शीर्ष १० धनाढ्यमा वाल्टन परिवारका ३ जनाको इन्ट्री, एलिस बनिन् विश्वकै धनी महिला

शीर्ष १० बाट बाहिरिए बफेट र बाल्मर

काठमाडौं । दुनियाँका शीर्ष धनीहरूको सूचीमा हालै उल्लेखनीय फेरबदल देखिएको छ । वारेन बफेट र स्टिभ बाल्मरजस्ता दिग्गजहरू शीर्ष १० बाट बाहिरिएका छन् भने एउटै परिवारका तीन दाजुभाइ–दिदीबहिनीले सूचीमा स्थान बनाएका छन् । यी हुन्– जिम वाल्टन, उनका भाइ रोब वाल्टन र बहिनी एलिस वाल्टन । 

ब्लूमबर्ग बिलिनेयर इन्डेक्समा जिम आठौं, रोब नवौं र एलिस दशौं स्थानमा रहेका छन् । 

एलिस वाल्टन विश्वकै सबैभन्दा धनी महिला अर्बपति हुन् । यी तीनै जना वाल्टन परिवारसँग सम्बन्धित छन्, जुन राजस्वका आधारमा विश्वकै सबैभन्दा ठूलो कम्पनी वालमार्टको प्रवर्द्धक (प्रमोटर) परिवार हो । यस परिवारका अन्य दुई सदस्य पनि विश्वका शीर्ष १०० धनीहरूको सूचीमा परेका छन् ।

null

एलिस वाल्टन ।

वाल्टन परिवारलाई विश्वकै सबैभन्दा धनी परिवार मानिन्छ । वालमार्टमा वाल्टन परिवारको ४७ प्रतिशत हिस्सेदारी छ । यस कम्पनीको स्थापना सन् १९६२ मा साम वाल्टनले गरेका थिए । 

ब्लूमबर्ग बिलिनेयर इन्डेक्सअनुसार साम वाल्टनका छोरा जिम वाल्टन १५८ अर्ब डलर नेटवर्थसहित विश्वका धनीहरूको सूचीमा आठौं स्थानमा छन् । यस वर्ष उनको नेटवर्थमा २१.३ अर्ब डलरले वृद्धि भएको छ । उनका भाइ रोब वाल्टन १५४ अर्ब डलर नेटवर्थसहित नवौं स्थानमा छन्, जसको नेटवर्थ यस वर्ष २०.७ अर्ब डलरले बढेको छ ।

जिम र रोबकी बहिनी एलिस वाल्टन १५४ अर्ब डलर नेटवर्थसहित विश्वका धनीहरूको सूचीमा दशौं स्थानमा छन् । यस वर्ष उनको नेटवर्थमा २१ अर्ब डलरले वृद्धि भएको छ । साम वाल्टनका एक छोरा जोन वाल्टनको निधन भइसकेको छ । उनका छोरा लुकास वाल्टन ५३।९ अर्ब डलर नेटवर्थसहित सूचीको ३३औं स्थानमा छन्।

जोन वाल्टनकी विधवा क्रिस्टी वाल्टन २५.४ अर्ब डलर नेटवर्थसहित सूचीको १००औं स्थानमा छन् । जोन वाल्टनको सन् २००५ मा हवाई दुर्घटनामा मृत्यु भएको थियो, जसपछि क्रिस्टी वाल्टनले वालमार्टमा करिब २ प्रतिशत हिस्सेदारी पाएकी थिइन् ।

शीर्ष १०० धनीहरूमा परेका वाल्टन परिवारका पाँच सदस्यहरूको कुल नेटवर्थ ५४५ अर्ब डलर पुगेको छ, जुन ग्रीस, हंगेरी र इरानजस्ता धेरै देशहरूको जीडीपीभन्दा बढी हो । वालमार्टका विश्वका १९ देशमा १० हजार ५०० भन्दा बढी स्टोर सञ्चालनमा छन् । 

वाल्टनको व्यवसाय पूर्ण रूपमा ‘डिस्काउन्ट कल्चर’मा आधारित थियो, जसका कारण मन्दीका समयमा पनि यसको सेयर सधैं मजबुत देखिएको छ । राजस्वका आधारमा वालमार्ट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो । 

गत वर्ष कम्पनीको राजस्व ७०३.०६ अर्ब डलर रहेको थियो । बजार पूँजीकरणका हिसाबले भने १.०६७ ट्रिलियन डलरसहित यो विश्वमा १२औं स्थानमा रहेको छ ।

Share News