काठमाडौं । उज्यालो नेपाल पार्टी नेपालले आगामी ५ वर्षलाई लक्षित गर्दै पूर्वाधार विकास योजना सार्वजनिक गरेको छ ।
पार्टीको घोषणापत्रअनुसार प्रविधियुक्त पूर्वाधार, द्रुत यातायात सञ्जाल, स्मार्ट सिटी, रेल–जलमार्ग र ठूला सिँचाइ आयोजनालाई प्राथमिकतामा राख्दै समृद्धि र रोजगारीलाई केन्द्रमा राखेको जनाएको छ ।
पार्टीले सुरुङमार्ग, मेट्रो र केवलकारजस्ता आधुनिक प्रविधिको सम्भाव्यता अध्ययन गरी पीपीपी (सार्वजनिक–निजी साझेदारी) मोडेलमा निर्माण अघि बढाउने घोषणा गरेको छ । यसले सहरी यातायातमा गुणात्मक सुधार ल्याउने दाबी गरिएको छ ।
यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल को सञ्चालन विस्तार गरी नयाँ एयरलाइन्स आकर्षित गर्ने तथा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल को लगानी मोडालिटी टुंग्याई निर्माणलाई तीव्रता दिने योजना छ ।
आगामी पाँच वर्षभित्र ८ हजार किमि कालोपत्रे, ४ हजार किमि ग्राभेल र ३ हजार किमि नयाँ ट्र्याक खोल्ने लक्ष्य सार्वजनिक गरिएको छ । काठमाडौं–निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, कर्णाली कोरिडोर लगायत राष्ट्रिय राजमार्गको स्तरोन्नति तथा विस्तार गरिनेछ। ग्रामीण सडक कालोपत्रेलाई समेत प्राथमिकता दिइएको छ ।
राष्ट्रिय योजना आयोगको स्मार्ट सिटी फ्रेमवर्कअनुसार भिजन २०४० सम्म लुम्बिनी, निजगढ, भरतपुरसहित १३ सहरलाई पूर्ण स्मार्ट सिटी बनाउने अध्ययन अघि बढाइनेछ । इन्टरनेट अफ थिंग्स, एआई–आधारित ट्राफिक व्यवस्थापन, रियल–टाइम डाटा मोनिटरिङ र जलवायु अनुकूल क्षेत्रीय योजना लागू गरी नागरिक–केन्द्रित शासन सुदृढ गर्ने लक्ष्य छ ।
छोटो दूरी यात्राका लागि रक्सौल–काठमाडौं–केरूङ रेलमार्ग तथा पूर्व–पश्चिम रेलमार्गको विस्तृत अध्ययन पूरा गरी लगानी मोडालिटी तयार गरिनेछ । कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा जलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरी उपयुक्त स्थानमा जलयातायात सुरु गर्ने तथा आवश्यक नीति–कानुन निर्माण गर्ने घोषणा गरिएको छ ।
सुनकोसी–मरिन डाइभर्सन आयोजना, भेरी–बबई डाइभर्सन आयोजना, रानी–जमरा–कुलहडिया सिंचाई आयोजना, सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना लगायत राष्ट्रिय गौरवका आयोजनालाई सम्पन्न गरी पाँच वर्षभित्र ३ लाख हेक्टर सतह सिँचाइ सुविधा पुर्याइनेछ ।
तराई–मधेशका पकेट क्षेत्रमा स्यालो तथा डिप ट्युबवेलमार्फत ३ लाख हेक्टर भूमिगत सिँचाइ, हिमाल–पहाडमा विद्युत प्रयोग गरी २ लाख हेक्टर लिफ्ट सिँचाइ विस्तार गर्ने लक्ष्य छ ।
साथै राप्ती–कपिलवस्तु (नौमुरे), कालिगण्डकी–तिनाउ, सुनकोसी–तावा (कमला) र तमोर–चिसाङ डाइभर्सनको विस्तृत अध्ययन पूरा गरी निर्माण सुरु गरिने बताइएको छ ।
सुरक्षित र सहज यातायात सुनिश्चित गर्न प्रमुख तथा शहरी सडकमा द्रुत मर्मत सम्भारका लागि सबै प्रदेशमा रोड एम्बुलेन्स व्यवस्था गरिनेछ ।