नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैन : पारस खड्का

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान)का सचिव तथा पूर्वकप्तान पारस खड्काले इंग्ल्याण्डविरुद्धको उत्कृष्ट प्रदर्शनपछि इटालीसँगको अप्रत्याशित हारले समर्थक निराश भए पनि टोलीले धैर्यता गुमाउन नहुने बताएका छन् । उनका अनुसार नेपाली क्रिकेटको इतिहास नै उतारचढावपूर्ण रहेकाले प्रदर्शनमा स्थिरता अभाव देखिएको हो । वाङ्खडेमा भएको इंग्ल्याण्डविरुद्धको खेलपछि विश्व क्रिकेटले नेपाललाई नोटिस गरेको उल्लेख गर्दै उनले दोस्रो खेलको नतिजा सहज नभएको स्वीकारे ।

खड्काले खेलाडीहरूको मानसिक सुदृढीकरण र संरचनागत सुधार आवश्यक रहेको बताए । सामाजिक सञ्जालको दबाबले पनि प्रदर्शनमा असर पार्ने सम्भावना औंल्याउँदै उनले आलोचनालाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे । विश्वकप खेल्नु नै ठूलो उपलब्धि भएको उल्लेख गर्दै उनले अब आगामी खेलमा केन्द्रित हुनुपर्ने बताए। ठूला राष्ट्रसँग सिरिजका लागि पहल भइरहेको जानकारी दिँदै उनले सन्तुलित प्रदर्शनमार्फत अन्तर्राष्ट्रिय अवसर स्वतः आउने विश्वास व्यक्त गरे । यसै सन्दर्भमा क्यानका सचिव पारस खड्कासँग गरिएको कुराकानी :

इंग्ल्याण्डसँगको उत्कृष्ट प्रदर्शनपछि नै इटालीविरुद्ध फरक र निराशाजनक नतिजाबारे तपाईंको धारणा के छ ?

हाम्रो क्रिकेटको इतिहास नै अप एण्ड डाउन नै छ । सन्तुलित प्रदर्शन हुन सकेको छैन। इंग्ल्याण्डसँग खेलपछि सबैमा आशा ह्वात्तै बढेको छ । त्यो खेलबारे विश्व क्रिकेटले नै नेपालबारे प्रशंसा गर्यो। वाङ्खडेमा खेल भएकाले नेपाली क्रिकेटप्रति सबैको नजर छ । दोस्रो खेल इटालीसँग जस्तो प्रदर्शन भयो त्यसले सबै निराश हुनुहुन्छ। अप एण्ड डाउनको अवस्था त्यो खेलमा पनि देखियो । खेल हो, जित हार हुन्छ। तर पहिलो खेलमा जसरी खेल्यो र दोस्रो खेलमा जस्तो हार भयो, त्यो पक्कै पनि सहज थिएन । इटालीको क्रिकेटको इतिहास ठूलो छैन। तर, त्यहाँ राम्रा खेलाडी र कोचिङ हुनुहुन्छ। उहाँहरूले राम्रो काम गर्नुभयो। नेपाली क्रिकेटको समर्थक हुन सहज छैन। अहिले म पनि समर्थककै रूपमा हेरिरहेको छु। मलाई पनि सहज थिएन। मुम्बईमा समर्थकले नेपाली टोलीप्रति धेरै माया देखाउनुभएको छ। हरेक रेस्टुरेण्टमा जाँदा अहिले नेपालीहरू भेटिनुहुन्छ। यो नेपाली क्रिकेटले कमाएको माया हो। नतिजा खराब आउँदा निराश हुनु स्वभाविक हो । तर पनि यसलाई बिर्सेर अगाडि बढ्नुपर्छ। अनफिल्ड प्रदर्शनले नै नेपाली क्रिकेटले धेरै माया पाएको छ । त्यो मायालाई निराशा हुन दिनु हुँदैन। हाम्रा खेलाडी पनि निराश छन्। अहिलेका लागि हामीले धैर्यता राखौँ ।

नेपाली क्रिकेटको पदर्शनमा सन्तुलन किन हुन सकेको छैन ? 

खेलाडी उत्पादन हुने नेपाल क्रिकेटको संरचना धेरै राम्रो छैन । सन् १९९६ र २०२६ सम्म नेपालको अन्तर्राष्ट्रिय क्रिकेट ३० वर्ष भएको छ । यो अवधि हेर्ने हो भने राम्रो खेलाडी आए र प्रशिक्षकहरू राम्रो आउनुभयो । केही राम्रा व्यवस्थापक पनि आउनुभयो । सबैको संयुक्त इफोर्टले यहाँसम्म आइपुगेका हौँ । खेलाडीहरूले मिहेनत गरेको छ, फोकस छन्। राम्रो प्रदर्शनलाई स्थिरतामा राख्न हाम्रो जनरल पर्सनालिटीले व्यवस्थापन गर्नुपर्छ। सबै एउटै माटोमा हुर्किरहेका छौँ। कहिलेकाहीँ सामाजिक सञ्जालमा आउने प्रतिक्रियाहरूले पनि खेलाडीहरूलाई असर पर्ने गरेको सम्भावना छ। यसले प्रदर्शनलाई स्थिरता बनाउन सकेको छैन। तर, यो एक्सक्युज होइन । हाम्रा खेलाडीलाई मानसिक रूपमा विकास गर्न आवश्यक छ । खेलाडी भएपछि कसले माया गर्छ या गर्दैन भनेर हेर्नु हुँदैन। खेलाडीको मानसिकता बलियो नै हुनुपर्छ । अहिले खेलाडी मेहनति  छन् । अब पर्सनालिटी बढाउन पनि काम गर्ने हो भने नेपाली क्रिकेट अझै सन्तुलनमा बन्नसक्छ ।

पूर्वकप्तानका रूपमा इटालीसँगको हार सहज कत्तिको गाह्रो हुन्छ ? 

एउटा खेलाडीको रूपमा हरेक हार सहज हुँदैन । म खेल्दा सबैभन्दा विशेष क्षण के थियो भनेर सोध्नुभयो जित हुँदा खुशी र हार हुँदा निराश नै हुन्छ । देशको लागि खेल्नु गर्वको क्षण हो । पहिलेको जनेरेसनको क्रिकेट र अहिलेमा धेरै परिर्वतन भइसकेको छ। अहिले नेपाली क्रिकेट हार्न नै हुँदैन भन्ने भावना पैदा भइरहेको छ। मुम्बईमा पनि टियुको जस्तो वातावरण सिर्जना भएको छ। तर यो माया हो । मैले पनि समर्थकको रूपमा नै हेरिरहेको छु। इटालीसँग १२४ रनको सानो लक्ष्य हुँदा पनि जित्छौं भन्ने विश्वास थियो । इंग्ल्याण्डविरुद्धको त्यो प्रदर्शनपछि लगत्तै यस्तो नतिजा आउँदा सहज थिएन। त्यसले सबलाई निराश बनाएको छ ।

पहिलो र दोस्रो खेल जितेको भए माहोल फरक हुन्थ्यो । यो स्थानसम्म आउनु पनि ठूलो पक्ष हो। हाम्रो संरचनाअनुरूप यहाँसम्म आउनु सुखद् पक्ष हो । प्रदर्शनमा मात्र सन्तुलन हुन सकिरहेको छैन । दुई खेल सकिसकेको छ। त्यसलाई बिर्सनुपर्छ। आगामी दुई खेलबारे सोच्नुपर्छ। ती खेलमा राम्रो गर्नुपर्छ । समर्थकहरू अहिले अब नतिजा चाहिन्छ भन्नेमा पुग्नु भइसकेको छ। पहिलो खेलको प्रदर्शन दोहोर्याउने हो भने अझ राम्रो नतिजा आउँछ। अकंगणितीय रूपमा हाम्रो अझै सम्भावना बाँकी छ। फेब्रुअरी महिना र नेपाली क्रिकेटबारे सुखद् संयोग छ। आशामा अगाडि बढ्नुपर्छ र आशा छ, यो टिमले आगामी खेलमा राम्रो गर्छ। हामी पनि नेपाली क्रिकेटलाई बलियो बनाउन लागेको छौँ ।

इंग्ल्याण्डविरुद्ध प्रदर्शनपछि विश्वका स्टार खेलाडी, ठूला फ्रेन्चाइच टोली र धेरै प्रंशसा गरेको थियो, सबैको आँखा नेपाली क्रिकेटमा देखियो, तर एक्कासी त्यो किसिमको हारले नेपाली क्रिकेटलाई कति असर पुर्याउनेछ ? 

नेपाली क्रिकेट माथि पुगेको छ भन्नु विश्वकप खेल्नु नै हो । यहाँभन्दा माथि जान सक्दैनौँ। हाम्रो इतिहास र संरचना कस्तो छ? त्योअनुसार विश्वकप खेलेका छौँ। विस्तारै विश्व क्रिकेटमा नोटिस हुन थालेका छौँ। विस्तारै खेलप्रति राम्रो संस्कार बस्दै छ । हामी विश्वकप खेल्दै छौँ र एकदिवसीय मान्यता छ । यो पनि राम्रो पक्ष हो । विश्वकपसँगै एकदिवसीय साइकल पनि राम्रो गर्नुछ । एकदिवसीय मान्यता जोगाउन धेरै गृहकार्य गर्न आवश्यक छ। तालीसँगै गाली पनि स्वीकार गर्छौं । खेलाडीले पनि आलोचनालाई सकारात्मक रूपमा लिनुभएको छ । विश्वकप खेल्दा धेरै खुशीयाली मनाउनुपर्ने अवस्था छैन । आशा धेरै छन्। तर तेस्रो खेलमा जित हार एक ठाउँमा छ, प्रदर्शन राम्रो गर्नुपर्छ ।

कप्तान रोहित पौडेलले पछिल्लो विश्वकपमा पनि धेरै प्रशंसा पाएका थियौँ, २०२४ को विश्वकपपछि ठूला टोलीसँग सिरिज आशा गरे पनि अवसर पाएनौँ भन्नुभएको थियो, यस विश्वकपपछि राम्रो टोलीसँग खेल्न पाउने सम्भावना कति छ ?

नेपालको क्रिकेट इतिहास हेर्ने हो भने थोरैले मात्र ठूला फ्रेन्चाइज क्रिकेट खेल्नुभएको छ। सन्दीप लामिछानेले मात्र सबै विश्वको फ्रेन्चाइज लिग खेल्नुभएको छ । उहाँले आइपिएललगायत खेल्नु भएको छ। अन्य केही खेलाडी मात्र फ्रेन्चाइज खेल्नुभएको छ । कुनै पनि फ्रेन्चाइज लिगले नेपालबारे सामाजिक सञ्जालमा गरेको प्रशंसा सम्मान हो। १० वर्षअगाडि यो अवस्था पनि थिएन । हामीले ठूला राष्ट्र र टेस्ट प्लेइङसँग खेल्न राम्रो प्रदर्शन गर्दै जानुपर्छ। उहाँहरूसँग खेल्न सहज छैन । उहाँहरूसँग खेल्न प्रदर्शनमा पनि सन्तुलन राख्नुपर्छ। तर पनि ठूला राष्ट्रसँग श्रृंखला गर्न पहल गरिरहेका छौँ । तर टोलीको प्रदर्शनबाट पनि ती टोलीको आँखामा पर्नुपर्छ । अफ दि फिल्ड र अन दि फिल्ड राम्रो हुनुपर्छ । जब देशले जित्छ या राम्रो गर्दै जान्छ राम्रो श्रृंखला आफै आउँछ । अनि खेलाडीहरू पनि फ्रेन्चाइज लिगको आँखामा पर्नेछन् । यो टोलीमा विश्वास छ र प्रदर्शनमा पनि सन्तुलन आउनेछ ।

Share News