काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको समयमै सूचना संकलन गरेर सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा शुक्रबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् ।
प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिएर निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई अन्य सुरक्षा निकाय एवम् सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आ(आफ्नो क्षेत्रमा त्रुटिरहित तवरमा कार्यसम्पदान गर्न निर्देशन दिए ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राखि भरपर्दो सुरक्षा संयन्त्र परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।
निर्वाचनको समयमा प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता,निर्वाचन व्यवस्थापनमा निर्वाह गर्नुपर्ने भूमिका एवम् दायित्वमा आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई आ(आफ्नो जिम्मेवारी वहन गर्न उनले निर्देशन दिए ।
निर्वाचन प्रहरीको गुनासो सम्बोधन गर्दै उनीहरूप्रति गरिने आचरण, व्यवहार प्रति थप संवेदनशील भई निर्वाचन प्रहरीको प्रभावकारी परिचालनमा समेत विशेष ध्यान दिनुपर्ने कार्कीले बताए ।
निर्वाचनको समयमा थप मद्दतको रूपमा खटी आउने प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन तथा परिणाममुखी परिचालनमा केन्द्रित हुन पनि उनले आग्रह गरे ।
त्यस्तै, प्रहरी महानिरीक्षक कार्कीले जुनसुकै निर्वाचन क्षेत्रमा हुनसक्ने अनपेक्षित घटनाहरूको सम्बोधनको लागि सूचना संकलन तथा विश्लेषण एवम् पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहन निर्देशन दिएका छन् ।
सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ र हातहतियार बरामदमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए ।