काठमाडौं । पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयोग गर्न थालेको छ । जुट अनुसन्धान केन्द्र इटहरीले अघिल्लो वर्ष मोरङमा उपकरण प्रयोग गरेर यसको सुरुआत गरेकोमा यसपटक सुनसरीको देवानगञ्जमा उपकरण प्रयोग गरिएको हो ।
जुट धुने मानिसको अभाव हुँदा उपकरण किसानलाई प्रोत्साहन गर्नकै लागि प्रदर्शनमा राखेर आवश्यक ज्ञान दिई बोक्रा छोडाउने प्रयोग गरिएको केन्द्रका प्रमुख सन्तोषराज त्रिपाठीले जानकारी दिए । उनले भने, ‘अब उत्पादन बढाउनका लागि धेरै क्षेत्रफलमा लगाउन ठूला किसानलाई प्रोत्साहन गर्नुपर्ने हुँदा उपकरण प्रयोग गरेर सहज बनाउन थालिएको छ । भारत र बङ्गलादेशमा पनि उपकरणकै प्रयोग गर्ने गरिएको छ ।’
अनुसन्धान केन्द्रका अनुसार पूर्वको तराईका जिल्लामा ७ हजार हेक्टरमा जुट खेती लगाउँदा १० हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । कृषि विकास मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रको बुलेटिनमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७ हजार २२० हेक्टर क्षेत्रफलमा जुट लगाउँदा १० हजार २२० मेट्रिक टन जुट उत्पादन भएको छ ।
पूर्वका जिल्लामध्ये सबैभन्दा बढी सुनसरी र मोरङमै जुट खेती हुने गर्छ । यी बाहेक झापा, सिरहा, सप्तरी र उदयपुरमा पनि जुट खेती हुने गर्छ । अहिले नेपालमा उत्पादन भएको जुटले यहाँका उद्योगका लागि १० देखि १५ प्रतिशतसम्म धान्ने गर्छ । बाँकी ८५ देखि ९० प्रतिशत उद्योगका लागि चाहिने कच्चा पदार्थ भारत र बङ्गलादेशबाट ल्याउने गरिन्छ । देशभर सञ्चालित ११ उद्योगमध्ये अहिले ६ बन्द छन् ।