वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा एक खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म एक खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व संकलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको सात महिनामा कार्यालयको भन्सार संकलनमा उत्साहजनक भएको छ । कार्यालयले साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोज महिनामा १९ अर्ब नौ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
त्यस्तै, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ र मङ्सिरमा भने २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै पुसमा पनि २० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले माघमा मात्र २१ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा १८ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ ।