१० वर्षभित्र अर्थतन्त्रलाई १०० अर्ब डलर पु‍र्याउने दाबी

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको वर्तमान अर्थतन्त्रलाई आगामी १० वर्षभित्र १०० अर्ब अमेरिकी डलरको बनाउने लक्ष्यका साथ काम भइरहेको जनाएको छ । 

‘मेक इन नेपाल स्वदेशी अभियान’ अन्तर्गत शुक्रबार (आज) आयोजित मिट एण्ड ग्रिट कार्यक्रममा परिसंघले स्वदेशी उत्पादनको प्रवर्द्धन र नीतिगत सुधारमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणको मार्गचित्र प्रस्तुत गरेको हो ।

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको वर्तमान करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई गुणात्मक फड्को मार्दै १०० अर्ब डलर पुर्याउन सकिने दृढ संकल्प व्यक्त गरे ।

यसका लागि उत्पादनमूलक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई मुख्य आधार बनाइएको छ ।

उनका अनुसार नेपाल सरकार र परिसंघको संयुक्त पहलमा सुरु भएको मेक इन नेपाल– स्वदेशी अभियानमा हालसम्म १५० स्वदेशी उद्योगहरू आबद्ध भइसकेका छन् । 

नेपाली उत्पादनहरूको पहिचानका लागि प्रयोगमा ल्याइएको गैंडा अङ्कित लोगोले उपभोक्तामाझ स्वदेशी वस्तुप्रति विश्वास बढाएको उनको ठहर छ ।

परिसंघले सरकारी तथा सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

‘सेना, प्रहरी र सार्वजनिक संस्थाहरूले उपभोग गर्ने वस्तुहरूमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सकिए यसले औद्योगिक उत्पादन बढाउन ठूलो मद्दत पुग्छ,’ अध्यक्ष पाण्डेले भने ।

सरकारले ल्याएको स्वदेशी वस्तु खरिद सम्बन्धी निर्देशिका कार्यान्वयनका लागि परिसंघले आफ्नै खर्चमा वेब पोर्टल बनाएर सरकारलाई हस्तान्तरण गर्ने तयारी समेत गरेको उनले बताए ।

अर्थतन्त्रको विकासमा बाधक रहेका पुराना कानुनहरू संशोधन गर्ने प्रक्रिया सुस्त रहेकोमा उनले असन्तुष्टि व्यक्त गरे । परिसंघले कुन कानुन खारेज गर्ने र कुन संशोधन गर्ने भन्ने विषयमा स्पष्ट बुँदागत सुझाव सरकारलाई बुझाइसकेको जानकारी दिँदै लगानीमैत्री वातावरणका लागि द्रुत गतिमा काम गर्न मुख्य सचिवलगायतका उच्च अधिकारीहरूलाई आग्रह गरेको छ ।

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन परिसंघले संयुक्त राष्ट्र संघ पुँजी विकास कोषसँगको सहकार्यमा एगोरा प्लेटफर्म र स्वदेशी कलेक्टिभ ट्रेडमार्कको पहल अघि बढाएको छ । 

साथै उद्योगहरूमा रहेको सीपयुक्त जनशक्तिको अभाव कम गर्न इन्डस्ट्री काउन्सिल गठन गरिएको र यसले दक्ष जनशक्ति उत्पादनमा काम गर्ने विश्वास लिइएको छ ।

मुख्य सचिवसहित सरकारका उच्च अधिकारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा परिसंघले म्यानुफ्याक्चरिङ, कृषि, जडिबुटी र विश्वव्यापी आर्थिक परिवर्तनका विषयमा क्षेत्रगत प्रस्तुतीकरण समेत गरेको थियो । 

स्वदेशी वस्तुको उपभोगलाई नागरिकको उपभोग शैलीकै रूपमा विकास गरी आत्मनिर्भर नेपाल बनाउने परिसंघको मुख्य उद्देश्य रहेको छ ।

Share News