विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति...

नारायण न्यौपाने

काठमाडौं । विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहसिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्र सङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना अहिले उक्त विश्व मञ्चको दह्रो सहयात्री बनेको छ ।

राष्ट्र सङ्घको छातामुनि रही नेपाली सेनाले जोखिमयुक्त कार्य र जिम्मेवारीलाई समेत सहजै स्वीकार गरी इमान्दार, व्यावसायिक र आदेशपालक ‘च्याम्पियन’ सैनिकको परिचय दिलाउन सफल रहेको सिरियास्थित युएन शान्ति मिसनका पूर्वफोर्स कमाण्डर ईश्वर हमाल बताउँछन् । 

पूर्वरथी हमाल भन्छन्, ‘नेपाली शान्ति सैनिक अनुभवी, अनुशासित, तटस्थ, व्यावसायिक, आदेशपालक र भरपर्दो सैनिकका रूपमा परिचित छ । जोखिम अवस्थामा पनि तत्कालै परिचालित हुने भएकाले पनि नेपाली शान्ति सैनिकलाई सबैले मन पराउँछन् ।’

विश्व शान्ति, सुरक्षा, समानता र परस्पर सम्मानको साझा उद्देश्यका साथ स्थापना भएको विश्व मञ्चमा नेपालको प्रवेश भने सन् १९५५ डिसेम्बर १४ मा भएको थियो । नेपालले सन् १९६९-७० र सन् १९८८-१९८९ मा दुईपटक राष्ट्र सङ्घको सुरक्षा परिषदको अस्थायी सदस्यको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरिसकेको छ । त्यसो त नेपालको परराष्ट्र नीतिमै पनि राष्ट्र सङ्घकै बडापत्रको सिद्धान्तलाई सर्वाधिक प्राथमिकता दिइएको छ । द्वन्द्व ग्रस्त मुलुकमा शान्ति सैनिक पठाइने सिलसिलामा युएनको झण्डामुनि मात्र जाने नेपालले राष्ट्रिय नीति अवलम्बन गरेको छ ।

राष्ट्रको आव्हानमा पुरानो गोरख गण सन् १९७४ मा इजिप्टमा पहिलोपटक तैनाथ भएको थियो । त्यस समयदेखि सङ्घका अधिकांश शान्ति ‘मिसन’मा सक्रिय सहभागी हुँदै आएको छ । यस अवधिमा ४४ मिसनमा १ लाख ६२ हजार ४९६ ‘ब्लु हेल्मेट धारी’ शान्तिकामी नेपाली सैनिकले योगदान पुर्याइसकेका छन् । त्यसबापत सोही सङ्ख्यामा ‘राष्ट्रसङ्घीय शान्ति पदक’ प्राप्त गरिसकेका छन् । विश्व शान्ति अभियानमा तीन हजार ६६६ बढी नेपाली महिला शान्ति सैनिकको योगदान छ । यसबीचमा सेनाले इन्जिनियर, मेडिकल र विशेष फौजको टुकडीजस्ता विशिष्ट क्षमताको फौज सहभागी गराएर राष्ट्र सङ्घको शान्ति कार्यमा महत्त्वपूर्ण योगदान दिइरहेको छ ।

साइप्रस मिसनमा खटिएका नेपाली सेनाका पूर्वफोर्स कमान्डर रथी भिक्ट्रीशम्सेर जवरा (अप्रा) अन्तर्राष्ट्रिय जगत्मा मिसन हाक्ने गरी द्वन्द्वरत मुलुकमा फोर्स कमान्डर भएर जान पाउनु देश र सङ्गठनका लागि ठूलो अवसर भएको प्रतिक्रिया दिन्छन् । 

उनले भने, ‘त्यसबेला त्यहाँ युरोप, अष्ट्रेलिया, अर्जेन्टिना लगायत १५ मुलुकका करिब १ हजार ७०० जति शान्ति सैनिक परिचालित थिए । फोर्स कमान्डरका हैसियतले त्यसको नेतृत्वको जिम्मेवारी थियो ।’

नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्र सङ्घलगायत निकायबाट उच्च प्रशंसा हुँदै आएको छ । विश्व शान्ति स्थापना कार्यमा परिचालित हुँदा हालसम्म ७४ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ७७ जना गम्भीर घाइते भएका छन् ।

पछिल्लो समय युएनमा आर्थिक अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित हुने शान्ति सैनिकको सङ्ख्यामा कटौती गरिएको छ । विसं २०७९ मङ्सिरमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति सैनिक तैनाथीसँगै मिसनमा सैनिक खटाउने मुलुकको सूचीमा नेपाल पहिलो वरियतामा पुगेको थियो । त्यसबेला नेपाली शान्ति सैनिकको सङ्ख्या सबैभन्दा बढी ६ हजार १६ पुगेको थियो ।

विश्वका १० मिसनमा हाल ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन् । महिला सैनिक खटाउने देशको सूचीमा पनि नेपाल अग्रस्थानमै छ । राष्ट्र सङ्घले विश्व शान्ति कार्यका लागि नोबेल पुरस्कार प्राप्त गर्नुमा नेपाली शान्ति सैनिकको पनि ठूलो योगदान छ ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ । नेपाल सधैँ विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध छ । राष्ट्र सङ्घबाट नेपाललाई अनुरोध भइआएमा ६० दिनभित्र मिसनमा तैनाथ गराउन सक्ने गरी उपकरण र आवश्यक थप जनशक्ति तयारी अवस्थामा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई ‘सेन्टर अफ एक्सेलेन्स’ बनाउने लक्ष्य अनुरूप भौतिक पूर्वाधार स्तरोन्नतिको काम भइरहेको छ । त्यस स्थानमा शान्ति स्थापना कार्यमा बहुराष्ट्रिय शान्ति सैनिकबीच अन्तरसम्बन्ध र साझेदारी बढाउन संयुक्त राष्ट्र सङ्घको शान्ति अभियानसँग सम्बन्धित विभिन्न अभ्यासहरू सञ्चालन हुँदै आएको छ ।

जसअनुसार एक वर्षमा विदेशी ३१ र स्वदेशी ६४ जनाको सहभागितासहित चारवटा युएनसम्बन्धी विशिष्टिकृत तालिम सञ्चालन भयो । सोही अवधिमा उक्त केन्द्रमा १२ वटा शान्ति सेनाका युनिटका तीन हजार ५३१ जनालाई ‘प्रिडिप्लोयमेन्ट’ तालिम दिइयो । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको कूटनीतिक सम्बन्ध हासिल गर्ने एक महत्त्वपूर्ण उपाय र संयन्त्रका रूपमा नेपाली शान्ति सैनिक रहेको छ ।

राष्ट्र सङ्घमा फौज उपलब्ध गराए बापत नेपाललाई प्राप्त हुने रकम विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण स्रोत हो । शान्ति मिसनमा काम गर्ने सिलसिलामा नेपाली शान्ति सैनिकले नेपालको मूल्य, मान्यता, संस्कृति, भाषा र जीवनशैलीलाई विश्वमाझ परिचित गराएका छन् । त्योसँगै विश्वका विभिन्न प्रणाली, प्रविधि र असल अभ्यासबारे जानकारी लिने अवसर प्राप्त भएको छ ।

परराष्ट्र सम्बन्ध विस्तारका हिसाबले दूतावास नभएका ठाउँमा खटिएका शान्ति सैनिकबाट प्रत्यक्ष नभए पनि परोक्ष रूपमा सम्बन्ध विस्तारमा सहयोग पुग्दै आएको छ । उदाहरणका लागि राष्ट्र सङ्घको शान्ति कार्यलाई सवलीकरण गर्ने उद्देश्यले शान्ति स्थापनासम्बन्धी विविध विषयमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका परराष्ट्र र रक्षामन्त्रीको सहभागितामा प्रत्येक दुई वर्षमा मन्त्रीस्तरीय बैठक बस्दै आएको छ । जुन बैठकले विश्वका विभिन्न देशसँग नेपालको सम्बन्ध विस्तारमा सहयोग पुगिरहेको छ ।

सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्र सङ्घको वडापत्र लागू भएको दिनको सम्झना स्वरूप संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष उक्त दिनलाई संयुक्त राष्ट्र सङ्घ दिवसका रूपमा मनाउँदै आइरहेको छ । सोही सिलसिलामा नेपाली सेनाले पनि वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विविध कार्यक्रम आयोजना गरी ‘संयुक्त राष्ट्र सङ्घ दिवस’ मनाउँदै आएको छ । नेपाली सेनाको शान्ति मिसन यात्रा सुरु भएयता राष्ट्र सङ्घीय शान्ति मिसनमा रही नेपाली सेनाका उच्च अधिकृतले सेक्टर र फोर्स कमान्डरका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

यसअघि तत्कालीन रथी कृष्णनारायण सिंह थापा (कुवेत), रथी भिक्ट्रीशम्शेर जबरा (साइप्रस), उपरथी बालानन्द शर्मा (इजरायल/सिरिया), उपरथी पवनजङ्ग थापा (दक्षिण सुडान), उपरथी पूर्णचन्द्र थापा, रथी ईश्वर हमाल र रथी निर्मलकुमार थापाले (सिरिया) मिसनमा फोर्स कमान्डरको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरे । हाल दक्षिण सुडानमा बलाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ कार्यरत छन् । 

राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहबाट दिव्योपदेशमा उल्लेख गरेअनुरूप ‘सिपाही भन्या तिषारी राख्न हुन’ भन्ने पक्षलाई अनुशरण गर्दै नेपाली सेनाले व्यावसायिक सीप र दक्षताका आधारमा विश्वका उत्कृष्ट सेनाको पङ्क्तिमा आफूलाई अब्बल सावित गरिरहेको छ ।

संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित बे्रकनमा वार्षिक रूपमा आयोजना हुने अत्यन्तै कठिन र जोखिमयुक्त अभ्यास क्याम्ब्रियन र पाकिस्तानमा हुँदै आएका गस्तीमा नेपाली सेना तीनपटक सर्वोत्कृष्ट भई स्वर्ण पदक जित्न सफल भएको छ । बेलायतमा भएको प्रतियोगितामा ३७ राष्ट्रका १२१ अन्तर्राष्ट्रिय सैनिक टोलीलाई र पाकिस्तानमा भएको प्रतियोगितामा १७ राष्ट्रका ३८ सैनिक टोलीलाई पछि पार्दै नेपाली सेनाले प्राप्त गरेको नतिजाले नेपाली सेना एक कुशल, व्यावसायिक र लगनशील सैनिकका रूपमा विश्वभर स्थापित भएको छ ।

अत्यन्तै कठिन गस्तीका रूपमा रहेको उक्त अभ्यासमा जटिल परिस्थितिमा पनि आफ्नो फौजलाई जोगाएर मिसन पूरा गर्ने, खबर सङ्कलन गर्ने, अरूको हतियार नष्ट गर्ने, घाइते तथा बिरामीलाई उपचार गर्ने, विरोधीलाई पक्रने तथा रात्रिकालीन आक्रमण गर्ने कार्यमा नेपाली सेनाले आफ्नो गोर्खाली फौजको वीरता, साहस र व्यावसायिकता प्रदर्शन उजागर गरेको छ ।

विश्वका विभिन्न द्वन्द्वरत राष्ट्रमा खटिएको नेपाली शान्ति सैनिकले राष्ट्र सङ्घ र नेपालको मान, प्रतिष्ठा र इज्जत अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान गरिरहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत बताउँछन् । यस परिप्रेक्ष्यमा २६३औँ वार्षिकोत्सव मनाइरहँदा नेपाली सेनाले विश्व समुदायमाझ अनुशासित, विश्वसनीय र भरपर्दो शान्ति सैनिकको पहिचान बनाउन सफल भएको छ । रासस

Share News