५ कम्पनीको नोक्सानीले निर्जीवन बीमा क्षेत्र घाटामा, प्रभुको मात्रै बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरूको समग्र वित्तीय अवस्था कमजोर देखिएको छ । चालु आवको छ महिनामा निर्जीवन बीमा कम्पनीहरूले कुल ४१ लाख १५ हजार रुपैयाँ नोक्सानी बेहोरेका छन् । विभिन्न पाँच कम्पनी नोक्सानीमा गएपछि समग्र खुद नाफा ऋणात्मक हुन पुगेको हो । जबकि गत वर्षको यही अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब २५ करोड ८४ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ६ वटा कम्पनीको खुद नाफा घटेको छ भने एक कम्पनीको मात्र नाफा वृद्धि भएको देखिन्छ । प्रभु इन्स्योरेन्सको खुद नाफा २ प्रतिशतले बढेर १२ करोड २४ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तमा कम्पनीले १२ करोड ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा नेपाल इन्स्योरेन्सको खुद नाफा ९४.२३ प्रतिशतले घटेर ४९ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । नेको इन्स्योरेन्सको नाफा ९३.०९ प्रतिशत घटेर १ करोड ७ लाख ७५ हजार रुपैयाँ छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ९०.१४ प्रतिशतले घट्दै १ करोड ५७ लाख ५५ हजार रुपैयाँमा झरेको छ । त्यसैगरी, एनएलजी इन्स्योरेन्सको नाफा ८५.१७ प्रतिशत घटेर १ करोड १० लाख ४४ हजार रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ४३.२९ प्रतिशत घटेर ३ करोड ७३ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

चालु आवको ६ महिनामा राष्ट्रिय बीमा कम्पनीले १७ करोड ७२ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि कम्पनीको नाफा गत वर्षको तुलनामा ४८.८६ प्रतिशतले घटेको छ । यस वर्ष राष्ट्रिय बीमा कम्पनी निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने कम्पनी बनेको छ ।

गत वर्ष नोक्सानी बेहोरेका दुई बीमा कम्पनी भने चालु आवको पुस मसान्तमा नाफामा फर्किएका छन् । दि ओरिएन्टल इन्स्योरेन्सले १६ करोड २२ लाख ३४ हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सले ६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकि गत वर्षको पुस मसान्तमा ओरिएन्टल इन्स्योरेन्सले १९ करोड ७५ लाख ४१ हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सले ३६ करोड ९८ लाख ६८ हजार रुपैयाँ नोक्सानी बेहोरेका थिए ।

यस अवधिमा शिखर इन्स्योरेन्सले ४ करोड ४७ लाख ३१ हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ९ करोड ५९ लाख ५ हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १० करोड ६६ लाख २८ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १७ करोड ८५ लाख ५२ हजार रुपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १८ करोड ११ लाख ३२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेका छन् ।

लघुबीमाको नाफा बढ्यो 

समीक्षा अवधिमा लघुबीमा कम्पनीको नाफा भने बढेको देखिन्छ । चालु आवको ६ महिनाका लघुबीमा कम्पनीको नाफा ४३९.११ प्रतिशत बढेर २ करोड १९ लाख ३१ हजार रुपैयाँ आर्जन गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा ४० करोड ६८ लाख रुपैयाँ नाफा गरेका थिए । 

समीक्षा अवधिमा विभिन्न ३ लघुबीमा कम्पनीको नाफा बढेको छ भने एक कम्पनीको नाफा घटेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको ५४७४.४९ प्रतिशत बढेर १ करोड ३५ लाख ४६ हजार रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्यारेन्सको ७४८.२२ प्रतिशत बढेर ६२ लाख २६ हजार रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सको १.६९ प्रतिशत बढेर १९ लाख १८ हजार रुपैयाँ नाफा गरेका छन् । 

तर, ट्रस्ट माइक्रो इन्स्योरेन्सको नाफा भने ८० प्रतिशत घटेर २ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । जबकि गत वर्षको पुसमा कम्पनीले १२ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

null

Share News