डोल्मा इम्प्याक्ट फन्डको सम्झौता रद्दपछि सर्वोच्चको आदेश, कर छुट दिन रोक

काठमाडौं । सर्वोच्च अदालतले ‘डोल्मा इम्प्याक्ट फन्ड’लाई कर छुट दिने गरी सरकारबाट भएको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले अन्तरिम आदेशमार्फत सो निर्णय रोक लगाएको हो । 

२०८२ असोज ८ गते आन्तरिक राजस्व विभागले डोल्पा इम्प्याक्ट फन्डलाई कर छुट दिने निर्णय गरेको थियो । सरकारको सो निर्णयले राज्यलाई करोडौं नोक्सान हुने जिकिरसहित भेषराज लुईंटेलले सर्वोच्चमा रिट दायर गरेका थिए । 

आयकर ऐन, २०५८ को दफा ७३ को उपदफा (५) बमोजिम पुँजीगत लाभकर छुट दिन नमिली प्रचलित कानुनबमोजिम कर लाग्नेमा सो कर कट्टी गर्न नपर्ने भनी आन्तरिक राजस्व विभागका महानिर्देशकबाट असोज २८ मा भएको निर्णय प्रथम दृष्टिमै आयकर ऐन २०५८ को दफा ७३ को उपदफा ४ र ५, दफा ९५ क समेतका प्रचलित करसम्बन्धी कानुनी व्यवस्था र सन्धि ऐन, २०४७ को दफा ९ को उपदफा (१) को कानुनी व्यवस्थाको प्रत्यक्ष त्रुटि रहेको देखिएको छ, कानुनको प्रत्यक्ष त्रुटि र प्रयोगबाट भएको निर्णयका कारण राज्यलाई प्राप्त हुनुपर्ने राजस्वमा अपूरणीय क्षति हुने देखिएको हुँदा सुविधा सन्तुलनको दृष्टिकोणबाट उल्लिखित निर्णय कार्यान्वयन नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गर्न वाञ्छनीय देखियो,’ सर्वोच्चले दिएको आदेशमा भनिएको छ ।

उसो त सरकारले यसअघि नै मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज गरिसकेको छ । नेपाल सरकारले गणतन्त्र मौरिसस सरकारसँग सन् १९९९ अगस्ट ३ मा द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता मंसिरमै खारेज गर्ने निर्णय गरेको थियो । 

राजस्व विभागले कूटनीतिक माध्यमबाट सो सम्झौताको को धारा २९, उपधारा १ (समाप्ति सम्बन्धी प्रावधान) बमोजिम सम्झौता खारेज गरिएको औपचारिक पत्र पठाएको थियो । 

Share News