म्युनिख सम्मेलनमा जेलेन्स्कीले भने- पुटिन युद्धको गुलाम हुन्

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्धको गुलाम’ भएको आरोप लगाएका छन् । जेलेन्स्कीले यो अभिव्यक्ति जर्मनीमा आयोजित म्युनिख सुरक्षा सम्मेलनमा दिएका हुन् ।

युक्रेनी राष्ट्रपतिले भने, ‘पुटिन शक्तिबिना बस्न सक्दैनन् र अहिले उनको सम्पूर्ण ध्यान युक्रेनमै केन्द्रित छ । पुटिन सामान्य मानिसजस्तै जीवन बिताउँदैनन् । उनी साधारण गल्लीहरूमा हिँड्दैनन्, तपाईंले उनलाई क्याफेमा देख्नुहुन्न ।’

‘उनी शक्तिबिना जीवन बिताउने कुरा सोच्नै सक्दैनन् । सामान्य कुराहरूमा उनको कुनै रुचि छैन,’ उनले थपे ।

अन्त्यमा जेलेन्स्कीले भने, ‘पुटिन युद्धको सोच त्याग्न सक्दैनन् । उनी आफूलाई सम्राट ठान्न सक्छन्, तर वास्तविकतामा उनी युद्धकै गुलाम हुन् ।’

रूस–युक्रेन युद्ध सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेसँगै चर्किएको हो । त्यसयता पूर्वी र दक्षिणी युक्रेनका विभिन्न क्षेत्रहरूमा भीषण लडाइँ जारी छ । युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन् भने ऊर्जा, खाद्य आपूर्ति र विश्व अर्थतन्त्रमा समेत असर परेको छ ।

म्युनिख सुरक्षा सम्मेलन विश्वका नेताहरू, कुटनीतिज्ञहरू र सुरक्षा विज्ञहरू भेला हुने प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो, जहाँ वैश्विक सुरक्षा, युद्ध र भू–राजनीतिक तनावका विषयमा छलफल हुन्छ । यही सन्दर्भमा जेलेन्स्कीले रूसको नेतृत्व र युद्धनीतिमाथि कडा आलोचना गरेका हुन् ।

Share News