काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ७ वटा होटल कम्पनीमध्ये ५ कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा नोक्सानी बेहोरेका छन् । बन्दीपुर केबलकार, ओरियण्टल, चन्द्रागिरि हिल्स, सिटि होटल र तारागाउँ रिजेन्सीले अप्रत्याशित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरू, राजनीतिक अस्थिरता र आन्दोलनका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेको प्रभावमा नोक्सानी भोग्नु परेको जनाएको छ ।
सूचीकृत कम्पनीहरूले देशमा पर्यटकीय पूर्वाधारको कम विकास, सुस्त निर्माण, सार्वजनिक यातायातको अभाव र अन्तर्राष्ट्रिय हवाई सिट सीमितताले व्यवसायमा नकारात्मक असर परेको बताएका छन्। साथै, विदेशी विनिमय दरको उतार–चढाव र ऊर्जा तथा इन्धन मूल्य वृद्धिले पनि होटल तथा पर्यटन व्यवसायलाई चुनौती दिइरहेको उल्लेख गरिएको छ । यद्यपि, समीक्षा अवधिमा सोल्टी होटल र कालिन्चोक दर्शन कम्पनी भने नाफामा रहेका छन् ।
चन्द्रागिरि हिल्सको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ४ करोड ७० लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६४ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४१.०७ प्रतिशत घटेर २४ करोड ८९ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड २५ लाख ३७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको अन्य आम्दानी ७४६ प्रतिशत बढेर २ करोड ६ लाख ८३ हजार रुपैयाँ र कुल आम्दानी ४२.७३ प्रतिशत घटेर २१ करोड १ लाख ६८ हजार रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीको अन्य आम्दानी १ करोड ८२ लाख ४१ हजार रुपैयाँ र कुल आम्दानी ३६ करोड ७० लाख १६ हजार रुपैयाँ थियो ।
चालु आवको पुसमा कम्पनीको बिक्री लागत ३०.१४ प्रतिशत घटेर ३ करोड ८७ लाख ९१ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ५५ लाख २१ हजार रुपैयाँ बिक्री लागत थियो ।
समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च ११.६७ प्रतिशत घटेर ७ करोड ८० लाख १० हजार रुपैयाँ, प्रशासनिक खर्च १० प्रतिशत घटेर ४ करोड ६८ लाख ६१ हजार रुपैयाँ र कुल खर्च ११ प्रतिशत घटेर १२ करोड ४८ लाख ७२ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ८३ लाख २० हजार रुपैयाँ कर्मचारी खर्च, ५ करोड २१ लाख रुपैयाँ प्रशासनिक खर्च र १४ करोड ४ लाख २० हजार रुपैयाँ कुल खर्च गरेको थियो ।
१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ४ करोड ६२ लाख ६९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.०७ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०३.०२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७७.६८ गुणा ऋणात्मक रहेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कम्पनीको भौतिक संरचना तथा केबलकारका विभिन्न उपकरणहरूमा क्षति पुगेपछि गत त्रैमासिकको बाँकी अवधिभर कम्पनीका सबै आर्थिक गतिविधिहरू पूर्ण रूपमा ठप्प भएका थिए । यद्यपि, चालु त्रैमासिकको मध्यदेखि अर्थात् मंसिर १५ गतेबाट कम्पनीले पुनः कारोबार सञ्चालनमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार कारोबारको मुख्य समयमा भएको बन्दका कारण आर्थिक रूपमा ठूलो नोक्सानी व्यहोर्नुपरेको छ । उक्त क्षतिपूर्ति तथा आर्थिक पुनर्उत्थानका लागि कम्पनी प्रतिबद्ध रहेको र सोहीअनुसार रणनीति तय गरी अगाडि बढिरहेको जानकारी दिइएको छ ।
जेनजी आन्दोलनका क्रममा कम्पनीको बटम स्टेशनको मुख्य भवन परिसर, भित्री आर्थिक गतिविधि सञ्चालन हुने संरचनाहरू, कार्यालय परिसर, केबलकारको मुख्य प्रस्थान स्थल, बाहिरी क्षेत्रमा रहेका विभिन्न स्टलहरू तथा केबलकार सञ्चालनका मुख्य युनिटहरू लगायतका उपकरणहरूमा क्षति पुगेको थियो । ती सबै क्षतिको विवरण संकलन तथा मूल्याङ्कन गर्ने कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । साथै तोडफोड, लुटपाट तथा आगजनीबाट भएको क्षतिको विस्तृत विवरण तयार गरी बीमा दाबीका लागि सम्बन्धित बीमा कम्पनीमा प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ ।
समिक्षा अवधिको अन्त्यसम्ममा केबलकार भ्रमण गर्ने पर्यटकहरू तथा रिसोर्ट परिसरमा आउने पाहुनाहरूको संख्यामा अघिल्लो अवधिको तुलनामा क्रमिक सुधार देखिन थालेको कम्पनीको भनाइ छ । समग्र मुलुकको अवस्था अनुकूल रहेमा चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको समग्र आर्थिक सूचकमा केही सकारात्मक सुधार देखिने प्रक्षेपण गरिएको छ ।
कालिञ्चोक दर्शनको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १ करोड १९ लाख ९३ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ लाख ८६ हजार रुपैयाँ ऋणात्मक थियो ।
चालु आवको पुस मसान्तसम्ममा कम्पनीको आम्दानी ३४४.१५ प्रतिशत बढेर ३ करोड ५४ लाख ६६ हजार रुपैयाँ, बिक्री आम्दानी ८७.२४ प्रतिशत बढेर १३ लाख ७ हजार रुपैयाँ, सञ्चालन आम्दानी ३६८.७६ प्रतिशत बढेर ३ करोड ४१ लाख ५९ हजार रुपैयाँ, अन्य आम्दानी १६.५५ प्रतिशत बढेर ५ लाख ३५ हजार रुपैयाँ गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च १६३.८४ प्रतिशत बढेर ७६ लाख ४१ हजार रुपैयाँ, अन्य खर्च ६५.१० प्रतिशत बढेर ४३ लाख ६७ हजार रुपैयाँ र वित्तीय खर्च ८०.८४ प्रतिशत बढेर २९ लाख ५५ हजार रुपैयाँ गरेको छ ।
६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ४ करोड ३९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९७.७७ गुणा छ ।

कम्पनीका अनुसार पुस मसान्तसम्मको तथ्यांकका आधारमा गत वर्षको तुलनामा बाह्य तथा आन्तरिक पर्यटकहरूको आगमनमा क्रमिक सुधार देखिएको छ । यस अवधिमा कम्पनीले पर्यटन प्रवद्र्धनलाई थप प्रभावकारी बनाउन होटल, रिसोर्ट तथा अन्य आयमूलक व्यवसाय सञ्चालन गर्ने योजनाअनुसार कार्य अघि बढाइरहेको जनाएको छ ।
प्रतिस्पर्धी पर्यटन व्यवसायको परिवेशमा कम्पनीले प्राकृतिक वातावरण तथा स्थानीय रमणीय स्थलहरूको समुचित उपयोग गर्दै न्यूनतम खर्चमा अधिकतम नाफा आर्जन गर्ने लक्ष्य लिएको छ । साथै, कम्पनीले कर्जाको साँवा र ब्याज तोकिएको समयमै भुक्तानी गर्दै आएको जानकारी दिएको छ ।
कम्पनीका अनुसार विसं २०८२ भदौ १२ गते कालिन्चोक इन्भेस्टमेन्ट कम्पनीमा रहेको आफ्नो स्वामित्व ५६.४८ प्रतिशतबाट घटेर ३८.३४ प्रतिशतमा झरेसँगै सो सहायक कम्पनीमाथिको नियन्त्रण समाप्त भएको छ । त्यसपछि उक्त लगानीलाई हालदेखि एशोसिएट कम्पनीको रूपमा लेखाङ्कन गरिएको जनाएको छ ।
यसैगरी, कम्पनीले अनावश्यक खर्च कटौती गर्दै आम्दानी वृद्धि हुने गरी बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्ने जनाएको छ । स्थानीय बासिन्दा तथा सेयरधनीहरूका लागि केबलकार टिकटमा विशेष सहुलियतको व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।
सोल्टी होटलको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा १२.९५ प्रतिशत बढेर ३४ करोड ७५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३० करोड ७७ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १३.५० प्रतिशत बढेर १ अर्ब ४५ करोड ९७ लाख १० हजार रुपैयाँ र कुल खर्च १४.७२ प्रतिशत बढेर १ अर्ब ४ करोड ११ लाख ४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २८ करोड ६० लाख ५६ हजार रुपैयाँ कुल आम्दानी गरेर ९० करोड ७४ लाख ४१ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।
चालु आवको ६ महिनामा कम्पनीको कर्मचारी खर्च ६.२९ प्रतिशत बढेर ३२ करोड १० लाख २८ हजार रुपैयाँ र प्रशासन खर्च ३१.३२ प्रतिशत बढेर १८ करोड ८६ लाख ५२ हजार रुपैयाँ रुपैयाँ गरेको छ ।
कम्पनीको चुक्ता पुँजी १० प्रतिशत बढेर १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ र सञ्चित नाफा २८.०७ प्रतिशत बढेर १ अर्ब ९१ करोड ६३ लाख २१ हजार रुपैयाँ पुगेको छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ३.४ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २८.७५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४६.४१ गुणा रहेको छ ।

कम्पनीको होटल तथा पर्यटन व्यवसाय गत वर्षको तुलनामा वृद्धि भएको छ । जेन–जेड आन्दोलन र अन्तर्राष्ट्रिय अस्थिरताका कारण केही समय पर्यटक आगमन घटे पनि चाडपर्व, बढ्दो हवाई उडान र प्रमुख पर्यटकीय गन्तव्यमा होटल अकुपेन्सी सुधारसँगै पर्यटन व्यवसाय पुनः सकारात्मक बनेको कम्पनीले जनाएको छ । आगामी त्रैमासिकमा अन्तर्राष्ट्रिय उडान नियमित रहनु र विश्व पर्यटन बजारमा देखिएको सुधारका कारण व्यवसाय अझ सुदृढ हुने अपेक्षा कम्पनीले गरेको छ ।
ओरियण्टल होटल्सको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा २ करोड ७४ लाख ३१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख ४२ हजार रुपैयाँ खुद ऋणात्मक थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६.०४ प्रतिशत घटेर ४८ करोड ४६ लाख १५ हजार रुपैयाँ, अन्य आम्दानी ८१.५९ प्रतिशत बढेर ७१ लाख ६२ हजार रुपैयाँ र कुल नाफा ५.३८ प्रतिशत घटेर ४९ करोड १७ लाख ७७ हजार रुपैयाँ गरेको छ ।
चालु आवको ६ महिनामा कम्पनीको कर्मचारी खर्च ११.४४ प्रतिशत घटेर १६ करोड १६ लाख ७९ हजार रुपैयाँ, प्रशासन खर्च १०.९२ प्रतिशत बढेर ७ करोड ८१ लाख ५७ हजार रुपैयाँ र कुल खर्च ३.१४ प्रतिशत घटेर ४५ करोड ५२ लाख १ हजार रुपैयाँ गरेको छ ।
१ अर्ब १८ करोड ४४ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष १.०८ प्रतिशत बढेर २ अर्ब ७० करोड ४६ लाख १३ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २.३२ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ३२८.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०३.९९ गुणा ऋणात्मक छ ।

दोस्रो त्रैमासमा कम्पनीको तरलता र मौज्दात अवस्था सन्तोषजनक रहे पनि होटलको पुरानो परिसर रिनोभेशनका कारण कारोबार प्रभावित भएको जनाएको छ । पुरानो परिसरका ६० कोठा तथा रेस्टुरेन्टहरू रिनोभेशनका लागि बन्द हुनु र पर्यटक आगमन घट्नु नोक्सानीको मुख्य कारण रहेको कम्पनीले जनाएको छ । यसैगरी जेन–जेड आन्दोलनका कारण पहिलो र दोस्रो त्रैमासिकमा पर्यटक आगमन घट्दा होटल तथा पर्यटन व्यवसायमा असर परेको कम्पनीले जनाएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म रिनोभेशन सम्पन्न गरी आगामी वर्षदेखि अत्याधुनिक सुविधा सहित कोठा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । साथै, होटल परिसरभित्रका ३० वटा सर्भिस अपार्टमेन्ट पूर्ण रूपमा सञ्चालनमा आइसकेकाले आगामी दिनमा बिक्री र नाफा सुधार हुने अपेक्षा गरिएको छ ।
कम्पनीले खर्च नियन्त्रण, अकुपेन्सी वृद्धि र विविध बजार लक्षित रणनीति अपनाउँदै व्यवसाय विस्तार गर्ने जनाएको छ । सहवित्तियकरण कर्जा तथा चालू पूँजीको साँवा–ब्याज समयमै भुक्तानी हुँदै आएको पनि कम्पनीले स्पष्ट पारेको छ ।
तारागाउँ रिजेन्सी होटल्सको चालु आवको ६ महिनामा खुद नाफा ९ करोड ८ लाख ३० हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ६७ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७५.२५ प्रतिशत घटेर १७ करोड १९ लाख ४२ हजार रुपैयाँ, अन्य आम्दानी २२.०६ प्रतिशत घटेर ६ करोड १२ लाख २१ हजार रुपैयाँ र कुल आम्दानी ६९.८५ प्रतिशत घटेर २३ करोड ३१ लाख ६४ हजार रुपैयाँ गरेको छ ।
चालु आवको ६ महिनामा कम्पनीको प्रशासनिक खर्च ४८.९७ प्रतिशत घटेर ६ करोड २८ लाख ६४ हजार रुपैयाँ गरेको छ ।
१ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनकिो जगेडा कोष ११.३९ प्रतिशत घटेर ९८ करोड १९ लाख ८७ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ४.६३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १५०.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५२.३१ गुणा ऋणात्मक छ ।

जेनजी आन्दोलनका क्रममा तारागाउँ रिजेन्सी होटल्स अन्तर्गत सञ्चालनमा रहेको होटलमा ठूलो आर्थिक तथा भौतिक क्षति पुगेपछि सोही दिनदेखि होटल पूर्ण रूपमा बन्द रहेको छ । हाल होटलमा मर्मत–सम्भार तथा पुनर्निर्माणको कार्य तीव्र रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ ।
घटनाबाट भएको क्षतिको मूल्याङ्कन सम्बन्धित बीमा कम्पनीमार्फत भइरहेको भए पनि हालसम्म क्षतिपूर्ति सम्बन्धी कुनै अन्तिम व्यवस्था हुन नसकेको कम्पनीले जनाएको छ । होटल पूर्ण रूपमा मर्मत–सम्भार गरी पुनः सञ्चालनमा ल्याएपछि मात्र व्यवसायिक गतिविधि सम्भव हुने भएकाले चालु आवको दोस्रो त्रैमासमा तारागाउँ नेक्स्ट बाहेक अन्य कुनै पनि पर्यटकीय व्यवसायिक गतिविधि नभएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार आन्दोलनले २५ वर्षदेखि नेपालको पर्यटन क्षेत्रमा योगदान दिँदै आएको होटललाई ठूलो क्षति पुर्याएको छ । होटललाई अन्तर्राष्ट्रिय स्तरको सेवा–सुविधासहित पूर्ण रूपमा मर्मत–सम्भार गरी छिट्टै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । आगामी त्रैमासिक अवधिसम्म पनि होटल सञ्चालनमा नआउने र मर्मत–सम्भारका लागि ठूलो लगानी आवश्यक पर्ने अवस्था रहेको कम्पनीले उल्लेख गरेको छ । होटल पुनः सञ्चालनपछि सेवा–सुविधाको स्तर उकास्ने, कर्पोरेट, सामाजिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरू आकर्षित गर्ने, कर्मचारीलाई तालिम प्रदान गर्ने र खर्च नियन्त्रण गर्दै स्वदेशी तथा विदेशी पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्ने रणनीति अपनाइने कम्पनीले जनाएको छ ।
सिटि होटलले चालु आवको ६ महिनामा खुद नाफा १० करोड ९ लाख ३८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ४९ लाख ६८ हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी १.४३ प्रतिशत घटेर २३ करोड २३ लाख ९८ हजार रुपैयाँ, अन्य आम्दानी ४६.१४ प्रतिशत घटेर १ करोड १५ लाख २७ हजार रुपैयाँ र कुल आम्दानी ५.१५ प्रतिशत घटेर २४ करोड ३९ लाख २५ हजार रुपैयाँ गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च १० प्रतिशत बढेर ४ करोड ६५ लाख ५७ हजार रुपैयाँ, प्रशासन खर्च २७.३८ प्रतिशत बढेर ५ करोड ८३ लाख ५० हजार रुपैयाँ र कुल खर्च ८.८९ प्रतिशत बढेर १९ करोड २ लाख ३० हजार रुपैयाँ गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८० प्रतिशत बढेर ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ र अन्य इक्विटी ४ कराड ४१ लाख ७४ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.३५ रुपैयाँ ऋणात्मक छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ९८.५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४०.३० गुणा ऋणात्मक छ ।

देशका विभिन्न शहरमा भएका प्रदर्शनका कारण पछिल्लो समय होटल व्यवसायमा केही प्रतिकूल असर परेको कम्पनीले जनाएको छ । आम्दानी बढाउने लक्ष्यसहित होटलले ब्याङ्क्वेट र खानपान सुविधाको स्तरोन्नति, कर्पोरेट कार्यक्रम, निजी समारोह, दूतावास, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित इभेन्टहरू विस्तार गर्ने रणनीति अपनाएको छ । साथै, बैठक, सम्मेलन, विवाह तथा उच्चस्तरीय कर्पोरेट कार्यक्रम आकर्षित गर्न स्थानीय व्यवसाय र इभेन्ट आयोजकसँग सहकार्य गरिने कम्पनीको भनाइ छ । होटललाई ट्राभल एक्सपो, अन्तर्राष्ट्रिय वर्कसप र पर्यटकीय कार्यक्रमहरूको प्रमुख भेन्युका रूपमा विकास गर्दै, दीर्घकालीन रेट सम्झौता, हायात समूहभित्रको समन्वय र प्रभावकारी बजार रणनीतिमार्फत व्यवसाय विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
बन्दीपुर केबलकारको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ७४ लाख ९१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५९ लाख ८ हजार रुपैयाँ खुद ऋणात्मक थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३९.४८ प्रतिशत बढेर ९४ लाख ५७ हजार रुपैयाँ, अन्य आम्दानी ११२.२० प्रतिशत बढेर १ करोड ६६ लाख ५ हजार रुपैयाँ र कुल आम्दानी ७८.४३ प्रतिशत बढेर २ करोड ६० लाख ६२ हजार रुपैयाँ गरेको छ ।
चालु आवको पुसमा कम्पनीको कर्मचारी खर्च १३.६९ प्रतिशत बढेर ३९ करोड ६१ लाख रुपैयाँ, प्रशासनिक खर्च ०.९४ प्रतिशत घटेर २७ लाख २२ हजार रुपैयाँ र कुल खर्च ८.१४ प्रतिशत घटेर २ करोड ५० लाख ३८ हजार रुपैयाँ गरेको छ ।
२ अर्ब ८२ करोड ९९ लाख ९३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष २१ करोड ३० लाख ४३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.२६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९२.४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३ हजार १३५.२१ गुणा ऋणात्मक रहेको छ ।

दोस्रो त्रैमासमा कम्पनीको आर्थिक गतिविधि सुधारोन्मुख रहेको जनाएको छ । जेनजी आन्दोलन र राजनीतिक अस्थिरताका कारण होटल सञ्चालनमा प्रारम्भमा ढिलाइ भए तापनि, हाल लेमन ट्री होटल्स लिमिटेडसँग होटल सञ्चालन तथा व्यवस्थापन सम्झौता भई, पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । राजनीतिक तथा आर्थिक अवस्था अनुकूल रहन सकेमा चालु आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको आर्थिक स्थितिमा सकारात्मक सुधार आउने अपेक्षा कम्पनीको छ । कम्पनीले रणनीतिक रूपमा घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी बजारीकरण, स्थानीय समुदायसँग समन्वय, सम्पत्ति र दायित्वको व्यवस्थापन, र गुणस्तरीय सेवा प्रदान गर्दै दिगो आर्थिक वृद्धि हासिल गर्ने योजना अवलम्बन गरेको छ ।