुलाईमा चेनएनालाइसिसले बेलायतको कानुन कार्यान्वयन निकायको सूचनापछि डार्क वेबमा सञ्चालन भइरहेको सबैभन्दा ठूलो सीएसएएम वेबसाइटमध्ये एक पहिचान गर्न सहयोग गरेको जनाएको छ ।
उक्त एक मात्र सञ्चालनमा ५ हजार ८०० भन्दा बढी क्रिप्टोकरेन्सी ठेगाना प्रयोग गरिएको थियो र जुलाई २०२२ यता ५ लाख ३० हजार ००० डलरभन्दा बढी आम्दानी गरेको थियो।
‘सामान्य रूपमा हेर्दा क्रिप्टोको प्रयोग बढ्दै जाँदा अवैध र वैध दुवै प्रयोजनका लागि यसको प्रयोग बढ्नेछ,’ म्याकलुथले भने, ‘निकट भविष्यमै बेचबिखनसँग जोडिएको गतिविधिमा क्रिप्टोको प्रयोग हराउने अपेक्षा छैनस बरु कानुनी कडाइ बढे पनि यसको प्रयोग बढ्दै जाने सम्भावना छ।’