काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आगमन गर्दा शुक्रबार उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जाम भएको छ । उनी शुक्रबार बिहान मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन् ।
पूर्वराजाको आगमनका क्रममा एयरपोर्टबाट गौशालातर्फ र्याली सञ्चालन भइरहेको कारण सिनामंगल हुँदै गौशालातर्फ जाने सवारी साधनलाई सिनामंगलबाटै डाइभर्सन गरिएको छ ।
यस्तै, चाबहिलबाट गौशाला तथा एयरपोर्ट गोल्डेनगेटतर्फ जाने सवारी साधनलाई चाबहिलबाट सुकेधारातर्फ मोडिएको छ ।
त्यसैगरी, पुरानो बानेश्वरबाट गौशालातर्फ जाने सवारी साधनलाई पुरानोबानेश्वरबाटै डाइभर्सन गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मालबहाक सवारी साधनहरूलाई महाराजगंजबाट बसुन्धारातर्फ तथा कोटेश्वर चोकबाट बालकुमारीतर्फ पठाइएको छ ।
हाल चाबहिल, गोपिकृष्ण पुल, सुकेधारा, पुरानोबानेश्वर, भत्केको पुल, सिनामंगल, रातोपुल र तीनकुने चोक आसपासका क्षेत्रमा सवारी साधनको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले चाबहिल, गौशाला र सिनामंगल हुँदै आवतजावत गर्ने सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।