काठमाडौं । काठमाडौं प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने जानकारी गराउँदै यस्ता गतिविधि भए कारबाही गर्ने स्पष्ट पारेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले फागुन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा केही प्रदर्शन, भेला र र्यालीजस्ता गतिविधि गर्ने भनी केही समूह तथा राजनीतिक दलबाट जारी भएका विज्ञप्ति एवं सूचना र सामाजिक सञ्जालका विषयवस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताए ।
यस प्रकारका प्रदर्शन, र्याली, भेलाजस्ता गतिविधि गर्नका लागि स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अनुमति लिनुर्पेमा कोही कसैले यस कार्यालयमा जानकारी गराउने वा पूर्व स्वीकृति लिने कार्य नगरेको पनि उनको भनाइ छ ।
उनले एक सार्वजनिक सूचना जारी गरी निर्वाचन आचारसंहिता लागू भइसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको तथा यस प्रकारका कार्यक्रममा निर्वाचन विरोधी भनिएका समूह समेतको घुसपैठ हुनसक्ने सम्भावना रहेको पनि बताए ।
काठमाडौं प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आसन्न निर्वाचनको सन्दर्भ, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक एवं सांस्कृतिक आस्थाको सम्मान गर्दै उक्त पर्वलाई भव्य रूपमा सम्पन्न गर्न, अन्तर्राष्ट्रिय विमानस्थलजस्तो अत्यन्त संवेदनशील स्थान र आसपासका क्षेत्र समेतको सुरक्षालाई मध्यनजर गर्दै, विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमनलाई सुनिश्चित गर्न, विमानस्थल आसपासका क्षेत्र एवं सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन तथा आम सर्वसाधारणको निर्वाध आवतजावत गर्न पाउने हक सङ्कुचन हुने गरी कुनै प्रकारको जुलुस, प्रदर्शन, हड्ताल, र्याली, भेला हुने जस्ता कार्य नगर्न/नगराउन, सामाजिक सञ्जालका माध्यमबाट यस प्रकारका कार्यहरूलाई प्रेरित गर्ने वा उक्साउने जस्ता गतिविधि नगर्न/नगराउन जानकारी गराइएको छ ।’
निषेधित र संवेदनशील क्षेत्रमा यस प्रकारका कानुन विपरीतका कार्यहरूमा संलग्न हुने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले जानकारी गराएको छ ।