वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

दार्चुला (खलङ्गा) । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । 

गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गोपाल नाथ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिए । 

उनले पक्राउ परेका साउद ट्याक्टर चालक र नाथ निजका सहयोगी रहेको बताए ।

मृतक जोशीका छिमेकीसमेत रहेका ट्याक्टर चालक साउदकै योजनामा जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

अभियुक्तका साथबाट  लुटपाट गरिएका करिब दुई तोला बराबरका गरगहना बरामद गरिएका प्रहरी नायब उपरीक्षक महतले बताए ।

अभियुक्तमध्ये साउद चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगेका थिए । उनीहरू लागुऔषध दुर्व्यसनीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । 

बयानका क्रममा दुवै जनाले अभियोग स्वीकारेका र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Share News