काठमाडौं । देशका अन्य निर्वाचन क्षेत्रजस्तै मोरङ–२ मा पनि केही उम्मेदवारहरूबीच झिनो मतान्तरले प्रतिस्पर्धा र हारजित हुने अंक गणित देखिएको छ । सो क्षेत्रमा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने अहिलेसम्मको चुनावी माहोल र रणनीतिले देखाएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको बढी मतदाता भएको यो क्षेत्रमा अहिले नयाँ र परिवर्तनको नाराले समीकरण फेरबदल गरिदिएको छ । नेपाली कांग्रेसबाट डा. मीनेन्द्र रिजाल उम्मेदवार बनेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट महामन्त्री पदमा पराजित भएपछि रिजालले मन्त्री पदबाट राजीनामा दिए । रिजाल पार्टीको महामन्त्रीमा पराजित भएपछि केही समय मौन र गुमनाम बने ।
रिजाल केही समय पार्टीमा सक्रिय थिएनन् । उनी अध्ययन र आफ्नै कर्ममा व्यस्त थिए । तर, जब शेरबहादुर देउवाले रिजाललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरे त्यसपछि पार्टीको गतिविधिमा खुले । जिल्ला–जिल्ला दौडमा पुग्ने उनी कोइराला समूहमा बसे । पार्टीका जिल्ला, क्षेत्रीय तथा गुटगत भेलामा सक्रिय रुपमा डा. शेखर कोइराला समूहमा देखा पर्न थाले ।
पछिल्लो समय रिजाल कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने पक्षमा थिए । १५ औं महाधिवेशन समयमा नहुने देखिएपछि विशेष महाधिवेशनको माग बढ्यो । उनी पनि खुलेरै विशेष महाधिवेशन पक्षधरको विरोधमा थिए ।
निर्वाचन आयोगले विशेष पक्षधरलाई मान्यता दिएपछि उनी आयोग परिसरमा अन्य नेतासँगै विरोध गर्न पुगेका थिए । विशेष पक्षधरले मान्यता पाएपछि सभापति गगनकुमार थापाले हस्ताक्षर गरेको टिकट लिएर उनी जिल्ला पुगे । गत निर्वाचनमा भने उनलाई शेरबहादुर देउवाले टिकट दिएनन् । उनको बदलामा सुजाता कोइरालाले टिकट पाएकी थिइन् ।
शेरबहादुरको विरोधमा उत्रेका कारण पनि उनले गत निर्वाचनमा टिकट पाएका थिएनन् । उनी तत्कालीन अवस्थामा देउवा विरोधी खेमा उभिएका थिए । रिजाल देउवा क्याम्प छाडेर कोइराला समूहमा प्रवेश गरेपछि देउवाको चर्को आलोचक थिए । उनले १४ औं महाधिवेशनमा अब निकास दिन नसक्ने भएपछि शेरबहादुर देउवाको काम नभएको भनेर अन्तर्वार्तामा समेत बोलेका थिए ।
देउवाले टिकट दिएका सुजताले मोरङ २ मा ३१ हजार ९४० मत प्राप्त गरेकी थिइन । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बन्दा समेत हार बेहोरेकी थिइन । उनी पार्टीमा लामो समयसम्म सभापति रहेका स्व. गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् ।
यो पटक उनै कोइरालाले हार बेहोरेकी क्षेत्रमा रिजाल छन् । उनी पार्टीभित्र विद्वान र सक्षम नेताको रूपमा चिनिन्छन् । त्यसैले पनि विशेष महाधिवेशन पक्षधरले उनलाई टिकट प्रदान गरेको हो ।
२०७४ को निर्वाचनमा रिजालले ३५ हजार ८१९ मत प्राप्त गरी विजयी भएका थिए । नेकपा एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका थिए ।
यो पटकको निर्वाचनमा उनले व्यक्तिगत रुपमा एजेण्डा बोकेका छैनन् । पार्टीले पनि एजेण्डा सार्वजनिक नगरिसकेको अवस्थामा यतिखेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । पार्टीमा उनलाई बौद्धिक तथा अध्ययनशील नेताको रूपमा मानिन्छ । उनी सञ्चार तथा सूचना प्रविधिमन्त्री र रक्षामन्त्रीसमेत भइसकेका छन् ।
फरक दलका कार्यकर्ताले पनि रिजालको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन् । मोरङको २ नम्बर क्षेत्र मध्य पुर्वी भागमा रहेको छ । तर यो पटक उनलाई पुराना दलका उम्मेदवारको भन्दा नयाँ दलको उम्मेदवारबाट त्रास छ ।
गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले ४९८७ मत प्राप्त गरेका थिए । देशभरै परिवर्तनको आवाज उठिरहँदा यो पटक भने रिजाललाई नयाँको चुनौती थपिएको छ ।
दुई पटक मेयर, अब सांसद बन्ने रहर
नेकपा एमालेले भने स्थानीयबासी तथा रंगेली नगरपालिकाका निवर्तमान मेयर दिलिपकुमार अग्रवाललाई उम्मेदवार बनाएको छ । अग्रवाल मेयरमा दुई पटक निर्वाचित भइसकेका उम्मेदवार हुन् ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित अग्रवाल २०७९ मा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । उनी स्थानीय तह निर्वाचनअघि एमाले प्रवेश गरेका थिए । अग्रवालले कांग्रेस उम्मेदवार मोदराज घिमिरेलाई पराजित गरेका थिए । अग्रवाल १२ हजार ८६१ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका थिए ।
दुई–दुई पटक मेयर भएकाले पनि २ नम्बर क्षेत्रमा अग्रवालको प्रभाव रहेको मानिएकाले एमालेले उनलाई टिकट दियो । २ नम्बर क्षेत्रबाट गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल विजयी भएका थिए । उनले ३३ हजार १४८ मत प्राप्त गरी सुजाता कोइरालालाई हराएका थिए ।
एमालेका उम्मेदवार अग्रवाल मतदाताको घरदैलोमा मेयर भएर काम गरेको अनुभव सुनाउँदै र नियम कानुन बनाउन जाने भन्दै मत मागिरहेका छन् । संविधान संशोधन र स्थानीयस्तरको विकासका एजेण्डालाई बोकेको अग्रवालले बताए ।
यहाँका समस्याहरू संघीय संसद र प्रदेश सरकारलाई जानकारी गराउने एजेण्डा बोकेको अग्रवालले बताए । मेयर भएर यस क्षेत्रमा काम गरिसकेकाले मतदाताले काम गर्न सक्ने भएकाले आफूलाई विजयी गराउने उनको दाबी छ ।
‘२ नम्बर क्षेत्रका लागि विकास गर्न पर्याप्त बजेट लगाउनलाई सरकारसँग पहल गर्नेछु,’ उनले भने,’ मेयर हुनुभन्दा सांसद बन्न धेरै गाह्रो छ । मेयर रहँदा काम गरिएको थियो तर संसद बनेपछि संविधान र जनताको विषयमा मात्र बोल्न पाइन्छ ।’
साना–ठूला सबै दलका उम्मेदवारलाई कमजोर सम्झन नहुने अग्रवालको भनाइ छ । ‘मेयर हुँदा कार्यकारी भएर बस्यो अब भने ऐन बनाउने लाग्नेछु,’ उनले भने ।
परिवर्तनको नारा बन्दै चुनौती
यो पटक मुलुकभर ठूला दलका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनौती बनिरहेको छ । किनभने मतदाताले परिवर्तन खोजेको आवाज बुलन्द बनाइरहँदा त्यसको माध्यम रास्वपालाई ठानिएको छ ।
गत प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले ४ हजार ९८७ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा भने रास्वपाले थप मत बढाउने विश्वास गरिएको छ ।
रास्वपाले २ नम्बर क्षेत्रमा कृष्ण कुमार कार्कीलाई उठाएको छ । उनी स्थानीय भएकाले पनि स्थानीय समस्या बुझेको उनको दाबी छ । पार्टीको एजेण्डा बोकेर मतदाताको घरमा पुगिरहेको कार्कीले बताए ।
यद्यपि पार्टीले एजेण्डा अगाडि नसारे पनि कार्की भने पार्टीले अगाडि सारेको सुशासन, भ्रष्टाचारको न्यूनीकरणसहित देश तथा समाज निर्माण पहल गर्ने बताए । सबैभन्दा बढी स्थानीय क्षेत्रको समस्यालाई बोकेर संघीय संसद र सरकारमा जाने उनको भनाइ छ ।
शिक्षा र स्वास्थ्यलाई सबै नागरिकको पहुँचमा सहजै पुर्याउने एजेण्डा लिएको कार्कीले सुनाए ।
उम्मेदवार को-को छन् ?
यस निर्वाचन क्षेत्रमा मुख्यगरी कांग्रेस, एमाले र रास्वपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा राष्ट्रिय ऊर्जाशील पार्टीबाट मनोज राजवंशी उम्मेदवार बनेका छन् भने मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट माधवप्रसाद राजवंशी उम्मेदवार छन् ।
यस्तै, जनता समाजवादी पार्टी, नेपालबाट विनोदकुमार सिंह गनगाईं, राष्ट्रिय परिवर्तन पार्टीबाट धनबहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मेघेन्द्रकुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कन्सराज राजवंशी, श्रम संस्कृति पार्टीबाट अबुहो रैरह उम्मेदवार छन् । नरेशकुमार साह, अनिलकुमार साह र बुधु रिषिदेव स्वतन्त्र उम्मेदवार छन् ।
निर्वाचन आयोगका अनुसार मोरङ-२ मा १ लाख २९ हजार १८४ मतदाता रहेका छन् । महिला मतदाता ६१ हजार ५९०, पुरुष ६७ हजार ५९३ र अन्य १ जना छन् । मतदान स्थल ६८ र मतदान केन्द्र १५४ वटा रहेको छ ।
कानेपोखरी गाउँपालिकाका १, २, ३, पथरीशनिश्चरे नगरपालिकाका ५ र ६, रंगेली नगरपालिकाका १, २, ३, ८ र ९ वडा, रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकाका १० वटै र सुनवर्षी नगरपालिकाका ९ वटै वडा यस क्षेत्रमा पर्छन् ।