काठमाडौं । जयश्री फुड्स प्रालिले सन् २०२५ मा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १.७६ प्रतिशत अर्थात् करिब ७ करोड रुपैयाँले घटेको हो । सन् २०२४ मा कम्पनीले ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।
भान्साघर र मंगलम ब्रान्डका चामल उत्पादन तथा बिक्री गर्दै आएको कम्पनीले नवलपरासीको गैँडाकोटस्थित उद्योगमार्फत धान प्रशोधन गरी चामल, चिउरा तथा सोया नगेट्स उत्पादन गर्दै आएको छ । कम्पनीले लामो दाना, जिरा र सावा चामलसहित विभिन्न प्रकारका चामल स्वदेशी बजारमा उपलब्ध गराउँदै आएको छ । भान्साघर र मंगलम ब्रान्डले बजारमा राम्रो पहिचान बनाइसकेका छन् ।
कम्पनीका अनुसार उत्पादन क्षमता उपयोग, ब्रान्ड पहिचान सुदृढीकरण र बजार विस्तारमा निरन्तर ध्यान दिइएकाले पछिल्ला वर्षहरूमा कारोबार स्थिर रूपमा अघि बढिरहेको छ । आगामी दिनमा मूल्य अभिवृद्धि हुने नयाँ उत्पादन र बजार विविधीकरणमार्फत व्यवसाय विस्तार गर्ने रणनीतिमा कम्पनी रहेको जनाएको छ ।
सञ्चालन आम्दानीको इतिहास हेर्दा कम्पनीले सन् २०२३ मा ३ अर्ब ५८ करोड ८० लाख, सन् २०२२ मा २ अर्ब ९८ करोड ९० लाख, सन् २०२१ मा २ अर्ब ८२ करोड ५० लाख, सन् २०२० मा २ अर्ब ६४ करोड ८० लाख, सन् २०१९ मा २ अर्ब २४ करोड ४० लाख, सन् २०१८ मा १ अर्ब ९१ करोड ३० लाख र सन् २०१७ मा १ अर्ब ३२ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
सन् २००९ मा स्थापना भएको जयश्री फुड्सले डेढ दशकभन्दा बढी समयदेखि नेपालमा चामल प्रशोधन व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनी दुई सदस्यीय सञ्चालक समितिको निर्देशनमा सञ्चालन हुँदै आएको छ । प्रबन्ध निर्देशक पवन कुमार अग्रवालसँग विभिन्न व्यवसाय तथा उद्योग क्षेत्रमा ३८ वर्षभन्दा बढीको अनुभव रहेको छ । उनी श्यामबाबा इन्टरप्राइजेज, जयश्री ट्रेड एण्ड ट्रान्सपोर्ट प्रालि, जयश्री सप्लायर्स प्रालि, जयश्री एग्रो इन्डस्ट्रिज प्रालि, जयश्री प्रोसेसिङ एण्ड प्रोडक्ट्स प्रालि तथा जयश्री सेक्युरिटिज प्रालिमा अध्यक्ष वा सञ्चालकको जिम्मेवारीमा रहेका छन् । यसैगरी, सञ्चालक सुमन अग्रवाल पनि जयश्री ट्रेड एण्ड ट्रान्सपोर्ट प्रालि र जयश्री एग्रो इन्डस्ट्रिज प्रालिमा सञ्चालकको रूपमा आबद्ध छिन् ।
कम्पनीले नेपालभर आफ्ना उत्पादन वितरण गर्दै आएको छ । देशका प्रमुख शहरहरूमा फैलिएका ६ सयभन्दा बढी साना तथा ठूला खुद्रा व्यवसायीहरू कम्पनीका ग्राहक रहेका छन् । बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तराई क्षेत्र केन्द्रित नेपालगञ्ज, भैरहवा, गैँडाकोट, वीरगञ्ज र विराटनगरमा कार्यालय तथा भण्डारण गोदाम सञ्चालनमा छन् । यसले कच्चा पदार्थको सहज आपूर्ति र अनुकूल मूल्यमा खरिद गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ ।
कम्पनीले १ केजीदेखि ३० केजीसम्मका विभिन्न प्याकेजिङमा उत्पादन बिक्री गर्दै आएको छ । भारत–नेपाल सीमासँग नजिकै प्रशोधन इकाइ रहेकाले कच्चा पदार्थ आयात गर्दा ढुवानी लागत कम हुने भौगोलिक लाभ पनि कम्पनीले लिँदै आएको छ । यी सबै पक्षले कम्पनीको लागत नियन्त्रण, सञ्चालन क्षमता र बजार प्रतिस्पर्धात्मकता थप मजबुत बनाएको देखिन्छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब रुपैयाँ ऋण लिएको जनाएको छ । यसमध्ये १५ करोड ७० लाख रुपैयाँ दीर्घकालीन कर्जा र ८४ करोड ३० लाख रुपैयाँ अल्पकालीन कर्जाका रूपमा रहेको छ ।